Showing posts with label Features. Show all posts
Showing posts with label Features. Show all posts

Wednesday, January 16, 2013

क्लिक आन्दोलन

पुस दोस्रो सातायता हरेक दिन बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासको गेट नम्बर ३ अगाडि 'अकुपाई बालुवाटार' अभियानमा  जुटेका आन्दोलनकारी देखिन्छन्। सोसल मिडियामार्फत जुटेका उनीहरूका प्लेकार्डमा हालै बलात्कारमा परेकी चेली मात्र होइन, लामो समयदेखि हराइरहेकी छोरीमैया महर्जन, रहस्यमय हत्याको सिकार बनेकी अनामनगरकी सरस्वती सुवेदी, वैवाहिक विवादले जलाइएकी बाँकेकी शिवा हसामीजस्ता थुप्रै महिलाका व्यथा भेटिन्छन्।

बलात्कृत प्रकरणबाट सुरु भएको उक्त अभियान एउटा घटनामा मात्र सीमित नभई सामाजिक आन्दोलनको रूपमा विकसित भएको छ। पछिल्लो पाँच महिनाको तथ्यांक हेर्दा नेपालमा हरेक २० घन्टामा एक युवतीको बलात्कार भएको छ। तर, भोजपुरकी २० बर्षिया ती चेलीको घटना सार्वजनिक भएपछि मात्र सामाजिक सञ्जालहरूमार्फत चेलीहरूमाथि हुने अनेकन् पीडा र यातना विषयमा सामाजिक गर्मी बढ्यो। किन त ?

१ पुसमा दिल्लीमा २३ बर्षिया युवतीको बलात्कारपछि भएको हत्या विरोधमा सिर्जित आन्दोलनले ठूलै रूप लियो। त्यसैको प्रभाव छिमेकी मुलुक नेपालमा पनि परेको हो । "परिवेश र अवसर मिल्यो भने सोसल मिडियामा हुने एउटा साधारण कामले समेत भाइरल इफेक्ट निम्त्याउँछ," सोसल मिडियाको प्रभाव नजिकबाट नियालिरहेका पत्रकार उज्ज्वल आचार्य भन्छन्, "भारतमा त्यत्रो आन्दोलन हुँदा हामीले पनि केही गर्नुपर्छ भन्ने भावना सोसल मिडियाले नै जगाएको देखियो।" 

अक्सर मूलधारका सञ्चारमाध्यमले तय गर्ने भनिएका सामाजिक एजेन्डामा सोसल मिडिया हावी हुँदै छन्। आचार्य थप्छन्, "नत्र, पत्रकारले चाहे सामाजिक एजेन्डा हुने, नचाहे नहुने समस्या हुन्थ्यो।" नेपालमा इन्टरनेटसम्म पहुँच हुनेहरूको संख्या निकै कम छ। कम नै सही, उनीहरूकै सक्रियताले अनलाइन भोटिङ्मार्फत अनुराधा कोइराला र पुष्पा बस्नेत सीएनएन हिरो चुनिए, हेल्प नेपाल नेटवर्क चेस च्यालेन्जमा टपटेनमा पर्‍यो। मुलुकभित्र सोसल मिडियाको सञ्जाल र त्यसमा संलग्न पुस्ताको सामथ्र्य बुझाउन यी उदाहरण काफी छन्।

'अकुपाई बालुवाटार' अनलाइनबाट अफलाइन रूपान्तरण भएको पहिलो घटना भने होइन। संविधानसभाको म्याद घर्कंदै जाँदा 'नयाँ संविधानलाई स्वागत' भन्ने फेसबुक अभियानले थुप्रैलाई दबाबका लागि संविधानसभा भवनवरपर जम्मा पारेको थियो। त्यसभन्दा अघिसमेत फेसबुकमा  'नेपाल युनाइट्स' सक्रिय थियो, जसले हरेक बिहीबार सामाजिक अभियानका रूपमा विभिन्न स्थानमा नागरकिलाई जम्मा पार्दै आएको थियो। वैशाख २०६७ मा काठमाडौँमा तत्कालीन एकीकृत नेकपा माओवादीले उपत्यका बन्द गर्दा फेसबुककै इभेन्ट पेजको भरमा वसन्तपुरमा हजारौँ नागरकि शान्ति तथा सद्भाव जुलुसमा जुटेका थिए।

आन्दोलन मात्रै होइन, राम्रा अभियानको समेत थालनी गरेका छन्, सोसल मिडियाले। 'बुक फर भिलेज'ले सोसल मिडियाकै प्रयोगबाट थुप्रै पुराना पुस्तक तथा नयाँ किन्नका लागि रकम जुटाएर देशका ग्रामीण भेगका विद्यालयमा पुर्‍याएको छ। रगतको आपत्कालीन मागपूर्तिका लागि फेसबुकमा 'युथ फर ब्लड' तथा ट्वीटरमा 'आइब्लडनेपाल'जस्ता एकाउन्ट सक्रिय छन्। यी सञ्जालमार्फत जोकोहीले रगतको चाँजोपाँजो मिलाउन सक्छन्। त्यसैगरी ट्वीटरमा 'टीएफसी नेपाल'ले असक्त र असहाय बालबालिकाका लागि सहयोग जुटाउने काम गररिहेको छ।

कम्प्युटर स्क्रिन अगाडि बसेर स्ट्याटस पोस्ट गर्न वा ट्वीट/रटि्वीट् गर्न जति सहज छ, त्यसलाई व्यावहारकि जीवनमा रूपान्तरण गर्न त्यति सजिलो छैन। त्यसैले संसारभर 'एक्टिभिस्ट' र 'क्लिकिभिस्ट'बीच ठूलो खाडल छ, जसलाई सोसल मिडियाभित्रै पनि बहसको विषय मानिन्छ। यद्यपि, 'क्लिकिभिजम'को भूमिकासमेत आफ्नो ठाउँमा कम आँक्न भने मिल्दैन। अभियानहरूमा शरीर उपस्थित नभए पनि यसले नैतिक समर्थनको अवस्था जनाउँछ। 

Sunday, January 13, 2013

मिसन सीए

अघिल्लो दिनदेखि सुवास बराल, सजिव न्यौपाने र सुवर्ण भण्डारीले आंखा झिमिक्क पारेका छैनन् । दिउसो २ बजेदेखि उनीहरुको सीएको परीक्षा छ । दिनको चार–पांच घण्टा भन्दा कम सुत्न थालको त एक महिना अघिदेखि नै हो । त्यसैले नयां दिल्लीमा चिसो शुरु भइसक्दा समेत उनीहरुको ज्यान नमज्जाले तातेको छ । जति पढे पनि केही थाहा छ जस्तो नलाग्ने समस्या सबैको साझा छ । सीए पढ्ने जुनियर विद्यार्थीहरु हरेकपटक कुनै विषय पढ्न थाल्दा उनी किताबका थाक देखेरै आत्तिन्छन् र लामो सास फेरेर पढ्न शुरु गर्छन् । परीक्षाका बेला हुने रिभिजन त सबै पन्ना पल्टाउन समेत भ्याउंदैनन् उनी । सुवास भन्छन्, “त्यसैले हरेक इग्जाम भगवानकै भरमा दिनुपर्छ ।” कुन पाठबाट कति प्रश्न सोध्ने भन्ने नै हुंदैन ।

सुवास, सजिव र सुवर्णजस्ता थुप्रै नेपाली विद्यार्थीहरु एउटा कठिन मानिएको पढाई सीए अर्थात चाटर्ड एकाउन्टेन्ट पढ्न भारतको राजधानी नयां दिल्लीमा जुटेका छन् । धेरैजसो यहींको लक्ष्मीनगरमा बस्छन् । त्यसै त विरानो ठाउं त्यसमाथि पढाईको उच्च चाप र अनौपचारिक शैलीले नयां दिल्लीमा सीए पढ्ने नेपाली विद्यार्थीको जीवनशैली अन्य विद्यार्थीको तुलनामा निकै फरक छ ।

अहिले लक्ष्मीनगरमा मात्र झण्डै ५ हजार सीए पढ्ने नेपाली विद्यार्थी रहेको बताइन्छ । अधिकांशले सीए पढिने ३ चरणमध्ये पहिलो ६ महिने सिपिटी (कमन प्रोफिसियन्सी टेस्ट) नेपालमै सकेर दिल्ली हान्निएका छन् । दिल्लीमा उनीहरुको पहिलो काम ९ महिने आइपिसिसी (इन्ट्रिगेटेड प्रोफेसनल कम्पिटिसेन्स कोर्स) सक्ने हुन्छ भने त्यसलगत्तै झण्डै ३ बर्षे आर्टिकलसिप सकेर परिक्षा उतिर्ण गरेपछि सीएको सर्टिफिकेट बोकेर घर फर्कन्छन् । तर जुनकुनै देशको नागरिकको लागि सीए सोचेजसरी भइदिंदैन । “सीए बन्ने सपना बोकेर लाखौं दिल्ली छिर्छन्, अन्तिमसम्म पुग्ने हजारौंमा हुन्छन् र केही सयले मात्र पूरा गर्छन्”, सीएको अन्तिम परीक्षा दिने तयारीमा रहेका सविनय घिमिरे भन्छन्, “गारो त गारो छ ।” 

