Wednesday, February 18, 2015

सरकारी सीईओ -- राधेश पन्त


वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा खाइपाई आएको वाषिर्क करोडमाथिको तलब छाडेर राधेश पन्त, ५०, त्यसको १० प्रतिशत मात्र हुन आउने सरकारी जागिरमा छन्। संविधानसभा भवनको छेउ लगानी बोर्ड नेपालको पहिलो सीईओ उनलाई चानेचुने स्ट्याटस लाग्दैन। आखिर देशको तस्बिर  बदल्नका लागि पुँजी जुटाउने संस्था भनेकै लगानी बोर्ड हो।

तीन वर्षयता हरेक दिन केही न केही सिकिरहेको जस्तो लाग्छ उनलाई। अनन्त अवसर देखेका छन् उनले। भन्छन्, "निजी क्षेत्रको एउटा बैंकमा काम गर्दा त्यही कम्पनीको मात्र हित हेरिन्थ्यो । तर, सरकारी निकायमा मुलुककै सम्भावना हेरिन्छ  ।"

कुमारी बैंकको सीईओ हुँदा ऐनमा परिकल्पना गरिएको उच्चस्तरीय, स्वायत्त र शक्तिशाली लगानी बोर्डमा उनले आवेदन नगरीरहन सकेनन्। प्रधानमन्त्रीले तोकेको मन्त्री उपाध्यक्ष, अर्थ, उद्योग तथा वनमन्त्री, योजना आयोगका उपाध्यक्ष, गभर्नर र मुख्यसचिवसहितको सञ्चालक बोर्डमा सदस्य-सचिव सीईओ। तलबलाई  उनले खासै महत्त्व दिएनन्। उनलाई लाग्यो- नेपालमा केही गर्ने ठाउँ छ भने यही हो।

नभन्दै राधेशको शालीन व्यक्तित्वलाई बाबुराम भट्टराई नेतृत्वको एमाओवादी सरकारले स्वीकृत गर्‍यो। चुनावी सरकारपछि कांग्रेस-एमाले गठबन्धनमा पनि निरन्तरता पाइरहेका छन्। उनको नेतृत्वमा माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रोजेक्ट डेभलपमेन्ट एगि्रमेन्ट (पीडीए) हुनु शुभसंकेत हो। भन्छन्,  "अहिलेसम्म नदी हाम्रो हो भनेर राख्यौँ। अब एक्सनको अवस्थामा छौँ।"

बोर्डले ६० वटा परियोजना छनोट गरसिकेको छ। एउटा परियोजना मात्र सफल भयो र २० देखि २५ हजार जनाको रोजगारी सिर्जना भयो भने आर्थिक क्रान्ति उनलाई त्यति टाढा लाग्दैन। भन्छन्, "सबै जना बिनाकाम पैसा कमाउन चाहिरहेका छन्। कठिन परिश्रम नगरी संसारमा कहीँ पनि कमाउन सकिँदैन।"

देशको विकासका सामु कोठे राजनीति टिक्न नसक्नेमा राधेश विश्वस्त छन् किनभने नागरकि स्मार्ट भइसकेका छन्, हरेकको हातमा मोबाइल छ। भन्छन्, "एउटा मात्रै  परियोजना सफल भयो भने जनताले नेतालाई तह लगाउँछन्।" लगानीकर्तालाई विश्वासमा लिइएको अवस्थामा १० देखि १५ वर्षमा नेपाल मध्यमवर्गीय  मुलुकको स्तरमा पुग्ने उनको अनुमान छ।

राउटेजस्तो घुमन्ते शैलीमा स्कुले शिक्षा लिए राधेशले। काठमाडौँ, ताहाचलको शिशु विद्यालय (कान्ति ईश्वरी) मा अक्षरारम्भ भयो। कक्षा २ र ३ सेन्ट जेभियर्स अनि ४ बूढानीलकण्ठमा। ९ कक्षासम्म टोकियोमा पढे। त्यतिबेला उनका पिता यादवप्रसाद पन्त जापानका राजदूत रहेछन्।

