Showing posts with label Technology. Show all posts
Showing posts with label Technology. Show all posts

Thursday, February 9, 2012

प्रतीक्षा पेट्रोलियम रहस्योद्घाटनको

कुनै बिघ्नबाधा आई नपरे अबको तीन वर्षभित्र नेपालको जमिनमुनि पेट्रोलियम पदार्थ रहे/नरहेको बारे एउटा नतिजा आउनेछ। तेल अन्वेषणमा जुटेको अमेरिकी कम्पनी टेक्साना रिर्सोसेज र बेलायती कम्पनी केर्न इनर्जीले निर्धारति समय तालिका अनुसार कुवा खन्ने कार्य सम्पन्न गरे तेलसम्बन्धी रहस्य उद्घाटित हुनेछ। टेक्साना र केर्नले सन् १९९८ र सन् २००४ मा काम गर्ने सम्झौता गरे तापनि अवस्था अनुकूल नरहेको भन्दै रोकेका थिए। केर्नले आफ्नो काम सन् २००९ को अन्त्यमा पुनः सुरु गर्‍यो भने टेक्सानाले २०११ को अन्त्यमा। पहिलो चरणको भौगर्भिक सर्वे सम्पन्न गरेर दुवै कम्पनी अहिले जमिनमा कम्पन गरेर कुवा खन्ने स्थान छान्ने क्रममा छन्। त्यसपछि 'डि्रलिङ्' अर्थात् कुवा खन्ने काम हुनेछ, जुन सबैभन्दा महत्त्वपूर्ण र खर्चिलो मानिन्छ। र, यसबाट मात्रै तेल भए/नभएको अन्तिम टुंगो लाग्छ। पेट्रोलियम अन्वेषणको काममा त्यसैले एउटा भनाइ निकै चर्चित छ, 'जमिनमा प्वाल नपारेसम्म केही भन्नै सकिँदैन।'

तर, यसबीचमा सबैभन्दा बढी क्षेत्रमा तेल खोज्ने ठेक्का लिएको केर्नका तर्फबाट 'अझै भनेजस्तो अनुकूल अवस्था बनिनसकेको' भनाइ सार्वजनिक भएको छ। बेलायतको एडनबर्गमा मुख्यालय रहेको केर्न इनर्जीका भूमध्य क्षेत्र तथा नेपाल प्रमुख रोब जोन्सले पनि त्यसलाई पुष्टि गरे। नेपालसँगको इमेल प्रतिक्रियामा उनले भनेका छन्, "नेपालजस्तो फ्रन्टियर (कुनाको मुलुक)मा काम गररिहेको हुँदा धेरै समस्या झेलिरहेका छौँ तर सरकारी पक्षसँग कुराकानी भइरहेको छ।"

केर्न पेट्रोलियम अन्वेषणमा एक सफल कम्पनी मानिन्छ, जसले पछिल्लो २० वर्षयता दक्षिण एसियामा आफ्नो ध्यान केन्दि्रत गरेर भारत, बंगलादेश र श्रीलंकाका ४० भन्दा बढी ठाउँमा सफलता पाइसकेको छ। यद्यपि, केर्नले नेपालमा भइरहेको काम रोकिसकेको भने छैन। तर, राम्रोसँग अगाडि पनि बढाएको छैन। यसले उक्त कम्पनी 'पर्ख र हेर'को अवस्थामा रहेको बुझिन्छ। स्रोतका भनाइमा केर्नले सुरक्षामा बढी सुनिश्चितता खोजेको छ। केर्नमा अहिले नयाँ कार्यकारी प्रमुखका रूपमा सिमोन थोमसन नियुक्त भएकाले पनि कम्पनीमा केही रणनीतिक फेरबदल भएको र त्यसको असर नेपालमा रहेको उनीहरूको कामलाई समेत परेको हुनसक्ने नेपाली अधिकारीहरूको आकलन छ। सामान्यतः पेट्रोलियम उत्पादन कम्पनीहरू लामो समय यस्तो अवस्थामा रहेर बस्दैनन्। उनीहरूले आफूले काम गर्ने अवधिभर प्रतिमहिना प्रतिवर्ग किलोमिटरको १० अमेरिकी डलर सरकारलाई तिर्नुपर्छ भने एक ठाउँको लगानीमा अस्थिरता आउँदा त्यसले अर्को ठाउँमा हुने लगानीलाई समेत असर पार्छ।