चराको पछिपछि

नयाँ ठाउँ पुग्दा समेत हठन चौधरीको नजर अघिपछि भन्दा रुख–आकासतिर बढि घुम्छ । हातमा एउटा सचित्र पुस्तक, दूरविर र क्यामेरा कतिबेलै छुट्दैन उनको । उनी चरा खोरिरहेका हुन्छन् । नयाँ वा दुर्लभ देखिने चरा भेटिए त गज्जब भईहाल्यो । देखिराखेकै वा स्थानिय चरा नै भएता पनि तिनका कतिपय दुर्लव अवस्था अर्को रोचक दृश्य बन्छ । कहिलेकाहीं एउटै चरालाई ठूलो झुण्डमा देख्न पाउनु पनि चरा हेर्नका पारखीका लागि आनन्दको क्षण भइदिन्छ । ‘त्यसैले बर्ड वाचिङ जति पटक नै गरेता पनि त्यो रोचक हुन्छ’, हठन भन्छन्, ‘कतिखेर के देखिन्छ भन्नै सकिंदैन ।’

बर्ड वचिङका लागि नेपाल विश्वमै विशेष स्थान हो । यहाँ १ सय मिटरभन्दा कमदेखि विश्वको सर्वोच्च उचाईको भूभाग छ । भिन्न भिन्न हावापानी र वासस्थान हुँदा यहाँ सयौं चराहरु देखिन्छन् । गर्मीयाममा प्रजननका लागि बसाई सरेर आउने चरा नेपालमा अर्का आकर्षण बन्छन् । ‘यी विविधताका बिच चरा हेर्नु वा देखाउनु निकै जटिल काम हो’, अर्का बर्ड वाचिङ गाइड दिनेश गिरीको अनुभव छ, ‘त्यसैले यो काम आत्मैदेखिको सोख नभइकन सम्भव छैन ।’ यसका लागि प्रकृतिसँग रमाउन सक्नु त पर्छ नै उत्तिकै धैर्य समेत हुनुपर्छ । पछिल्लो ६ बर्षयता लुम्बिनी आसपासमा बसिराखेका दिनेशले केही अघिमात्र त्यहीको दानव नदि छेउमा सबैभन्दा बढि अर्था १०४ वटा सारस एकैपटक देख्ने रेकर्ड बनाएका थिए । दिनेशको निश्कर्ष छ, ‘बर्ड वाचिङ एकखाले मेडिटेसन हो ।’
बर्ड वाचिङका लागि जानुअघि पहिले आफूले कस्तो चरा हेर्न खोजेको हो त्यो जान्नु आवश्यक छ । पारखीहरु विशेषगरी दुर्लव र सहजै आँखा तान्ने रंगीचंगी चरा हेर्न खोज्छन् । हेर्न चाहेको चराको प्रकृतिले कुन ठाउँमा ति पाइन्छन् भन्ने थाहा हुन्छ । ‘धेरै चराहरु थुप्रै अवस्थामा उस्तैझैं लाग्छन् जसले गर्दा उनीहरुलाई निकै शुश्म ढंगबाट छुट्याउन सक्नुपर्छ’, दिनेश भन्छन्, ‘उसको आँखा, ठुंड, खुट्टाजस्ता अंगको लम्बाई वा रंग, उड्ने तरिका एवं आवाजले छुट्याउन सक्नुपर्छ ।’ त्यसै त निकै छोटो समयका लागि देखिने चरा, त्यसमाथि त्यसैबेला चौतर्फी ढंगबाट सोच्दा ति उडिहाल्छन् । यहि कारण धेरैले चरा हेर्न जाँदा पहिले केही नसोची तस्विरहरु लिन्छन् । र, साँझ घर फर्केपछि चराका पुस्तकमा रहेका तस्विर र विवरणसँग शुश्म ढंगबाट दाँज्छन् । दिनेशको अनुभव छ, ‘म यसरी नै धेरै पटक दुर्लभ चरा भेटाएको घर पुगेपछि मात्र थाहा पाएर उत्साहित भएको छु ।’ चरा हेर्ने यहि विशिष्ठताका कारण समूहमा जाँदा त्यही चरा कहिलेकाहीँ कसैले देख्ने कसैले नदेख्ने समेत हुन्छ । एक पटक कोशी टप्पु बन्यजन्तु आरक्षमा हठनले समुद्री चरा रेड थ्रोटेड ड्राइभर देखेका थिए जुन त्यसपछि हालसम्म देखेका छैनन् ।

यी पढन्ते लाहुरे

बलिउड ब्लकबास्टर ‘वीर–जारा’मा पहिलोपटक लाहोर देखेका थिए, अजय जायसवालले । फिल्ममा देखिएको शहर र  त्यहाँका भवनका आर्किटेक्चरले प्रभावित पारेता पनि फिल्मले दिएको समग्र इम्प्रेसन भने त्यति राम्रो थिएन, लाहोरको । बिबिसी र सिएनएनमा देखिने पाकिस्तानका दर्दनाक दृश्यका त कुरै भएन । दिनहुँजसो हेडलाइन बन्ने तिनका समाचार सधै हत्या, हिंसा र विस्फोटनका खबरले भरिएका हुन्थे । त्यही सहि, गजलगायक गुलाम अली र पपगायक आतिफ अस्लमका ‘डाइहार्ट फ्यान’ उनलाई उनीहरुकै गृहनगर पुग्नबाट कसैले रोक्न सकेन । त्यसबाहेक जुनुन, नुरी, जलजस्ता चर्चित पाकिस्तानी पप ब्याण्डका कन्सर्ट उनीहरुकै शहरमा हेर्ने उनको एउटा पुरानो धोको छ जुन भने अहिलेसम्म पूरा हुन सकेको छैन । ३ बर्षयता यहींको पञ्जाब विश्वविद्यालयमा फार्मेसीमा स्नातक गरिराखेका छन्, अजय ।

लाहोर अहिले जति विरानो ठाउँझैं लागेता पनि यससँगको नेपाली साइनो निकै पुरानो र नजिकको छ । भारत–पाकिस्तान छुटिनुअघि नेपालीहरु काम गर्नका जाने एउटा गतिलो गन्तव्य त्यसबेलाको भारतको पञ्जाब प्रान्त थियो । र, पञ्जाबको राजधानी लाहोरबाटै लाहुर जन्मिएको हो । स्वतन्त्रतापछि पनि अहिले दुवैतर्फ पञ्जाब प्रान्त छन् । नेपालमा लाहुर शब्द अझै मरिसकेको त छैन । तर, अब लाहोर जानेलाई मात्र नभई पैसा कमाउने विदेशीनेलाई कहिंकतै लाहुरे भनिन्छ । तर असली लाहुरेहरु भने अब काम गर्न नभई पढाईका लागि लाहोरमा छन् । अहिले झण्डै २ सय ५० नेपाली विद्यार्थीहरु विभिन्न संकायमा यहाँका विभिन्न विश्वविद्यालयत तथा कलेजमा अध्ययनरत छन् । 

राजविराजका दिनेशकुमार नेपाल विश्वविद्यालयमा स्वागत हुदाको क्षण सम्झन्छन् । ‘वेलकम टु दि सिटी अफ लिभिङ हाट्र्स’, कसैले उनलाई भनेको थियो । पछि उनले थाहा पाए लाहोर पूर्वको पेरिस, पाकिस्तानको मुटु, बंगैचाको शहर, चाडपर्वको शहरजस्ता अनेकौं नामबाट चिनिंदो रहेछ । ‘लिभिङ हाट्र्समा भने निकै दम छ’, हालैको एक मध्यान्न पञ्जाब विश्वविद्यालयको क्यान्टिनमा उनले अनुभव साटे, ‘लाहुरीहरु सांच्चिकै जीउंन जानेका छन् । काम, मनोरञ्जन  र अनुसाशनको समिश्रण यिनमा निकै गज्जबको छ ।’

Tuesday, January 8, 2013

बोरिसकी रानी

 राजकुमार बानियाँ प्रदीप बस्याल

टोनी हागन हाउसको पाँचौँ तलामा भेटिइन्, इङ्गर लिसानिभिच, ८४। हेयरब्यान्डले सेतो कपाल बाँधेकी तिनी ल्यापटपसामुन्ने थिइन्। उठेर अभिवादन गरिसक्दा ठ्याक्कै टेनिस कोर्टमा देखिने आफ्नै नातिनी अश्लेषाजस्ती। कुनै बेला 'रोयल होटलकी रानी' भनिने इङ्गरको एक्लो जीवन नै २७ वर्ष पुगिसकेछ।