स्कुल फेर्नुको फाइदा के भने उनका साथी धेरै छन्। कसैले बूढानीलकण्ठको भन्छन् त कसैले सेन्ट जेभियर्सको। बेफाइदा के भने धेरै साथी बने तर घनिष्ट कोही भएनन्। भन्छन्, "आखिर जीवन त आफैँ चलाउने हो।" एसएलसीपछि उनले त्रिचन्द्र कलेज पढेका हुन्। तर, कक्षा नभएपछि दिल्ली हानिए। मुम्बईको इन्डियन  इन्स्चिच्युट अफ टेक्नोलोजी (आईआईटी)बाट एरोनोटिकल इन्जिनियरङिमा स्नातक गरेपछि उनको जागिरे जीवन सुरु भयो, तत्कालीन शाही नेपाल वायुसेवा निगममा अपरेसन इन्जिनियर/एनलिस्टका रूपमा।

आईआईटीका धेरै साथी अमेरिका पुगेछन्। दुई वर्षपछि उनी पनि एमबीएका लागि सन् १९८९ मा लस एन्जलसको युनिभर्सिटी अफ क्यालिफोर्निया गए। तीन वर्षपछि त्यहीँको बहुराष्ट्रिय बायो टेक्नोलोजिकल कम्पनी एमजेनमा काम पाए। एमजेन अहिले विश्वकै सबभन्दा ठूलो बायोटेक्निकल कम्पनी भएको छ।

राधेशलाई लाग्छ, साथमा धेरै विकल्प हुनु पनि जीवनका लागि त्यति राम्रो होइन। अमेरिका बस्दा नेपालको न्यास्रो लाग्ने, नेपालमा आउँदा अमेरिका राम्रो लाग्ने। पत्नी अनुसँग उनले के निधो गरे भने कम्तीमा ६ महिनाका लागि नेपाल जाने। राम्रो भए पाँच वर्षसम्म बस्ने।

नेपाल र्फकंदा उनलाई सबैले 'डाक्टर साब' भन्न थालेछन्। कतिलाई होइन, होइन भन्ने? उनले होइन भन्नै छाडिदिए। उनलाई लाग्छ, पिताजी नेपालकै पहिलो पीएचडी भएकाले जनमानसमा त्यस्तो भ्रम पर्‍यो। उनका दाजु गिरीश र भुवनेश पनि अर्थशास्त्रका पीएचडी हुन्। काठमाडौँ विश्वविद्यालय (केयू)का विजय  केसीले अमेरकिी एमबीए भनेपछि राधेशलाई डाके भिजिटिङ फ्याकल्टीका रूपमा। केयूले पढाउने रहर पनि पूरा गरिदियो ।

सन् १९९८ मा निजी क्षेत्रको नेकोन एयरमा अध्यक्ष तथा प्रबन्ध निर्देशकको सल्लाहकारको जिम्मेवारी सम्हाले उनले। ६ महिने अनुभवमै पूर्णरूपेेण नेपालमै बस्ने भयो, राधेश दम्पती। यहाँनेर स्मरणीय के छ भने अमेरकिा नजाँदै काठमाडौँकी अनु पाण्डेसँग प्रेम विवाह गरेका हुन् उनले। खासमा राधेशलाई अनुकी साथीले  मन पराएकी रहिछन्। एक दिन डिनरमा साथीसँग आउँदा अनुलाई नै मन पराए उनले। अहिले त विवाह भएकै २५ वर्ष भइसक्यो। चाहेरै पनि सन्तान जन्माएको छैन, राधेश दम्पतीले। भन्छन्, "परिवारभन्दा माथि उठेर केही गर्न सकियोस् भनेर बच्चातिर लागेनौँ।"

विशेषज्ञताका हिसाबले बाल मनोविज्ञ अनु समाजसेवामा क्रियाशील छन्। स्माइल नेपाल नामक संस्था खोलेर आफ्नै पैसामा सडक बालबालिकाका लागि काम गररिहेकी छन्। ३०/३५ सडक बालबालिकालाई दिनहुँ खाना खुवाउँछिन्। कुकुरमा सोख छ दम्पतीको। बाँसबारीस्थित घरमा कुकुरको सिंगै परिवार छ देवे, दे विनी, चंखे र हिरो-ब्ल्याक। कुकुरबाट प्रेम र करुणा मात्र नभएर अरू धेरै थोक सिकिरहेजस्तो लाग्छ राधेशलाई।

अंग्रेजीमा नेपाली मिसाएर बोल्ने राधेशको व्यक्तित्व चुम्बकीय छ। नीलो जिन्स र टिसर्ट रुचिकर पहिरन भए पनि उनी रोजाना सुटमै हुन्छन्। उनको निवासमा सुटको संग्रहालय नै छ। चार-पाँच वर्षअगाडिको गणनामै ५०/६० जोर सुट पुगिसकेका छन्। नयाँ हुन्जेल लगाउँछन्, पुरानो भएपछि थन्काइदिन्छन्। कहिलेकाहीँ  सम्झेर लगाई पनि हाल्छन्।