Thursday, October 20, 2011

टिभी टाइम

भेषराज कार्की लुम्बिनी अञ्चल आसपासमा एक परिचित नाम हो । पाल्पा र रूपन्देहीका आधा दर्जन बढी एफएम रेडियोहरूमा झन्डै ७ वर्ष बिताएका उनको आवाजसँग स्थानीयहरू राम्रैसँग अभ्यस्त छन् । तर अहिले यी २७ वर्षेको काम एउटै भइकन पनि त्यसको प्रकृति फेरिएको छ । पहिलेजस्तो अब उनको स्वर मात्र स्थानीयको मानसपटलमा छैन, नाम लिनेबित्तिकै उनको अनुहार पनि सम्भिmइन्छ हिजोआज । कारण उनी अहिले टेलिभिजनमा सरेका छन् । बुटवलको बुद्ध टेलिभिजनमा समाचार प्रमुख तथा प्रस्तोता हुन् उनी ।

पहिले पहिले जसरी रेडियोमा काम गर्ने क्रेज स्थानीय तन्नेरीहरूमा थियो, अहिले त्यो बिस्तारै पातलिँदो छ । जसको कारण खोतल्दै जाने हो भने लामै फेहरिस्त तयार हुन्छ । तर छुटाउनै नहुने केही भने यस्ता छन् । अहिले ब्रगेल्ती एफएमहरू खुले, त्यो पनि राजनीतिक दल, जाति/समुदाय जस्ता केही निश्चित समूहका व्यक्तिहरू जुटेर । यसले एफएमको बढ्दो विस्तारसँगै व्यावसायिकता खस्काएको छ । 'त्यसैले पनि एफएममा काम गर्नु पहिलेजस्तो इज्जतिलो मानिँदैन,' भेषराजले भने, 'त्यसैले व्यावसायिक रूपमा विकसित भएका रेडियोका जनशक्ति अहिले टिभीतिर जान थालेका हुन् ।'

बुटवलमा अहिले आफैं कार्यक्रम उत्पादन गरेर चलाउने दुई भूसतही (बिना केबल नेटवर्क टिप्ने) टेलिभिजनहरू छन् जसले स्थानीय महत्त्वका विषयवस्तुमा कार्यक्रम चलाउँछन् । नेपालको पहिलो सामुदायिक टेलिभिजनको रूपमा लुम्बिनी टेलिभिजन गनिने गर्छ । २०६४ यता प्रसारणमा आएको यसले बिहानको ६ बजेदेखि रातको १० बजेसम्म कार्यक्रमहरू चलाउँछ। लुम्बिनी टिभीका प्रमुख कार्यकारी निर्देशक सिद्धिचरण भट्टराईले भने, 'मूलधारका टिभीमा बज्ने धेरैजसो  कार्यक्रमहरू हामी आफैं उत्पादन गर्छौं, तर स्थानीय परिवेशअनुकूल बनाएर ।' उनका अनुसार लुम्बिनी टिभीमा मात्र झन्डै तीन चौथाई जनशक्ति एफएम पृष्ठभूमिबाट आएका छन् । बुद्ध टेलिभिजनमा समेत बाहुल्य एफएमबाट आएकै जनशक्तिको छ । थप्छन्, 'टेलिभिजनका लागि काम गर्न चाहिने प्राविधिक पक्षहरू एफएममा काम गरेकाले धेरै बुझिसकेको हुने हुँदा त्यस्ता जनशक्ति बढी लिइएको हो ।' टेलिभिजनलाई आवश्यक पर्ने गरी प्रशिक्षित गर्न रेडियोमा काम गरेकालाई त्यसैले पनि बढी सहज हुने भट्टराई बताउँछन् । रेडियोमा प्राविधिकको रूपमा काम गरेकाहरूलाई समेत स्थानीय टिभीमा काम गर्ने विकल्प खुलेको छ । 