नेपालमा पहिलो होटल र पर्यटनको खाता खोल्ने बोरिस निकोलायभिच लिसानिभिचकी पत्नी हुन्, इङ्गर। जोसेफ कोन्राड र समरसेट ममका रचना पढेपछि तिनका रोमाञ्चकारी पात्र खोज्दै विश्वयात्रामा निस्केका अमेरिकी हेराल्ड स्टिफन्सले काठमाडौँको होटल याक एन्ड यतीमा सन् १९६१ मा भेटेका एक हिरो, बोरिस। स्टिफन्सले आफ्नो पुस्तक एसियन पोट्रेट्समा छुट्टी मनाउन युरोप गएकी इङ्गरलाई भेट्न नपाएको उल्लेख गरेका छन्। तिनै पात्रलाई भक्तपुरको गछेँ गल्लीमा भेट्यौँ हामीले।

'बोरिस अफ काठमाण्डू: अ किङ्डम अफ हिज ओन' शीर्षक पाठ पढ्दा बोरिस दन्त्यकथाका तिलस्मी पात्रजस्ता लाग्छन्। तिनकी पत्नीसामु कुन कुरा सोध्ने ? कुन कुरा नसोध्ने ? "म अन्तर्वार्ताभन्दा पनि कुरा मात्र गर्छु," इङ्गरले चस्मा खोल्दै भनिन्, "धेरै कुरा पुरानै छन्।" हल्का दमखोकीले सताइएकी इङ्गरको शीतल अनुहारमा थियो, बोरिसको सिंगो कथा।

४ अक्टोबर १९०५ मा काला सागरको ओडेस्सा (युक्रेन)मा जन्मेका हुन्, बोरिस। १२ वर्षको उमेरमा शाही नौका प्रतिष्ठानमा भर्ना पाए। सन् १९१७ मा रुसी क्रान्ति भइहाल्यो। बोल्सेभिकहरूले बन्चरो हानेर जार परिवारको हत्यागरिदिएपछि हजारौँ रुसीको भागाभाग भयो। बोरिस भाग्यमानी रहेछन्। उनले ब्याले कम्पनी ड्यागिलेभमा नर्तकको तालिम पाए। त्यो कम्पनी मोन्टेकार्लोतिर सरेपछि कहिल्यै रुस फर्केनन्।

१९ वर्षे उमेरमा बोरिस कहाँ पुगेनन् ? पेरिस, रोम, म्याडि्रड, बार्सिलोना। थुप्रै कवि, लेखक, कलाकार र संगीतज्ञसँग भेट भयो उनको। पिकासो, साल्भाडोर डाली, ड्युक्याम्प, चिरिको आदि कलाकारको रेखाचित्र कंसिगरका रूपमा मिल्किएको पनि देखे । दक्षिण अमेरिकाको फेरो मारे। युरोप फर्केपछि जारकालीन राहदानीले समस्या भयो। नयाँ राहदानी बनाउन स्थायी बसोबास चाहिन्थ्यो। त्यसैले ब्रिटिस राहदानीका लागि आइपुगेछन् कोलकाता।


भारतकै पहिलो नाइट क्लब खोले, क्लब ३००। त्यतिबेला लन्डनमा थियो, क्लब ४००। कोलकाता त्यसभन्दा सानो सहर भएकाले क्लब ३०० नाम राखेका रहेछन्। राजा त्रिभुवन उपचारका लागि धाइरहन्थे, कोलकाता। क्लब ३०० को माथिल्लो तलामा रहेको बोरसिको अपार्टमेन्टमा जाने अनि उनैसँग ब्याले नाच सिक्ने। प्रजातन्त्र बहालीका निम्ति संघर्षरत विद्रोही र राजाको भेटघाट पनि त्यहीँ हुन्थ्यो। यी भेटघाटलाई बोरिसले कति गोप्य राखे भने कसैले सुइँकोसमेत पाएनन्।

Thursday, January 3, 2013

ह्याप्पी, मिस मोटी

गत नोभेम्बरमा लन्डनमा आयोजना भएको कमिका अर्थात लण्डन इन्टरनेसनल कमिक्स फेस्टिवलमा एउटा नयाँ पात्र एकाएक चर्चित भयो । सुपरहिरो, म्यांगाजस्ता कमिक्स जगतमा चल्तिका पात्रका बिचमा ‘मिस मोटी’ नितान्त फरक थिइन् । मिस मोटी न त हिंश्रक थिइन् न त देख्दैमा डरलाग्दी । त्यही सहि, अहिले उनका फ्यान कमिक्स जगतमा अहिले विश्वभरमा चुलिएका छन् । पत्रकार हुमा कुरेसीले बेलायती पत्रिका दी गार्डियनमा उनको प्रशंसासाथ लेखेकी छिन्, ‘मिस मोटी कुनै सुपरपावर होइनन् न त कुनै शक्तिशाली पात्र हुन्, तर उनी कमिक्स जगतमा अपत्यारिलो गरी एउटा प्रिय पात्र बनेकी छिन् ।’

मिस मोटीकी सर्जक काठमाडौं बागबजारकी कृपा जोशी हुन् । जसरी तन्नेरी युवतीमा ‘जिरो फिगर’ हुने होड चलिराखेको बेला ‘मिस मोटी’ धेरैमाझ प्रिय हुन्छिन् यसले दिन खोजेको सन्देस पनि त्यही चर्चा भित्रै लुकेको छ । नामबाटै थाहा हुन्छ कमिक्सकी मुख्य पात्र ठूलो जीउडालकी छिन् । र, कृपाले मोटो शरीरलाई समस्या देखेर जीवनमा अरु थुप्रै खुसीबाट टाढा बनिराखेका महिलालाई ‘मोटोपन समस्या होइन’ भन्ने सन्देश दिन खोजेकी छिन, मिस मोटीलाई आदर्श बनाएर । ‘यसको अर्थ अस्वस्थ तरिकाले मोटो हुनु ठिक हो भन्ने होइन,’ कृपा भन्छिन्, ‘त्यसका बावजुत पनि मोटो भइन्छ भने त्यसमा धेरै टाउको दुखाउनु बेकार छ ।’

मिस मोटी पात्र, कृपाको आफ्नै जीवनबाट जन्मिएको हो । बढ्दो उमेरसँगै उनी आफूलाई अरुभन्दा मोटो अनुभव गर्थिन् । त्यसबेलैदेखि उनले मोटो मानिसलाई जनावरका नामसँग जोड्दै जिस्काइने वा बोलाइने गरेको पनि नदेखेकी होइनन् । अर्कोतर्फ ठूलो ज्यान हुने उनका साथीहरु हरेक कुरामा आफूलाई त्यही शरीरसँग जोडेर दु:खी भेटिन्थे र हिनताबोध महसुस गर्थे । यसरी एकातर्फ उनी समाजबाटै कथाबस्तु बटुलिन भने अर्कोतर्फ उनको रंग र चित्रसँग सानैदेखि विचित्रको मोह थियो ।

‘त्यस्तो अनुभव गरिरहंदा म मेरी आमालाई देख्थें जोसमेत मोटी नै हुनुहुन्थ्यो तर वहाँमा कहिल्यै त्यसले नकारात्मक प्रभाव पार्दैनथ्यो,’ कृपाले हेलो शुक्रबारसँग भनिन्, ‘वहाँ सबैकी प्रिय हुनुहुन्थ्यो र समारोहमा निकै उत्साह र उच्च मनोवलका साथ प्रस्तुत हुनुहुन्थ्यो ।’ उनकी आमा रुपा आफ्नो मोटोपन सुहाउँदो गरी सान्टा क्लज जस्ता फन्नी पहिरनमा सजिंदी रहिछन् । आमा रुपाले सुनाएको एउटा घटना निकै रमाइलो छ ।

गतबर्ष द घोस्ट राइटरका अभिनेता इवन म्याग्रेगर युनिसेफको सद्भावना दूतको रुपमा नेपाल आएका थिए । उनी मोटरसाइकलबाटै बेलायतदेखि अस्ट्रेलियासम्मको ३५ हजार ९ सय ६० किलोमिटर यात्रा गरेका अभिनेता हुन् । खोपसम्बन्धी अभियानका क्रममा विहारबाट विराटनगर हुँदै काठमाडौ आएर नेपालगञ्ज, मुगु पुगेर त्यहाँकै एउटा विकट गाउँमा एक रात बसेका उनीबारे बिबिसीले एउटा वृत्तचित्र नै बनाएको थियो । रुपा भन्छिन्, ‘एकठाउँमा म स्वयं इवनसँग ठाडो उकालोमा उत्साहसाथ हिंडेको टिभीमा देखेर ऊ अचम्म परेकी रैछ ।’
..................

