Sunday, April 8, 2018

टर्न सक्थ्यो यूएस–बंगला दुघर्टना



काठमाडौँ एयरपोर्टमा २८ फागुनमा भएको यूएस–बंगलाको विमान दुघर्टनासँगै तत्काल उठेको प्रश्न हो, गल्ती पाइलटको थियो वा एयर ट्राफिक कन्ट्रोलर (एटीसी)को ? ४९ जनाको ज्यान जाने गरी भएको बंगलादेशी निजी कम्पनीको जहाजले अन्तिम अवस्थासम्म ‘आपत्काल’ घोषणा नगरेकाले पनि चासो र जिज्ञासा त्यही एउटा प्रश्नमा केन्द्रित भयो । यात्रा अवधिभर अन्य कुनै समस्या अनुभव नगरेको घाइते यात्रुहरूले समेत बताइरहेका थिए सार्वजनिक भएको ‘अडियो रेकर्ड’ले समेत उही आशंकामा बल दियो ।

एटीसी र ककपिटबीच भएको संवादमा एयर ट्राफिकले पाइलटलाई धावनमार्गको उत्तरतिर अर्थात् ‘२०’ तर्फबाट अवतरण नगर्न र आकाशमै होल्ड गरिराख्न भनिएको थियो । जबकि, उक्त जहाजलाई ‘०२’ भनिने धावनमार्गको दक्षिणी कुनाबाट अवतरण गर्न ‘क्लियर’ गरिएको थियो । यति हुँदाहुँदै पनि जब जहाज तय नभएको बाटो पक्डिदै उत्तरतिर लाग्यो, एटीसी कक्षमा तनाव सुरु भइसकेको थियो ।

Thursday, March 8, 2018

सिरिया रोइरहेछ



६ फागुन यता पुन: एकपटक सिरियाले विश्वको ध्यान खिचेको छ । राजधानी दमास्कस छेवैको पूर्वी गुट शहरमा रसिया समर्थित सिरियाली सैन्यबलले गरेको हमलामा १० दिन बिचमा ६ सय बढि मानिसहरु मारिए । ४ लाख जनसङ्ख्या भएको उक्त क्षेत्र उसै पनि विद्रोही आधार क्षेत्र भन्दै शुरुदेखि नै आन्तरिक नाकाबन्दीमा थियो । भोकमरीका कारण बालबालिकाहरु कुपोषणको समस्या झेलिराखेका थिए । त्यहाँ टर्की, रसिया र इरानबिच त्यस क्षेत्रमा हवाई उडान नगर्ने सहमति समेत थियो । तर राजधानीलाई पर्नसक्ने संकटको मूल्यमा सरकारपक्ष जोखिम मोल्न चाहेन । त्यहाँ रसायनिक हतियारको समेत प्रयोग भएको आशंका गरिएको छ जसलाई भने सरकारी र रसिया पक्षले अस्विकार गर्दै आएका छन् ।

यसै पनि सिरिया भद्रगोल छ । युद्धरत पक्षहरु ७ बर्षपछि थुप्रैतिरबाट झन् बढि विभाजित छन् र सबैतिर विदेशी हस्तक्षेप छ । ती विदेशी शक्तिहरु कसलाई कहाँसम्म पुर्‍याउने हो भन्नेमा स्पष्ट छैनन् । न त उनीहरु आफू एउटा कुनै मिलनविन्दु खोज्ने प्रयासमा छन् । अमेरिकाको निशाना कमसेकम देखिनेगरी यसअघिसम्म आइएस भनिने ईस्लामिक स्टेट्ससँग थियो जुन पछिल्लो समय सिधै राष्ट्रपति बसर अल असादप्रति लक्षित छ । साउदी अरब, रसिया इरानका आफ्नै भूमिका, स्वार्थहरु झन्झन् जेलिइराखेका छन् । ३ लाखदेखि ५ लाखबीचमा भिन्नभिन्न दावीबीच मृत्युकै स्पष्ट आँकडा नै राख्न छाडिएको छ ।

