Showing posts with label Features. Show all posts
Showing posts with label Features. Show all posts

Tuesday, December 10, 2013

साइन्स सीटीको रमाइलो

चन्द्रमामा पुगिएला वा नपुगिएला, विशाल समुद्रमाथि पानी जहाज चढिएला वा नचढिएला । यो विशाल पृथ्वी र त्योभन्दा कयौँ गुणा ठूलो सौर्यमण्डलका थुप्रै रोचक कुराहरू किताबमा पढिन्छ मात्र । धेरै पढेका कुरा नदेखेसम्म थोरै मात्र दिमागमा घुस्छन् । त्यसो भन्दैमा फेरि सबै कुरा देख्न पनि त सकिँदैन । र, अर्को कुरा के पनि हो भने हरेक कुराका पछाडि केही न केही विज्ञान लुकेकै हुन्छ । भारत सरकारले त्यही भएर कोलकातामा साइन्स सीटी भनेर एउटा सानो सहर नै बनाएको छ । जहाँ छिरेपछि जता गए पनि, जता हेरे पनि हाम्रो मनमा उब्जने ठुल्ठूला जिज्ञासाहरूको उत्तर पाइन्छ । साइन्स सीटी दक्षिण एसियाकै सबैभन्दा ठूलो हो ।

हामीले पढ्ने चाहे ती न्युटनका गतिसम्बन्धी नियम हुन् वा ऐनाले कसरी काम गर्छ भन्नेजस्ता थुप्रै कुराहरू जान्न सीटीको एउटा कुनामा चक्कर लगाए पुग्छ । हामी बसिरहेको पृथ्वी कस्तो होला भन्ने जान्न मन लाग्यो भने त्यहाँ 'अर्थ एक्सप्लोरेसन हल' पुग्नुपर्छ । त्यहाँ पृथ्वीको एउटा ठूलो ग्लोब छ । ग्लोब यति ठूलो छ कि पृथ्वीको उत्तरी ध्रुव हेर्न मन लागे एक तलामाथि नै चढ्नुपर्छ दक्षिणी धु्रव हेर्ने भए भुइँतलाबाट । ठूलो ग्लोब भएकाले विभिन्न ठाउँका विशेषताहरू धेरै त त्यसमै देखिन्छन् । कुन भागमा कस्ता मान्छे वा जनावर बस्छन्, उब्जाउ कता के हुन्छ, कुन ठाउँमा कस्तो मौसम हुन्छजस्ता थुप्रै अरू जान्न मन लागे त्यससँगै छेउमा हुने कम्प्युटरको सहायता लिनुपर्छ ।

साइन्स सीटीमा छुट्टाउनै नहुने अर्को ठाउँ हो 'इभोलुसन पार्क' । त्यो त्यस्तो पार्क हो जहाँ मानिस, जनावर र वनस्पतिको उत्पत्ति र विकास कसरी भयो भन्ने थाहा हुन्छ । त्यहाँ २६ वटा त डाइनोसर मात्र छन् । तर डराउनु पर्दैन, साँच्चिकै डाइनोसर त पृथ्वीबाट लोप भइसक्यो । बरु डाइनोसरको मुखबाटै छिरेर उसको शरीरभित्र हेर्न मिल्छ । डाइनोसर निकै ठूलो आकारको हुने हुँदा उनीहरूको विभिन्न अंगको आड लिएर लुकामारी समेत खेल्न मिल्छ । त्यसबाहेक त्यहाँ हामीले नामै पनि राम्रोसँग नसुनेका तर थुप्रै वर्षअघि पृथ्वीमा रहेका डाइनोसरजस्ता ७१ वटा जनावर छन् । कति त रोबटको सहायताले बनाइएका हुँदा हिँड्छन् पनि ।