यसरी जन्मिएको मिस मोटी पात्र ‘मिस मोटी एण्ड कटन क्यान्डी’ र ‘मिस मोटी एण्ड दि बिग एप्पल’ शीर्षकमा पुस्तककार छ । त्यसबाहेक उनको कमिक्स छोटा कथाको संग्रह ‘मिस मोटी एण्ड हर सर्ट स्टोरिज’ केही महिनाअघि मात्र काठमाडौंमा सार्वजनिक भएको हो । 

Sunday, December 23, 2012

लक्की लेखक

‘ठूलो निधार हुने भाग्यमानी हुन्छन्’ भन्ने नेपाली आहान प्रज्ज्वल पराजुलीमा मेल खाएजस्तो छ । अक्सर मुण्डन तालुमा भेटिने पराजुलीको निधार कहाँसम्म छ, छुट्याउन सकिन्न । २७ बर्षे उमेरमा यी सिक्किमेली तन्नेरी ‘बुक वल्र्ड’मा भारत, नेपाल, भुटानदेखि लण्डनसम्म हट केक बनेका छन् । त्यो पनि नेपाली भाषीको कथा बोकेको आफ्नो छोटा कथाको संग्रह ‘द गुर्खाज डटर’ का कारण । गुर्खाज डटर उनको पहिलो कृति हो । र, त्यसअघि पनि उनी कुनै चल्तिका लेखन थिएनन् । यद्यपि उनको पहिलो काम नै प्रशिद्ध बेलायती प्रकाशक कोकर्स बुक्सले बजारमा ल्यायो, ‘पाँच अंके पाउण्ड स्टिर्लिङ’ प्रज्ज्वललाई बुझाएर । जसलाई भारतमा पेइङगुइन बुक्सले ल्याएको छ । कोकर्सले नै उनको उपन्यास ‘द ल्याण्ड ह्वेर आइ फ्ली’ अर्को बर्ष यसै समयमा निकाल्ने सम्झौता गरिसकेको छ, पुस्तक नहेरिकनै । उनको भाग्यलाई प्रट्स्याउन सायद यो भन्दा बढि भनिरहनु पर्दैन ।

सिक्किम, गान्तोकका यी लेखक पुस्तकको ‘लोकापर्ण भ्रमण’का क्रममा गतसाता काठमाडौंमा आउँदा एकसाझ नेपालसँग लाजिम्पाटस्थित बारिस्टा रेष्टुराँमा साटे । देशी/विदेशी सञ्चारमाध्यममा तारम्तार  प्रशंशासाथ छाउँदा जोकोहीमा उनीबारे एकखाले धारणा बन्न सक्छ, उनी त्यस्ता छैनन् । अघिल्लो दिन नेपाल–भारत पुस्तकालयमा पत्रकार नारायण वाग्लेसँग आफू र आफ्नो पुस्तकबारे बोलिरहंदा उनको व्यक्तित्वले धेरैको मन जितेको थियो । उनी केटाकेटीजस्तो मनमा जे छ ‘ड्याङडुङ’ बोलिहाल्छन् । बत्तिसपुतली, काठमाडौंमा मामाघर भएका कारण उनी सानो छंदा थुप्रैपटक काठमाडौं घुम्न आउँदाका सम्झना साटेका थिए । गान्तोकका यी तन्नेरीलाई त्यसबेला विशालबजारको हिंड्नेसिंढीले खुबै आकर्षित गर्दो रहेछ । “अहिले मबारे पत्रिकाले हावामा केके लेख्छन हो, म त्यत्तिसारो नि छैन”, पूर्वेली भाकामा उनले भने, “अझै पनि म आफूलाई पत्रिकाले भनेजस्तो लेखक ठान्दिन ।” त्यसो भए प्रश्न उठ्छ, के उनी ‘राइटर बाई लक’ हुन् त ? 

***
१३ बर्षे उमेरमा जतिखेर उनी कक्षा ९ मा पढ्थे, गान्तोकबाट साप्ताहिक रुपमा ‘द विकेन्ड रिभ्यु’ पत्रिका छापिन्थ्यो जसमा उनले स्तम्भ लेख्ने अवसर पाएका थिए । “जतिखेर लेख्दा निकै मज्जा आउँथ्यो”, प्रज्ज्वलले मुस्काउँदै भने, “अहिले ती पढ्दा भने लाज लाग्छ । ममात्रै जान्ने छु, पाठक सबै बुद्धु हुन् जसरी लेखिएका ।” गाङतोकबाट कक्षा १२ सकेपछि उनी अमेरिकाको ट्रुम्यान स्टेट युनिभर्सिटीमा मिडिया कम्युनिकेसन पढ्नका लागि हान्निए जसबिचमै उनी विश्वविद्यालयले सन् १९९६ यता प्रकाशन गरिराखेको स्वतन्त्र ट्राभल म्यागेजिन ‘डिटोर’को सम्पादक भए । सम्पादक हुनुमा समेत उनी आफ्नो भाग्यले बाजी मारेको मान्छन् किनकि  त्यसबर्ष अचम्म गरी उनका प्रतिद्वन्दी निकै कमजोर निस्किए । उनी सम्झन्छन्, “अर्को बर्ष पूर्व सम्पादकका हैसियतले म स्वयं छनौट मण्डलमा परेपछि आफैलाई कसरी छानिएछु भन्ने सोचेर अचम्म लाग्यो ।” डिटोरले मध्यपश्चिम अमेरिकाका मिजोरी, आयोवा र इलिनियस क्षेत्रका यात्रा कथा तथा फिचरहरु प्रकाशन गथ्र्यो ।

“जसको अर्थ म पहिल्यैदेखि सिरियस राइटर थिएँ भन्ने चाहीँ होइन नि”, उनी आफ्नो जटिल जीवनलाई साधारण तरिकामा भन्न खोज्दैछन्, “त्यत्ति हो कि म लेख्न सक्छु भन्ने चाहीं कताकता थियो ।” तुर्मानबाट स्नातक सकेर उनी न्यूयोर्क आए जहाँ उनी साप्ताहिक रुपमा प्रकाशित हुने न्यूयोर्कको पहिलो ट्याबलोइड ‘द भिलेज भ्वाइस’मा काम गरे, पत्रकारका रुपमा नभई एड्भटिजमेन्ट एक्जुकेटीभका रुपमा ।“पत्रकारिता मलाई सुहाउने काम होइन, भइहालेको भए म सबैभन्दा करप्ट पत्रकार हुन्थें होला”, उनी भन्छन्, “त्यसमाथि न्यूयोर्कमा पत्रकार भएर बाँच्नु गरिबीमा बाँच्नुझैं हो ।” भिलेज भ्वाइसमा दिनमा कम्तिमा ३ वटा अपोइन्टमेन्ट गर्नुपर्ने हुन्थ्यो । धेरैजसो, उनी त्यसका लागि भनेर कार्यालयबाट निस्कन्थे र दिनभर सिनेमाघर र पुस्तक पसलमा बिताउँथे । थप्छन्, “धन्न नतिजा नआउँदासम्म अफिसले केही सोध्दैनथ्यो ।” ३ बर्ष त्यसरी काम गरेपछि उनलाई दिक्क लागेछ र त्यो काम छाडे । उनी लन्डन र अफ्रिकी टापु सिचिलसमा केही महिना बिताएर भारत फर्किए । भारतमा, ट्रुम्यान पढ्दाको उनको साथी समेत भेटिए जोसँग विना योजना घुम्न निस्किए उनी । उनीहरु दिल्ली, गोवा, मुम्बई, कोलकाता, दार्जलिङ, गाङतोक, काठमाडौ, पोखरा हुँदै पुन आग्रामा पुगेर आफ्नो यात्रा छुङ्ग्याए । त्यसपछि साथी मोरक्कोतिर लाग्यो । उनी भने हिमाञ्चलको मनाली पुगे । गान्तोक फर्कंदा के–कसो गरिराखेको सोध्छन् भनेर उनी मनाली पुगेका थिए । “त्यहाँ एक हप्ताजति बिताउँदा मैले आफ्नो पहिलो कथा लेखें जुन कालिङपोङमा मुस्लिमबारेमा थियो”, उनी भन्छन्, “पछि घरै फर्किएँ र थप पाँचवटा कथा लेखें ।”

Monday, December 17, 2012

एउटा अग्लो नेपाली



सन् '८० को दशकतिरको प्रसंग हो। काठमाडौँको नामी सेन्ट जेभियर्स स्कुलमा केटीहरू पढ्न पाउँदैनथे। त्यसैले स्कुलमा हुने नाटकमा केटाले नै केटीको भूमिका निर्वाह गर्नुपथ्र्यो। त्यसका लागि शिक्षक र विद्यार्थी दुवैको छनोट हुने गर्थे, हाल अमेरकिा बसेर फेसनको दुनियाँमा धुम मच्चाइरहेका प्रबल गुरुङ। उनका त्यतिबेलाका शिक्षक देवेन्द्र खनाल सम्झन्छन्, "प्रबलले केटीको चरत्रि बुझेर त्यसलाई अभिनयमा उतार्थे।"