Saturday, January 20, 2018

इनोभेसन २.०

नानोटेक्नोलोजी रिसर्चका लागि विश्वभर चिनिएका एक वैज्ञानिक आउँदा बर्षहरुमा विश्वमा के–कस्तो प्रविधि हावी हुने देख्छन् । 

विश्वका विभिन्न कुना चहारिरहंदा प्राध्यापक श्रीराम रामाकृष्ण एउटा प्रश्न बारम्बार सामना गरिराखेका हुन्छन्, “विश्वमा अब कस्तो प्रविधि हावी हुनेछ ?” ‘मटेरियल साइन्स’मा विश्वभर सबैभन्दा बढि उद्धृत गरिनेमध्येका एक नेसनल युनिभर्सिटी अफ सिंगापुरको नानोफाइबर तथा नानोटेक्नोलोजी केन्द्रका निर्देशक उनी धेरैजसो ठट्टामै भनिदिन्छन्, “धेरै अघिको भन्न नसकेता पनि कम्तिमा ५० बर्षपछिको कुरा भने म आरामले भन्न सक्छु । किनकि त्यसबेला सायद म मरिसकेको हुनेछु ।”

उनको ठट्टै सही, धेरैले रामाकृष्णलाई हल्का रुपमा लिंदैनन् । उनले अध्ययन गरिराखेको क्षेत्र नानो टेक्नोलोजीबारेका कुरा धेरै बर्ष ठट्टाकै रुपमा थियो । अहिले चिकित्सा क्षेत्रलाई मात्रै हेर्ने हो भने पनि नगन्य रगतको नमूनाबाट सबथोक थाहा हुन्छ, त्यसमै उपचार हुन्छ । एउटा सामान्य कागजको मोटाइभन्दा हजार गुणा सानो इकाईका कुरा पनि मानिसको जीवनमरणसँगै जोडिनेजस्तो महत्वपूर्ण अर्थ राख्दो रहेछ भन्ने कुरा कल्पना सम्म गरिएको थिएन । अहिले नानो टेक्नोलोजी केमा मात्र छैन् ! चाहे महंगा कस्मेटिक हुन् वा आरामदायी मानिने आँखाका लेन्स, पानी शुद्धिकरण प्रविधिदेखि सुरक्षाका उपकरणसम्म, खाद्य सुरक्षादेखि वातावरणमैत्री घरसम्म नानो टेक्नोलोजी जोडिएकै हुन्छ ।

कतिसम्म भएको छ जनावरप्रेमी तर मासुका पारखीका लागिरुचाइने स्वाद र प्रोटिनको मात्रा मिलाएर जनावरको हत्या नगरिकनै क्रितिम रुपबाटै मासु तयार भइसकेको छ । 

वल्र्ड इनोभेसन फोरम २०१८ को नेपाल संस्करणका रुपमा गरिएको स्विस–नेपाल टेक्नोलोजी ट्रान्सफर वर्कसपका लागि हालै काठमाडौं आएका रामाकृष्ण भन्दैथिए, “तर संसार यति रफ्तारमा अगाडि बढिराखेको छ कि अहिले हामीले जसको कुरा सबैभन्दा बढि गरिराखेका छौं, आगामी दशकमा त्यो हराइसकेको हुनसक्छ र अर्को झन् विशिष्ठ उपलब्धी र सपना हामीमाझ हुनेछ ।”

आफ्नो समयको विशिष्ठ उपलब्धी मानिएको स्टिम इञ्जिन अहिले पनि छ तर हामीमाझ त्यसको कुरा खासै हुँदैन । आउँदा बर्षमा नानो टेक्नोलोजी, क्रितिम बौद्धिकता (एआई), डिजिटल प्रविधिको भूमिका नि:सन्देह ठूलो हुनेछ । “धेरै कुरा चाहिनेभन्दा बढि बुझिएको पनि छ,” उनी भन्छन्, “एआई भनिएका सबैथोक एआई होइनन्, थुप्रै कुराहरु अझै सामान्य प्राविधिक हिसाबकिताब हुन् ।”