Sunday, September 25, 2011

वहदेखि खुसीसम्म, विचारदेखि आक्रोशसम्म

इन्टरनेट सञ्जालमा नेपाली ब्लग खोज्दै जाँदा भेटिएको 'दुर्जेन चेतना' नामको ब्लगमा गतवर्षको तिहारलाई सन्दर्भ पारेर लेखिएको छ, "तिहार  आयो, मेरी दिदीलाई सम्झाएर गयो।" तिहारमा टीका लगाउन नपाएपछि ब्लगरले दिदीसँग बिताएका पुराना क्षणलाई स्मृति शैलीमा  अभिव्यक्त गर्दै लेखेका छन्, "म सानै हुँदादेखि नै दिदीले मलाई आमाको पछ्यौराले ढाडमा बोकेर हिँड्नु हुन्थ्यो रे ! तर, पहिलोपटक मलाई हात  समातेर शिशुकक्षा पढ्न जाँदादेखिका क्षणहरू मात्र मलाई याद छन्।"

उक्त ब्लगमा ब्लगरका दिदीसँगका सुख-दु:खका क्षणहरू मात्र भेटिँदैनन्, ब्लग लेखनको एउटा पाटोको झल्को पनि पाइन्छ। त्यसो भए के हो त  ब्लग लेखन वा ब्लगिङ् ? एउटै उत्तर भेटाउनु सजिलो छैन। सामान्यतया मान्छेले आफ्ना अनुभव, अनुभूति र दृष्टिकोणलाई आफ्नै शैलीमा  अभिव्यक्त गर्ने एउटा माध्यम भनेर ब्लगिङ्लाई बुझिन्छ। पछिल्ला दिनमा यसलाई लेखकीय उत्तरदायित्वसँग जोडेर विभिन्न बहसहरू पनि  सुरु भएका छन्। अहिले ब्लगिङ् चरम स्वच्छन्दतामा आफ्ना भावनाहरू अनगिन्ती शैली, तरिका र विषयहरूमा पोख्न सकिने थलोका रूपमा  विकसित भइरहेको छ।

सुमन मञ्जरी (सरीता खनाल)को ब्लगमा 'झरीले जोडेको सम्बन्ध' शीर्षकमा विशेष सन्दर्भ पारेर कसैलाई पहिलोपटक त्यस्तै झरीमा भेट्दाको अनुभव व्यक्त गरिएको  छ। मञ्जरीले उक्त ब्लगपोस्टमा लेखेकी छन्, "यी दिनमा लगातार झरी पररिहँदा हाम्रो भेटघाटका सुरुवाती  क्षण याद आउँदै छन्। तीन वर्षअघिको यही भदौरे झरीमा हाम्रो भेट भएको थियो। लगातारको झरीले दिनहरू निथु्रक्क भिजेका थिए। थोरै बो ल्ने अनि चुपचाप बस्न रुचाउने रहेछौ तिमी, मलाई भने बोलिरहनुपर्ने। एकै भेटमा तिमीलाई अत्याएकी थिएँ क्यारे मैले। प्रश्नमाथि प्रश्न  गरेर।" त्रिभुवन विश्वविद्यालयमा नेपालीमा स्नातकोत्तरकी विद्यार्थी मञ्जरीले महिनामा औसत पाँच/छवटा ब्लग लेख्ने गरेकी छन्। भन्छिन्,  "म समाचार लेख्दिनँ, कुनै घटनाले मनलाई छोयो भने लेखिहाल्छु।" त्यसो त उनका ब्लगमा अधिकांश कुरा कसैसँग भेट्दा वा कतै घुम्न जाँदाको अनुभव, कथा, कविता र कुनै विषयमा उनका अन्तरमनका भाव भेटिन्छन् । 