सेन्ट जेभियर्सको भित्तामा सबै पूर्वविद्यार्थीको जस्तै प्रबलको तस्बिर पनि सजिएको छ। अझ त्यसभन्दा बढी, त्यसबेला अन्तरमुखी र अधिकांश समय लाइब्रेरीमा बिताउने प्रबलले फेसनको राजधानी न्युयोर्कमा पाएको सफलताबाट उनका शिक्षक र सहपाठी आश्चर्यचकित छन्। नहोऊन् पनि किन, जेभियर्सबाट एलएलसी सिध्याएर फेसनमा करिअर बनाउन निस्किएका प्रबल त्यसको दुई दशकपछि अहिले न्युयोर्क फेसन नगरीमा राज गररिहेका छन्। र, त्यसो गररिहँदा उनमा स्कुलदेखिकै नारी भावना बुझ्ने गुण सहयोगी भएको देखिन्छ।

Friday, September 14, 2012

अद्वैता कहानी


उनले एमबीए पढिन् । भारतको ग्यान्ड अर्किड होटलमा गेस्ट रिलेसन अफिसरको काम गरिन् । तर ५ वर्षअघि जब उनको पहिलो उपन्यास 'अलमोस्ट सिंगल' निस्कियो, अद्भैता कलाको परिचय बदलिएको छ । उपन्यास प्रकाशित हुँदा २५ वर्ष मात्रकी उनको त्यो कृति हालसम्म १ लाख ५० हजार प्रति बिक्री भइसकेको छ । त्यसयता एकपछि अर्को गर्दै उनका जबर्जस्त प्रस्तुति देखियो बलिउड फिल्म 'अन्जाना अन्जानी' र 'कहानी' मा जसको उनी क्रमशः सह स्त्रिmप्ट लेखक तथा सहकथाकार हुन् । 'यी सब म आफैंका लागि पनि म को हुँ भन्ने उत्तर थियो,' हेलो शुक्रबारसँगको अनलाइन कुराकानीमा उनले सुनाइन्, 'एमबीए पढ्नु वा होटलमा काम गर्नुर्भन्दा नितान्त फरक ।' 

असोज ४ गतेदेखि हुन लागिरहेको 'एनसेल नेपाल लिटरेचर फेस्टिबल' का लागि काठमाडौं आउन लागेकी यी चर्चित भारतीय लेखिकाले यहाँ दुई फरक सत्रमा आफ्नो उपन्यास र उदाउँदो 'चिकलिट' लेखनबारे बोल्नेछिन् । बुबा भारतीय राजदूतावासको जागिरे छँदा दुई दशकअघिको ५ वर्ष काठमाडौंमा बिताएकी उनका लागि काठमाडौं बसाइ विगत सम्झने एउटा राम्रो अवसर पनि बन्दैछ । 'साँच्चिकै भन्दा म फेस्टिबलमा बोल्न लायक व्यक्ति नहुन पनि सक्छु । त्यसमाथि मलाई आफ्नो कामबारे अरूसँग बोल्न निकै अप्ठ्यारो लाग्छ,' उनले भनिन्, 'तर नेपाल र्फकने अवसरले गर्दा म नआइरहन सकिन । किनकि धेरै अर्थमा नेपाल मेरो घरजस्तै हो ।'
***
'अलमोस्ट सिंगल' खासमा उपन्यास लेख्छु भनेर लेखिएको थिएन । जब उनले आफ्नो करियरमा केही समय ब्रेक लिइन्, त्यसबेला उनले एउटी एक्ली महिलाले भारतीय परिवेशमा कतिसम्म सास्ती खेप्नुपर्छ भन्ने नजिकबाट बुझिन् । भन्छिन्, 'हाम्रो कुरौटे समाजको प्रतिबिम्ब हो यो ।' 
जसमा त्यसै भारतीय समाजभित्र नयाँ परिवेशकी आधुनिक एवं स्वतन्त्र महिलाको कथा छ । नयाँदिल्लीमा बस्ने एउटी २९ वर्षे अविवाहित युवती आइसा भाटिया पुरातन र आधुनिक संस्कृतिबीचमा अल्भिmन्छिन् । एकातर्फ चुरोट, रक्सीको लत बसालेकी, कुमारित्व गुमाइसकेकी उनी अर्कोतर्फ अझै ज्योतिष भविष्यवाणीमा विश्वास राख्ने, असल पतिका लागि कर्भाचौत्र व्रत बस्ने खालकी हुन्छिन् । उनका आँखा अगाडि प्रेम, डेटिङ र सम्बन्धबारे अनेकन नयाँ अभ्यास देखिन्छन् । आइसालाई आफ्नो काम, हाकिम केही मन पर्दैन । न उनी साडीमा सजिन रुचाउँछिन् न त दैनिक व्यायाम गर्न नै । उनलाई आफ्ना साथीहरूको संगत नै सबैभन्दा पि्रय लाग्छ, उनीहरूसँग खान/पिउन, घन्टौं गफ गरेर बिताउन । र, जब यी सब कुराबाट आइसा टाढा हुन्छिन् बल्ल उनलाई प्रेमीको आवश्यकता पर्छ । र, त्यसले उनमा सिर्जना गर्ने आन्तरिक द्वन्द्वको कथा झल्किन्छ जुन पछिल्लो पुस्ताका हरेक युवाले आफूसँग दाँज्न सक्छन् । 

धेरै समीक्षकले यसलाई चिकलिट लेखनको रूपमा अथ्र्याए । आधुनिक महिलालाई हलुका र मनोरञ्जनात्मक रूपमा प्रस्तुत गरिने 'चिकलिट' साहित्यमा एउटा पपुलर शैली पनि हो जो कुनै निश्चित समूह मात्रले भन्दा पनि सामान्य पाठकका लागिसमेत उत्तिकै रुचिकर बन्छ । सायद, चिकलिट शैलीको पनि एउटा सफल अभ्यास देखियो अलमोस्ट सिंगलमा जसले अन्ततः उनलाई भारतमा महिला लेखकमा 'गेम चेन्जर' कै रूपमा उनलाई उभ्यायो । 

Saturday, September 1, 2012

सालक तस्करी

→ २५ असारमा तातोपानी नाकाबाट प्रहरीले ५० किलो सालकको खपटासहित स्थानीय दिनेश रोकालाई  पक्राउ गर्‍यो। 
गत पुसमा काभ्रेको खोपासीमा बिक्री गर्न लाग्दा र बिर्तामोडबाट फिदिम ल्याउँदाका दुई छुट्टाछुट्टै घटनामा प्रहरीले जिउँदै सालक बरामद गर्‍यो। नुवाकोट, तीनपिप्लेमा ६ किलोको मृत सालक समातियो। 
नेपाल सालक तस्करीको केन्द्र बन्न थालेको स्पष्ट संकेत होयो । जिउँदै वा खपटा मात्र झिकेर सालकको तस्करी बढ्दै गएको छ। विदेशमा सालकलाई घर, रेस्टुराँ वा गार्डेनमा पाल्नका लागि जिउँदै तस्करी गरिन्छ भने मरेको सालकलाई रसायनयुक्त सिसामा राखेर सजाउने गरिन्छ । औँठी, मालाका साथै विभिन्न प्राचीन चिनियाँ औषधीका लागि समेत सालकका खपटा प्रयोग हुँदै आएका छन्। तर, यसले औषधीको काम गर्छ/गर्दैन भन्ने कुराको हालसम्म कुनै वैज्ञानिक पुष्टि भएको छैन। सालककै खपटाबाट बनाइएको ज्याकेट/ब्यागजस्ता सामग्री प्रयोग सम्भ्रान्त वर्गबीच प्रतिष्ठाको विषय मानिँदै आएको छ। 

चिनियाँ बजारमा अहिले सालकको खपटाको मूल्य प्रतिकिलो एक लाखको हाराहारीमा छ। यो स्थानीयलाई १० देखि ३५ हजारसम्म दिएर तस्करले लैजाने गरेका छन्। यसैगरी, जिउँदो सालकको मूल्य प्रतिकिलो सरदर २० हजारदेखि ८० हजार रुपियाँसम्म पर्छ। संखुवासभा र तेह्रथुम जिल्लामा तामाफोक, मूढे, शनिश्चरे, वसन्तपुर, चौकी, गुफा, मंगलबारेजस्ता ठाउँमा एक वर्षअघिसम्म दिनहुँजसो सालक बिक्री हुन्थे। तर, हिजोआज सालक कम भेटिने र दलालसमेत पहिलेजसरी आउन छाडेको स्थानीयको भनाइ छ। बरू अहिले काभ्रेको बल्थली, मकवानपुरको खैराङ र भक्तपुरजस्ता नयाँ ठाउँ उनीहरूको निसानामा पर्न थालेका छन्। हिमालय प्रकृतिकी संरक्षण अधिकृत प्रतिभा कसपाल भन्छिन्, "आफ्नो वासस्थानमा समस्या देखिनासाथ बसाइँ सरिहाल्ने हुँदा तस्करहरू एउटै समयमा एउटै ठाउँमा पूरा शक्ति लगाएर भिड्छन्।" त्यस्ता ठाउँमा उनीहरूले सालक पत्ता लगाउन कुकुरसमेत प्रयोग गरेको पाइएको छ। सालकको श्रवणशक्ति र दृष्टि निकै कमजोर हुन्छ। 