सत्य के हो भने, औसत मानिसहरुले भन्दा मेसिनहरुले थुप्रै कुरा छिटो र दुरुस्तै गर्न सक्छन् । एउटा मानिसको दिमागमा परिवार, भावना र दैनिक जीवनका अन्य थुप्रै कुराहरु खेलिराखेका हुन्छन् । मेसिनले गर्ने काम उसको पूर्ण क्षमताको काम हुन्छ भने मानिसका लागि थुप्रैमध्ये एउटा मात्र । त्यसैले कामको गुणस्तर र उत्पादकत्वका दृष्टिले मेसिनहरुले औसत मानिसको क्षमतालाई उछिनिसकेका छन् ।

विज्ञानको क्षेत्र नै अहिले पहिलेजसरी चलिराखेको छैन । “मैले रिसर्च शुरु गर्दा नयाँ ज्ञान पत्ता लगाउने कुरा थियो, तर अहिले धेरैजसो देशहरु प्रविधि हस्तान्तरणको युगमा छन्,” होटल याक एण्ड यतिको बगैंचामा उनी भन्दैथिए, “अहिले आधारभुत अध्ययनभन्दा पनि नयाँ कम्पनी खोलेर वा चालु व्यावसायहरुका लागि लगानी बढाएर काम हुन्छ ।”

Sunday, December 17, 2017

इपिसेन्टर जेरुसेलम

जब राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायल मात्रको राजधानीको रुपमा स्विकार्ने अमेरिकी निर्णयको घोषणा गरे, विश्व दुई ध्रुवमा विभाजन हुन क्षणभर लागेन । पश्चिमादेखि थुप्रै अरब राष्ट्रहरुले तत्काल ठूलै संकट सम्मुख रहेजसरी आपतकालिन बैठक बसे । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उसैगरी वैठक डाक्यो । तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु भने आफ्नो कार्यकालको एउटा ठूलै सफलताजसरी खुसी देखिए । उनले ट्रम्पलाई सावर्जनिक रुपमै धन्यवाद दिंदै भने, ‘यहुदी जनता र यहुदी राज्य सधैंभर तपाईंप्रति कृतज्ञ हुनेछन् ।’ सायद राजनेताका रुपमा त्यसरी खुसी हुने उनी मात्रै थिए ।

विश्व मुद्दामा प्राय: अमेरिकासँगै उभिने राष्ट्रहरुदेखि पोप फ्रान्सिस समेतले त्यसको स्वागत गर्न सकेनन् । त्यसको अर्थ उनीहरु स्पष्ट विरोध पनि गरिराखेका छैनन् । धेरैको भनाई एउटै छ, ‘जेरुसेलमको स्टाटस को (यथास्थिति)को सम्मान गरौं ।’ इजरायललाई राज्यको रुपमै नस्विकार्ने अधिकांश अरब विश्व त प्रतिवादमै उत्रिने भइहाल्यो । गत बुधबार टर्कीको एउटा प्रमुख शहर इस्तानबुलमा जम्मा भएका ५७ मुस्लिम देशका नेताहरुले एकै स्वरमा ट्रम्पको कदमलाई ‘विवेकशून्य र निरर्थक’को संज्ञा दिए । उनीहरुले ट्रम्पको कदमलाई ‘प्यालेस्टानी जनतामाथिको हमला’ नै भन्न समेत छाडेनन् । विरोधी खेमाको नेतृत्व गरिराखेका टर्कीका राष्ट्रपति रेशेप एर्दवानले यसअघि नै मुस्लिम विश्वको दृष्टिकोण कडा शब्दमा दिइसकेका छन् । उनको भनाई थियो, ‘जेरुसेलम मुस्लिमहरुको लागि रेड लाइन हो ।’ उसो त उत्तर एटलान्टिक सन्धी संगठन (नेटो) सदस्य टर्की आफैमा अमेरिकाको सुरक्षा साझेदार हो र इजरायल–प्यालेस्टाइन शान्ति प्रकृयालाई सघाउन भन्दै इजरायलसँग दुर्लभ कूटनीतिक सम्बन्ध रहेको मुस्लिम राष्ट्र समेत ।