ब्लगको प्रकृति लेख्ने व्यक्तिको व्यवसाय र पृष्ठभूमिले पनि धेरै हदसम्म व्यक्त गरेको पाइन्छ। ग्याजेटका सोखिन भास्कर हुमागाईंले ब्लगमा  नयाँनयाँ सफ्टवेर र सूचनाप्रविधिमा अद्यावधिक भइरहेका कुराहरू खोजेर राख्ने गर्छन्। भन्छन्, "यस्ता कुराहरू ब्लगमा राख्नु आफ्नो सोख  मेट्नु त हो नै, त्यसबाहेक आईटीबारे जानकारी खोजिरहेका धेरैलाई सहयोग पनि पुग्छ।" नेपालमा कति ब्लगर छन्, यकिन छैन। पत्रकार,  विद्यार्थी, कर्मचारीदेखि लिएर धेरै सेवानिवृत्त व्यक्तिहरूसम्मले ब्लगिङ् गररिहेका साइटहरू भेटिन्छन्। 

Sunday, September 18, 2011

अब मेरोपोष्ट पनि

नेपाली विद्यार्थी सुनिल चौलागाईंले सामाजिक सञ्जाल “मेरोपोष्ट” निर्माण गरेका छन् जसका लागि मेरोपोष्ट डट कम लगइन गरे सदस्य बन्न सकिन्छ । ओपनसोर्सको प्रयोग गरेर तयार पारिएको स्वदेशी सामाजिक सञ्जाल झट्ट हेर्दा फेसबुक या ट्विटरको झल्को दिनेजस्तो देखिएता पनि यसमा ती दुवैका उत्कृष्ठ फिचरलाई समिश्रण गरेर तयार गरिएको नयाँपन भेटिन्छ । स्टाटस अपडेटमा आउने अप्सनहरु, त्यसमा लेख्न मिल्ने अक्षर संख्या २४७ (ट्विटरमा मात्र १४० हुनेहुँदा त्यसले कतिपय अवस्थामा ल्याउने समस्या हटाउन खोजेका हुन्) र आफैले चाहेअनुसारको प्रोफाइल कलर यसका नयाँ फिचरहरु हुन् भने च्याटको सुविधा पनि छ । मेरोपोष्टमा स्टाटस लेख्दा नेपाली युनिकोडको अप्सन समेत राखिएको छ ।

कान्तिपुर इञ्जिनियरिङ कलेजमा कम्प्युटर इञ्जिनियरिङ छैटो सेमेस्टरमा अध्ययन गरिराखेका यी २१ वर्षेले अहिले क्यानाडाको एक सर्भरसँग मिलेर आफ्नो समाजिक सञ्जाल चलाइराखेका छन् जसबापत उनीहरुले मासिक ५ सय १० अमेरिकी डलर तिर्नुपर्छ । अहिलेलाई उनीहरुको होल्डिङ क्षमता २ हजार जिबी छ भने प्रयोगकर्ताको बढ्दो सङ्ख्यासँगै त्यो थप्दै लगिने चौलागाईंको भनाई छ । “दिनानुदिन सयौं प्रयोगकर्ताहरु थपिंदै छन”, उनले भने, “अब यसलाई उचित व्यावस्थापन गर्ने चुनौति हामीमाझ थपिएको छ ।”

उनका अनुसार ट्विटरमा भएका सबै सुविधाहरु मेरोपोष्टमा पनि छन् भने त्यसबाहेक फोटो अपलोड, गु्रप निर्माण र आफ्नो आवश्यकता अनुसारको साइडबार पनि बनाउन सकिन्छ ।