गत जेठ र असारमा ३० हेक्टर क्षेत्रफल भएको भक्तपुरको तौडोलछाप र आसपासका सामुदायिक वनमा सर्वेक्षण गर्दा सालकका थुप्रै दुला भेटिएका थिए। तर, नयाँभन्दा पुराना दुला बढी भेटिनाले त्यस क्षेत्रमा सालकको संख्या घटेको वा अतिक्रमणका कारण बसाइँ सरेको अनुमान गरिएको थियो। यी क्षेत्र र मकवानपुरको रानी सामुदायिक वन अहिले सालक संरक्षण क्षेत्रका रूपमा छन्। तर, तस्करीसमेत तिनै क्षेत्रमा उच्च छ। 

यसमा संलग्न गिरोहको अन्तर्राष्ट्रिय सञ्जाल हुन्छ र यहाँ खटिने दलालले चीनको सीमापारसिम्म वा सीमासम्म लगिदिने काम गर्छन्। पछिल्लो समय विदेशी नागरकि नै नेपाल नै आएर सालक लैजाने गरेको समेत भेटिएको छ। ८ जेठमा ४६ किलो खपटासहित चिनियाँ नागरकि याउ फुउ, जु जियाङ्बो, भारतीय नागरकि अमित जैन र सुनीलकुमार बर्मालाई पक्राउ गरिएको थियो। 
सालकको माग सबैभन्दा बढी पूर्वी र दक्षिणपूर्वी एसियामा छ। चीन र भियतनाम सबैभन्दा आकर्षक गन्तव्य हुन्। राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभागका महानिर्देशक कृष्णप्रसाद आचार्य भन्छन्, "सालकलाई छुट्टै संरक्षण गर्न सकिँदैन र आफ्नै वासस्थानमा समेत यसले तस्करहरूबाट जोखिम झेलिरहेकाले संरक्षणको छुट्टै रणनीति बनाउनु आवश्यक छ।" 

नेपालभित्रै पनि विभिन्न अन्धविश्वासका कारण सालक मार्ने वा यसका अंगको प्रयोग हुने काम भइरहेको छ। भूतप्रेतबाट जोगाउने नाममा सालकका खपटाका माला लगाउने, धूप बाल्नेजस्ता काममा प्रयोग भएका पाइन्छन्। यसको मासु खाँदा दीर्घरोग निको हुने विश्वास छ। सामान्यतः एउटा सालकको तौलमा २० प्रतिशत भाग खपटा हुन्छ। एउटा सात किलोको सालकबाट १.४ किलो खपटा निस्कन्छ। शरीर कडा भए पनि सालक लजालु, संवेदनशील र शान्त प्राणी हो। यसले मानिसलाई आक्रमण गर्दैन। संवेदनशील प्राणी भएकै कारण आफ्नो वासस्थानमा केही समस्या देखिनासाथ यसले बसाइँ सर्छ। "सालकको वासस्थानबारे स्थानीयलाई जति बाहिरबाट आउने तस्करलाई जानकारी हुनै सक्दैन," प्राणीशास्त्री प्रा कर्णबहादुर शाह भन्छन्, "स्थानीय सचेत हुन सके यसको तस्करी स्वतः न्यूनीकरण हुन्छ।" 

सरकारले बाघ, गैँडा, चितुवा, कस्तूरी, भालु र रेडपान्डासँगै सालकलाई पनि अति संकटग्रस्त सूचीमा राखेको छ। वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठ सालकका लागि नेपाल महत्त्वपूर्ण वासस्थानका रूपमा पाइँदासमेत पर्याप्त अध्ययन र संरक्षणको पहल नभएको बताउँछन्। भन्छन्, "नेपालका उप-उष्ण भेगमा सामुदायिक वनले पुनः हरियाली ल्याएसँगै सालकको संख्यासमेत बढी देखिन थालेको छ।" यसैबेला यसको व्यापारकि महत्त्वसमेत थाहा भएपछि पछिल्ला केही वर्षमा यसको तस्करीको क्रम बढेको हो। 

फिक्सन फन


टेस्ट परीक्षा भर्खर सकिएको थियो । एसएलसी सुरु हुनुअघिको डेढ-दुई महिने छुट्टीमा सहपाठीले पढाइको रफ्तारलाई सकेजति बढाएका थिए । तर अमर न्यौपानेको रफ्तार बढ्यो, उपन्यास लेख्नमा । 'एक महिनामा एउटै मोटो कापी भरेको थिएँ,' उनी सम्झन्छन्, 'त्यसमा उतिबेलाका फिल्मी प्रभाव थियो ।' 

त्यतिखेरै वसन्ती, सेतो बाघजस्ता उपन्यास पनि पढेका थिए उनले । महाभारत र स्वस्थानीको प्रभाव उनमा सानैदेखिको थियो । त्यसबेला सम्झँदा अमर आजकल एक्लै मुस्काउँछन् । अहिले उनी बजारका चर्चित कमै लेखकमा गनिन्छन् । बाल विवाहको पृष्ठभूमिमा हुर्केकी विधवाको कथामा बुनिएको उपन्यास 'सेतो धरती' प्रकाशनको तीन महिना नकट्दै दुई हजार प्रति बिक्री भइसकेको छ । 

आफ्नै हजुरआमा (बुवाकी माइजू) को कथा सेतो धरतीमा छ । त्यसमा कति उनले भोगेका त कति हजुरआमालाई देख्दा अनुमान गरेका छन् । 'उपन्यासका लागि मैले कुरा गर्न नपाउँदै उहाँ बित्नुभो,' अमर भन्छन्, 'उहाँले संन्यासी जीवन बिताउनुभएको देवघाटमा एक महिना बसेर हजुरआमाजस्ता थुप्रैको मन पढ्न खोजेको थिएँ ।' 

कुनै बेला डायमनशमशेरले जस्तो ऐतिहासिक एवं विश्वेश्वरप्रसाद कोइरालाजस्तो मनोवैज्ञानिक शैलीले खुबै तान्थ्यो उनलाई । पारिजात र गोविन्दबहादुर मल्लका समेत उस्तै फ्यान थिए अमर । भन्छन्, 'कुनै राम्रै कथाले समातेपछि शैली भन्ने अरूको प्रभावले भन्दा पनि कथा स्वयंले तय गर्दोरहेछ ।' 

यसअघि उनले 'पानीको घाम' प्रकाशित गरेका थिए । खण्डखण्डमा पढ्दा कथाजस्तो लाग्ने र पुस्तक सकिसक्दा उपन्यासजस्तो हुने यसलाई उनले हुँदा 'आख्यान' मात्र भने जसले २०६६ सालको पद्मश्री पुरस्कार पाएको थियो । नेपालगन्जका दलित बस्ती घसियारा, चिडिमारा, पथ्थरकट्टा, किन्जरियन, मगन्ताका कथाहरू संगृहीत छन् यसमा । 

Friday, August 17, 2012

निशानामा निमुखा

एक्लैको ज्याला मजदूरीले २ सन्तान र एक जड्याहा श्रीमान पाल्न धौधौ भइराखेका बेला बुटवल नगरपालिका १३ की शकुन्तला विक सामु कसैले कुवेत लगिदिने सपना बोकेर पुग्यो । सपना देखाउने दलालले उनलाई लगातार तीन हप्तासम्म पच्छ्याउँदै विभिन्न आश्वासन देखाएपछि अन्तत: उनी राजी भइन् । उक्त दलालले भन्ने गरेको शकुन्तला सम्झिन्छिन्, “यहाँ गर्ने दु:ख विदेशमा गर्‍यौ भने त तिम्ले तेब्बर बढि पैसा आरामले कमाउँछ्यौ ।” हुन पनि हो, उनले सोचिन्, “यहाँ बसेर नै के पो सुख छ र, त्यहाँ गए नर्क नै भएपनि यहाँभन्दा त बेसै होला ।” त्यस्तो विशेष सीप र शैक्षिक योग्यता केही नभएकी उनलाई मासिक २८ हजार तलब पाइने भन्दै कुवेत पुगिन् । तर कुवेत ‘यहाँभन्दा कठिन नर्क’ बन्यो शकुन्तलाका लागि । शरिरले थेग्नेभन्दा बढि काम र मालिकको यौनतृप्तीको शिकार बनिन् । अन्तत: काम गर्न नसक्ने भन्दै घर फिर्नुपर्‍यो ।