जापानी खानाका पारखी राधेश शनिबार घाममा तेल लगाएर बस्न मन पराउँछन्। ब्ल्याक लेबल उनको प्रिय  पेय हो। पार्टीमा भन्दा घरमै पिउँछन्। टेलिभिजनमा समाचार र अन्तर्वार्ता कहिल्यै हेर्दैनन्। आईप्याडकै समाचारले पुग्छ।

१५ वर्षअगाडि राधेशको बैंकिङ-करिअर सुरु भयो। बुबाले दुवै दाजु राष्ट्र बैंक र परामर्शदाताका रूपमा व्यस्त भएकाले बैंक अफ काठमाण्डू (बीओके)मा निर्देशकका रूपमा काम गर्ने हो त भनेर सोधेपछि उनले राजीखुसी स्वीकारे। त्यही बेला सीईओले राजीनामा दिएपछि उनलाई प्रबन्ध निर्देशक बनाइयो। बैंकर्स एसो सिएसनका उपाध्यक्ष चुनिए। संयोगले अध्यक्षको सीईओ पद खुस्किएपछि उनै कार्यवाहक भए। ३८ वर्ष हाराहारीमा मुलुककै कान्छो सीईओ बनेका उनी आफूलाई 'सकारात्मक सोच भएको भाग्यमानी' भन्न रुचाउँछन्।

अर्को कार्यकाल बैंकर एसोसिएसनमा अध्यक्षको पदावधि सकिएसँगै उनले बीओके छाड्नुपर्‍यो। लगत्तै कुमारी बैंकको कमान सम्हाले उनले। कुमारीमा छँदा सबैभन्दा धेरै तलब बुझ्ने सीईओ उनै थिए। भन्छन्, "बीओकेमा झन्डै सात वर्ष छँदा सायद सबैभन्दा कम तलब बुझ्ने सीईओ हुँ। २ लाख ५० हजारबाट सुरु गरेर  छाड्ने बेलामा ६ लाखजति पुग्यो। कुमारीमा भने १२ लाख तलब थियो र अन्य सुविधा जोड्दा २० लाखजति पुग्थ्यो।"

यति धेरै पैसा राधेशले घुमेरै सकेछन्। उनको सोख भनेकै यात्रा हो। बेलाबेलामा मुलुकबाहिर निस्किन पाइएन भने उनलाई उकुसमुकुस हुन्छ। बाली टापु, इस्तानबुल, रोम, बैंकक दोहोर्‍याएर गएका छन्। भन्छन्, "तलबले गहना पनि किनिएन। हातमा पनि बसेन।"

सानोमा उनको रहर थियो, पाइलट बन्नेे। एयरहोस्टेस र पाइलटको टोपी भनेपछि हुरुक्कै हुन्थे। आईआईटीको पृष्ठभूमिकै कारण उनलाई अंकको चमत्कारमा कसैले फसाउन सक्दैन। आईआईटीमा म्युजिकल ब्यान्ड नै थियो उनको। अहिले पनि हार्ड रक र रक एन्ड रोल गाउँछन्। अझै एल्बम निकाल्ने रहर छ। भन्छन्,  "मैले जीवनलाई कहिल्यै गम्भीर रूपमा लिइनँ। लामो समय एउटै काममा बस्न सक्दिनँ।"

राधेशका आइडल आफ्नै पिता हुन्। उनी नजन्मिँदै पिता सरकारको सचिव रहेछन्। अरूलाई खुसी पार्ने पिताको स्वभाव सम्झन्छन्- बिहान घरबाट निस्कँदा खाएरै निस्कने। साँझ सुक्खा रोटी खान घरमै आइपुग्ने। योजना आयोगको उपाध्यक्ष, गभर्नर, मन्त्रीका जिम्मेवारीसमेत पूरा गरेका पिताको अनुहारमा अमेरिकामै  आफ्नो 'सिनियर फाइनान्सियल एनलिस्ट'को नेमप्लेट देखेर झल्केको खुसी उनले बिर्सेका छैनन्। अमेरकिा छाडेकामा राधेशलाई कतै पश्चात्ताप छैन। भन्छन्, "जीवनमा सकारात्मक सोच र धैर्य भइदियो भने खुट्टा तान्नेहरू आफैँ थाक्छन् ।"

No comments:

Post a Comment