This appeared in print at NEPAL magazine

Thursday, September 15, 2011

नेपाली सफ्टवेर: साहस र सास्ती


ञ्चारमाध्यममा सुनिल चौलागाईं अहिले ‘हट केक’ भइराखेका छन् उनको काम सामाजिक सञ्जाल ‘मेरोपोष्ट’ का कारण । तर उनको चर्चाभित्रको धरातल निकै कमजोर छ । ‘त्यसैले अरुले सोचेजस्तो अहिल्यै त्यतिधेरै खुसी छैन’, हेलोशुक्रबारलाई त्यसो भन्नुका पछाडि उनले राम्ररी बुझेको हुनुपर्छ  अगाडिको बाटो मेरोपोष्ट बनाउनुभन्दा बढि चूनौतिपूर्ण छ भन्ने । त्यसैले आफू र आफ्नो साइटबारेको चर्चा जति बढि हुँदै जान्छ, सुनिलमा त्यो चर्चाभन्दा कयौं गुणा बढि ‘तनाव’ बढ्छ ।

यसरी सुखद खबरसँगैसँगै निराशाजनक पाटो पनि जोड्नुपर्ने कुनै रहर होइन, यो भूमिको दुर्भाग्य हो   (जुन लुकाउन सकिँदैन) जसको मार खेप्ने सुनिलजस्ता कयौं प्रविधिका तन्नेरीहरु छन् । मेरोपोष्टको सर्भर क्यानेडियन कम्पनीसँग भाडामा लिइएको छ । यसले सिर्जना गर्ने मुख्य समस्या हो– मेरोपोष्ट प्रयोगकर्ताहरुको (प्रत्यक्ष रुपमा) गोपनियता सुरक्षित हुनेमा विश्वास गर्न नसकिनु । कुनै पनि कम्युनिकेसन (कनेक्सन)का लागि सर्भर मानिसको मुटुजस्तै हो, जसको धड्कन रोकिएपछि पूरै शरिरले काम गर्न छाड्छ । सर्भरमा एक सेकेन्डकै लागि समस्या आइदियो भने कनेक्सन फेल हुन्छ । त्यसबाहेक साइटमा आदानप्रदान हुने डाटाहरु पहिले सर्भरमा पुग्छन र त्यहाँबाट स्विकृति पाएपछि मात्र एक अर्कामा साटासाट हुन्छ । चाहेको खण्डमा सर्भरवालाले ती डाटाहरुमाथि हैकम जमाउन सक्छ ।

कुनै पनि सर्भरले सतप्रतिसत काम गर्न सक्छ भन्ने त हुँदैन तर पनि मेरोपोष्टको सर्वाधिकार उनीहरुसँग नै नहुने भएपछि प्रयोगकर्ताहरुमा शंका उब्जन सक्छन् । जुन एउटा सामाजिक सञ्जाल चर्चित हुनको लागि सबैभन्दा ठूलो बाधक पनि हो ।

‘गाह्रो त गाह्रो छ’, यी २१ बर्षेले कुराकानीकै बिचमा धेरैपटक लामो सास फेर्दै भनेका थिए, ‘तर पनि हामी विकल्पहरुबारै अझै गृहकार्यमै छौं ।’ उसो त यो उनको पूर्णत: ‘ओरिजिनल’ काम भने होइन । सुनिलले चियाको चुस्कीसँगै प्राविधिक भाषामा अवस्था बताए ।