रूपन्देहीकै दयानगरकी माया शर्मा भने बुटवलका स्थानिय दलाल दीपेश क्षेत्रीमार्फत साउदी अरबको रियाद शहरमा २ बर्ष काम गरेता घर फर्कंदा रित्तो हात भइन् । सामान्य साक्षर मायाको तलब घर पठाइदिएको भन्दै घरमालिक आफैंले राखेपछि उनको यस्तो हविगत भएको हो । उनको तलब मासिक नेपाली झन्डै ३२ हजार रुपयाँ भनिएको थियो जसको मुखै हेर्न पाइनन् मायाले ।

शाकुन्तला र मायाको हविगत झेल्ने महिलाहरु अहिले थुप्रै छन् । वैदेशिक रोजगारलाई प्रयोग गरेर यसरी अनुचित फाइदा उठाउने दलालहरुको अहिले देशभर ठूलो सञ्जाल विस्तार छ । तर यसमा मध्यमवर्गिय व्यक्तिहरु विस्तारै सचेत हुन थालेपछि दलालहरुको निशाना आर्थिक र सामाजिक रुपले कमजोर अवस्थामा रहेका महिलाहरुमाथि पर्न थालेको छ । जसले उनीहरुको आर्थिक अवस्था सुधार्न त परै जाओस् झन् बढि मर्कामा पारेको छ । पैसा कमाउने आशामा विदेश पुगेका थुप्रैको फर्कंदा उल्टो ऋण चुलिएको छ । दलालहरु मोटाउँदै छन् भने महिलाहरु उनीहरुको निशानाका शिकार बनेका छन् ।

गरिबीमाथि खेलिराखेका दलालहरुका लागि अहिले महिलाको कोमलता र अज्ञानता सबैभन्दा बढि फाइदाकर बनेको छ । आफ्नो घरमा राम्ररी पालिन नसकेपछि घर झापाको दमकबाट मावली विर्तामोड पुगेकी रीता नेपाली, २३, उता झन् चर्को अभाव झेलिन् जसलाई देखिराखेकी स्थानिय दलाल सुधा राईले फाइदा उठाइन् । वैशालु उमेरमा अभावका थाक बोकर बाँचिराखीकी रीताको लागि सुधाले बाँडेको आश्वासनले सहजै काम गर्‍यो । रीता साउदी त पुगिन् तर अहिले उनी के गर्दैछिन् पत्तो नभएको डेढ बर्ष भइसक्यो । एक बर्षअघि भएको पछिल्लो फोनमा रीताले आमालाई भनेकी थिइन्, “म अपराधीको फन्दामा परें ।”

पराग 'गेम’

साउन ८ मा पराग पाठक, ३१, टर्कीको इस्तानबुलमा ‘गेम थेउरी’ माथि त्यहाँका विद्यार्थीमाझ विशेष कक्षा दिइराखेका थिए । रोचक भइराखेको उक्त कक्षामा त्यसबेला एउटा समाचारले प्रवेश पायो, ह्वाइटहाउसले उनलाई ‘प्रेसिडेन्सियल अर्ली करिअर अवार्ड’ दिने घोषणा गर्‍यो । अमेरिकी राष्ट्रपतिबाट प्रदान गरिने उक्त अवार्ड आफ्नो शुरुवाती अध्ययनकालका वैज्ञानिकलाई दिइने अमेरिकाको सबैभन्दा ठूलो अवार्ड हो । जसलगत्तै उनले अध्ययन गरेको हार्वड विश्वविद्यालय, प्राध्यापन गरिराखेको म्यासाच्युसेट इन्स्चिच्युट अफ टेक्नोलोजी  (एमआइटी) मा भव्य खुसीयाली मनाइयो । त्यसैबेला अमेरिकाभन्दा हजारौं माइल परको काठमाडौं डिल्लीबजारमा मनाइएको खुसीयाली समेत हार्वड र एमआईटीको भन्दा कमको थिएन । नेपालमा परागको थातथलो डिल्लीबजार हो जहाँ अझै उनका आफन्त बस्छन् ।

उनका बुवा चिकित्सक हुन् जो झण्डै चार दशकअघि जर्जटाउन युनिभर्सिटी हस्पिटलमा चिकित्सकको रुपमा अमेरिका गएका थिए । पछि उनी न्यूयोर्क सरे । पराग उतै जन्मिएका हुन् । सम्झन्छन्, ‘हामी त्यसबेला शहरमा चिनिएका दुईमध्ये एक नेपाली परिवार थियौं जहाँ कमैले नेपाल भनेको चिन्थे ।’ आप्रवासीका रुपमा नेपालीको साँघुरो परिचय बोकेरै भएता पनि परागको लागि अमेरिका एउटा स्वर्णभूमि भइदियो जहाँ उनले आफूलाई एक अब्बर दर्जाको नागरिक बनाउन सके जसको परिचय यतिखेर नेपाली वा अमेरिकीभन्दा धेरै माथि उठिसकेको छ ।
.........
हार्वडमा एप्लाइड गणितमा स्नातकोत्तर तथा त्यहींबाटै व्यापार अर्थशास्त्रमा पीएचडी गरेका उनले जुन सिद्धान्तमाथि अध्ययन गरेर अवार्ड हात पारे, त्यो एउटा पुरानो अन्तरक्रियात्मक निर्णय प्रक्रियाबारेको अध्ययन हो जसले एउटा काम गर्दा आउने हजारौं विकल्प बिचमा आफूलाई चाहिने के हो र त्यसलाई प्राप्त गर्ने तरिकाहरु केके हुन् भन्ने निक्यौल गर्छ ।

 ‘यो अन्तरक्रियात्मक कसरी पनि छ भने एउटाको निर्णयमा अरु व्यक्तिले के गरिराखेका छन् भन्नेले फरक पार्छ’, परागले हेलो शुक्रबारलाई भने, ‘यसलाई सामान्यिकरण गरेर हेर्दा हरेक सामाजिक अवस्थाको गेम सैद्धान्तिक संरचना बनेको हुन्छ ।’ सामान्य रुपमा बुझ्दा प्रतिस्पर्धाको समयमा व्यापारिले कसरी मूल्य तोक्छन्, व्यापारीसँग  सामान किन्दा बार्गेनिङ गर्ने सबैभन्दा राम्रो उपाय के हो भन्नेजस्ता ससाना कुरामा गेम थेउरीले काम गर्छ जसमध्ये हरेकको पछाडि गणितिय संरचनाले काम गरेको हुन्छ ।

छाँगारोहणका अग्रणी

    
अलिक लजालु स्वभाव र बोलीमा धिमा गति भए पनि कवीन्द्र लामा, ३३, भित्र एउटा विचित्र साहस छ। त्यही साहसलाई व्यावसायिक कर्ममा बदल्ने सिर्जनशीलता पनि। पानीका अग्ला छहरामा डोरी समातेर झर्दै खेलिने खेल क्यानोनिङ् अर्थात् छाँगारोहण उनले नै नेपाल भित्र्याएका हुन्। उनी त्यसकै व्यावसायिक उन्नतिका लागि युवाहरूलाई प्रशिक्षण दिँदै हिँड्दैनन् मात्र, छाँगारोहणका लागि उपयुक्त झरनाको खोजी पनि गर्छन्।


डेढ दशकअगाडि एसएलसी सकेर ट्रेकिङ् व्यवसायमा लागेका लामाले विदेशीसँग हिमचिमका क्रममा प|mेन्च नागरकि मोरसि दुसेनलाई भेटे। ६४ वर्षे दुसेन प|mान्समा क्यानोनिङ् अग्रणीमध्येका हुन्। त्यस्तै प्रकृतिका उद्धार कार्यमा समेत उनको विशेष दखल छ। उनी साहसिक कामका सोखिन थिए। सामान्यतः मानिसहरू नजाने पदयात्रा मार्गमा हिँड्न रुचाउने, हिमाल चढ्नेजस्ता काममा रमाउने दुसेनका लागि लामा गज्जबका गाइड निस्के। उनले जस्तो अप्ठ्यारो कामका लागि पनि नाइनास्ती गरेनन्। भन्छन्, "ऊ मबाट त्यसबेला सबैभन्दा बढी प्रभावित भएछ।"

त्यही कारण उनले त्यसबेलै प|mान्स जाने अवसर पाए। त्यहाँ उनलाई दुसेनले रक क्लाइम्बिङ्को झन्डै तीनमहिने तालिम दिए। त्यहाँका झरना हाम्राभन्दा फरक थिए, तलपट्ट िपोखरीजस्तो हुने, जसले गर्दा केही मिटर बिनाडोरी हाम फालेर पौडनुपथ्र्याे। सम्झन्छन्, "त्यसबेला मलाई पौडी खेल्नसमेत आउँदैनथ्यो।" दुसेनको उत्प्रेरणा र साथले उनलाई सबैभन्दा बढी आँट दिन्थ्यो। त्यसैबेला हुसेनले स्पेनसमेत लगेर उनलाई क्यानोनिङ् सिकाए। लामाको विचित्र आँट र कला देखेर हुसेनका साथीहरूले पछि इटालीसमेत लगे, जहाँ उनले हिमाल आरोहणको तालिम पाए।

कलेज 'बाउन्सर’

सुधीर नेपाल र प्रदीप बस्याल 

काठमाडौँ पिंगलास्थानस्थित पिरामिड इन्टरनेसनल कलेजमा विद्यार्थीलाई अनुशासनमा राख्ने जिम्मा हिक्मत थपलियाले पाएका छन् । कलेजका अनुशासन प्रमुख अर्थात् डीआई -डिसिप्लिन इन्चार्ज) हुन् उनी, त्यसैले अभिनेताले जस्तै अभिनय गररिहनुपर्छ। भन्छन्, "कलेजमा अनेकखाले विद्यार्थी हुन्छन्, जसलाई अनेक हर्कत गरेर अनुशासनमा राख्नुपर्छ।"

काठमाडौँका अधिकांश निजी कलेजमा अनुशासन अहिले हिक्मतजस्ता डीआईकै हातमा छ। झट्ट हेर्दा कलेजहरूले डीआई किन राखे होलान् भन्नेजस्तो लागे पनि केही निजी कलेज चहारयिो भने उनीहरूको महत्त्व राम्ररी बुझिन्छ। डीआईबिनाका निजी कलेज सरकारीझैँ लाग्छन्, जहाँ कुनै नियम हुँदैन, भए पनि त्यसको पालना गरँिदैन। "डीआई बातदेखि लातसम्म चलाउन सक्ने हुनुपर्छ," थपलिया भन्छन्, "नत्र विद्यार्थीले गन्न छाड्छन् र डीआई हुनुको अर्थ नै हराउँछ।" त्यसैले झट्ट हेर्दा कडा स्वभावको व्यक्तित्व भएका व्यक्ति नै यस्तो काममा खटिएका भेटिन्छन्। डीआईसँग अरू सीप र कौशल पनि चाहिन्छ। जस्तो : थपलियामा इँटा, खुकुरी र चेनसँग जुध्ने राम्रो कला छ, जसबारे विद्यार्थीलाई समेत राम्ररी थाहा छ। काठमाडौँ जिल्ला खेलकुद विकास समितिका अध्यक्षसमेत रहेका उनी थप्छन्, "अचेल लफडा गर्नमा विद्यार्थी निकै तल्लो हदसम्म उत्रिन्छन्, त्यसैले डीआई जस्तोसुकै अवस्थाका लागि तयार रहनुपर्छ।"

वर्नहार्ट कलेज, बल्खुका डीआई उज्जैन सिंहसँग अनुभव छ, विद्यार्थीलाई थोरै थर्काउँदा वा सम्झाउँदा कलेजमा त उनीहरू केही बोल्दैनन् तर कलेजबाहिर उनीहरू 'शेर' बन्न थाल्छन्। कसैले आफँै त कसैले अरूलाई लगाएर फोन र एसएमएसमार्फत धम्की दिइरहेका हुन्छन्। उनलाई आएको एउटा एसएमएसको बेहोरा यस्तो थियो, 'तपाईं विद्यार्थीमाथि हात नहाल्नुहोला, नत्र हात काटिन सक्छ।' त्यसैले कलेजका प्रायः डीआई त्यस्ता हुन्छन्, जसलाई देखेर उन्मत्त विद्यार्थीले समेत बदमासी गर्नुअघि दुईपटक सोचून्। कलेजमा हरेक विद्यार्थीलाई नजिकबाट चिन्ने भनेका डीआई नै हुन्। सायद उनीहरूलाई मात्रै कलेजका अधिकांशको नाम थाहा हुन्छ। उज्जैन थप्छन्, "उनीहरूका बानी-बेहोरा, हाजिरी र परीक्षाको नतिजाजस्ता चौतर्फी कोणबाट उनीहरूको मूल्यांकन हुन्छ।"

डीआई रूखो र कडा मात्र भएर पनि चल्दैन अचेल। कलेजमा त्यस्ता थुप्रै विद्यार्थी हुन्छन्, जो कहिल्यै बदमासी गर्दैनन्, साथीसँग पनि कम नै घुलमिल हुन्छन्। तर, परीक्षाको नतिजामा उनीहरूको प्रदर्शन न्यून देखिन्छ। त्यस्ता 'लो प्रोफाइल'मा बस्ने विद्यार्थी पनि थुप्रै अवस्थामा कुलतमा फस्नेजस्ता अनेकन् समस्याले जेलिएका हुन्छन्। सान इन्टरनेसनल कलेज, गैरीधाराकी डीआई सुलोचना श्रेष्ठ -मानन्धर) भन्छिन्, "त्यस्तालाई डर होइन, मायाको अस्त्रले बढी काम गर्छ।" त्यसैले उनी डीआई विद्यार्थीका लागि कलेज जीवनको सच्चा अभिभावक हुनुपर्ने ठान्छिन्।

सदावाहार सेकुवा

सेकुवा भन्नेबित्तिकै नेपालीहरूको मन यसरी रमाउँछ कि जिब्रो बेजोडले रसाउन थाल्छ। त्यसै त मासुका पारखी, त्यसमाथि अमिलो र पीरो। यस्तै अद्भुत स्वादका कारण सेकुवाप्रतिको आकर्षण स्वाभाविक छ। अहिले यो मौलिक नेपाली परकिार सडकपेटीदेखि सहरमा खुलेका अधिकांश रेस्टुराँ हुँदै ठूल्ठूला तारे होटलका मेनुमा समेत बिरलै छुट्छ। सुनसरी जिल्लाको तरहरा पुग्दा होस् या नेपालगन्ज, सेकुवाको स्वाद लिनकै लागि मानिसहरू सीमापारबिाटसम्म आएको पाउनुहुन्छ। काठमाडौँमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासको क्षेत्र सेकुवाकै लागि प्रसिद्ध छ।

नेपाली 'क्लासिक' परिकारका रूपमा प्रसिद्धि कमाएको सेकुवाको 'टिपिकल' स्वादमा थुप्रै पारखीले आफूलाई अभ्यस्त बनाएका छन्। एकैछिन काठमाडौँको सिनामंगल चोकैमा रहेको किशोरकुमारको सेकुवा पसलमा पुग्ने हो भने पनि त्यसको राम्रै झल्को मिल्छ, जहाँ एउटा अस्थायी छाप्रोजस्तो लाग्ने टिनले बारेको पसलमा उनको व्यवसाय छ, जसमा दिउँसोको १ बजेदेखि साँझ नछिप्पिँदासम्म सास फेरनिसक्नुको भीड लाग्छ। तर, त्यहाँ कुनै झकिझकाउ सेफले गोप्य कोठाभित्र सेकुवा तयार पार्दैनन्। त्यहीँको एउटा कुनामा सबैले देख्ने गरी आगोको रापमा सेकुवा तयार भइरहेको हुन्छ। पारखीहरू पत्रिकाका टुक्रामा सेकुवा राखेर त्यत्तिकै वा पेयसँग खाइरहेका हुन्छन्। व्यवसायीहरू भन्छन्, "यो क्लासिक तरिकाले पकाइन्छ र मानिसहरू पनि क्लासिक तरकिाले नै खान रुचाउँछन्।"

झीर (फलामको सुइरो)मा उनेर सीधै आगोमा सेकेर पकाइने यो मसलादार परकिार 'क्लासिक' स्वादबाट धेरै फराकिलो तहमा पुगिसकेको छ। सहरका हरेकजसो रेस्टुराँले त्यसमा केही परविर्तन गर्दै आफ्नो मौलिक स्वाद विकसित गरेका छन्। त्यसैले पछिल्लो दशकमा यो परिकारभित्र पनि थुप्रै हाँगाबिँगा बनेका छन्। पकाउने र खाने शैलीमा उत्तिकै परविर्तन आएको छ। नयाँ बानेश्वरको डुक्पा रेस्टुराँमा पाइने 'डोटेली सेकुवा' कुखुराको मासुबाट बनेको त्यस्तैमध्येको एउटा विशेष सेकुवा हो, जसमा मौलिक स्वादभन्दा फरकपन दिन खोजिएको छ। मासुलाई पहिले टुक्राएर कराईमा तारेपछि मात्र अन्तिममा त्यसलाई कोइलामा सेकिन्छ, जसले सेकुवालाई 'जुसी' बनाएको छ। झन्डै साढे तीन दशकभन्दा बढी समयदेखि सेकुवा व्यवसायमा लागेका दीनानाथ भण्डारी, ६५, अर्थात् बाजेको सेकुवाका 'बाजे'जस्ता पछिल्ला समयका व्यवसायीहरूले सेकुवामा आफ्नै खाले शैली विकसित गरेका छन्।