उनकै चियासँग दाँजेर बुझौं । त्यहि चियालाई अलिक बढि चिनी हालेर झन् गुलियो बनाउन, पानी वा दुधको मात्रा थपेर स्वाद नै फेर्न, वा त्यही चिया बनाउन आवश्यक पर्ने सामाग्री थाह छ भने त्यसलाई आफ्नो बेग्लै स्वाद र शैलीमा चिया पकाउन पनि सकिन्छ । हो, ठ्याक्कै यस्तै कुरा सफ्टवेरमा पनि लागु हुन्छ । आफू अनुकुल प्रयोगमा ल्याउन मिल्ने सफ्टवेयरहरु हुन् यी– ‘फ्रि एण्ड ओपन सोर्स सफ्टवेर’ । सुनिलले त्यस्तै ओपन सोर्स प्रयोग गरेर मेरोपोष्टको निर्माण गरेका हुन् । साइटलाई सजाउने काममा पनि आउटसोर्सिङकै (भर्चुअल दुनियाँमा कामको लेनदेन) बाटै सम्भव भएको थियो ।

तीन महिनाअघि अमेरिकी युवा उद्यमी डेभ ट्रोयले ट्विटरको लागि अलिक लामो सन्देश पठाउन मिल्ने ‘सर्टमेल’ सार्वजनिक गर्दा ‘एउटा ऐतिहासिक छलाङ’ भनेका थिए । तर सर्टमेलमा त्यस्तो घतलाग्दो र ठूलो कुरा केही छैन् ।  त्यत्ति धेरै मिडिया पहुँच र सुविधासम्पन्न ल्याबका वरिपरी बनेको ‘सर्टमेल’को अवधारणा कान्तिपुर इञ्जिनियरिङ कलेजमा कम्प्युटर इञ्जिनियरिङ छैटो सेमेस्टरमा अध्ययनरत यी २१ वर्षेको भन्दा निक्कै फितलो लाग्छ । उनले ट्विटर र फेसबुकका पक्षलाई समिश्रण गर्न पनि केही केही हदसम्म सफल छन् भने च्याट सुविधा  पनि छ । प्रयोगकर्ताले आफू अनुकुल प्रोफाइलको रंग पनि फेर्न सक्छन् ।

Sunday, August 21, 2011

अनलाइनमा लोकसेवाको ट्युसन


लोकसेवा आयोगको परीक्षा दिँदै हुनुहुन्छ तर दिनहुँ इच्स्चिच्युट धाएर ट्युसन पढ्न भ्याउनुहुन्न भने पनि अब केही छैन । इन्टरनेट सञ्जालमा अहिले एउटा यस्तो साइट थपिएको छ, जसले अनलाइनबाटै इच्स्चिच्युटमै जसरी ट्युसन पढाउँछ । 

लोकसेवा गाइड डट कम लगइन गरेपछि तपाईंले पढ्न चाहेको कोर्स छान्न सक्नुहुन्छ र सोही अनुसार तपाईँ दिनहुँ घरमै बसीबसी उनीहरूले पढाउने सामग्री अध्ययन गर्न सक्नुहुन्छ । यसरी पढ्दाको पैसा पनि इच्स्चिच्युटको भन्दा झन्डै तीन भाग सस्तो पर्छ । भर्ना भएपछि विद्यार्थीले एउटा युजरनेम र पासवर्ड पाउँछन्, जसको प्रयोग गरेर ट्युसन अवधिभर इन्टरनेटको पहुँच भएको जुनकुनै ठाउँबाट पढ्न सकिन्छ । तर, एकपटकमा एक जनाभन्दा बढीले यसरी प्रयोग गर्न सक्दैनन् र उपलब्ध गराइएका ती सामग्री कपी गर्न वा पि्रन्ट गर्न पनि मिल्दैन । कुनै दिनको ट्युसन छुटिहालेमा पनि त्यस अवधिभर अघिल्ला दिन प्रेषित गरिएका सामग्रीसमेत पढ्न मिल्छ । त्यसैले विद्यार्थी नहुने भए तापनि लोकसेवा गाइडको कार्यालय, शंखमूलमा भने शिक्षक सामग्री लोड गर्नमा व्यस्त हुन्छन् ।