Thursday, November 28, 2013

ब्लुजमाण्डु

१९औं शताब्दीको अन्त्यतिर अमेरिकाका अफ्रिकी–अमेरिकी समुदायबाट जन्मेको ब्लुज संगीतले यो साता काठमाडौंमा माहोल जमायो । पश्चिमा संगीत ब्लुजमा नेपाली रंग पनि मिसियो । ४ दिने ‘हिमालयन ब्लुज फेस्टिभल २०१३’ को दोस्रो दिन आइतबार नेपाली सितारवाधक विजय वैद्य र बाँसुरीबाधक गोपाल देवले अमेरिकी गायिका डेव ल्यान्डोल्ट र संगीतकार कोलिन जोनको गीतमा संगीत मिसाउँदा दर्शकहरुको खुसीको सिमा नै रहेन ।

आफ्नो प्रस्तुति सकेपछि पाटन म्युजियममा ल्यान्डोल्टले हेलो शुक्रबारलाई भनिन्, “यस्तो उत्कृष्ठ ज्यामअप नै मेरो नेपाल भ्रमणको सबैभन्दा अविश्मरणिय अनुभव रह्यो ।” खासमा उक्त ज्यामअप कुनै पूर्वतयारी साथ पनि भएको थिएन । वैद्य र देवले उनीहरुको गीतको लय सुनेरै त्यसमा आफ्नो संगीत भरेका थिए ।

फेस्टिभलको सातौं संस्करणमा नेपाली व्याण्डहरु ‘मुक्ति एण्ड रिभाइभल,’ ‘रविन एण्ड द न्यु रिभोलुसन’ र ‘हट फाइभ’ सँगै अमेरिकी ‘लङ टल डेव एण्ड कोलिन जोन’, फ्रान्सेली ‘फ्रेन्च काउव्वाय एण्ड द वान’ र इटाली ‘मिस्टर नो मनी’ व्याण्डहरु सहभागि थिए ।

ब्लुज र सोल संगीत जगतमा एउटा पावरहाउसकै रुपमा हेरिने ल्यान्डोल्टले यसपटक धेरैलाई आकर्षित गरिन् । उनको गीतको  शब्द, गाउने शैलीले धेरैलाई अन्यत्रझै यहाँ पनि तान्यो । उनी नाटकिय शैलीमा गाउँछिन् र एउटै प्रस्तुतिमा थुप्रैखाले भाव ल्याउँछिन् । भारत र नेपालको लागि उनीसँगै टुरमा हिंडेका अर्का अद्वितीय संगीतकार कोलिन जोन पनि उनीसँगै भएपछि केमेस्ट्री झनै जमेको थियो । जोन अक्वेस्टिक, रिसोन्टोर र इलेक्ट्रिक गीतारमा उत्तिकै पोख्त मात्र छैनन्, ब्लुजको एउटा पुरानो शैली ‘डेल्टा ब्लुज’देखि आधुनिक ब्लुजसम्ममा जम्छन् । उनी गाउँछन् पनि । जोनले  काठमाडौं बसाइकै क्रममा नेपाल म्युजिक सेन्टरमा ब्लुजका थुप्रै पक्षबाट स्थानिय युवालाई एक कार्यशाला पनि दिएका थिए ।

गायक तथा संगीतकारहरु खासमा ब्लुजलाई हरेक संगितको जग मान्छन् । रक एण्ड रोल, हेभि मेटल वा रक जेसुकै होस् ब्लुज सिकेपछि अन्यमा जान सके त्यो संगीत यात्रा बलियो जगमा स्थापित हुने मानिन्छ । नेपाली ब्लुजका एकजना पुराना हस्ती ‘मुक्ति एण्ड रिभाइभल’का फ्रन्टम्यान मुक्ति शाक्यको भनाई छ, “संगीत हार्मोनियमबाट सिकेजस्तै हो गायन ब्लुजबाट सिक्ने ।”

त्यसैले पनि ब्लुज गाउनेहरु ब्लुज मात्र गाउँदैनन् बरु त्यससँगै संगीतका थुप्रै विधासँग यसलाई जोड्दै पनि जान्छन् । जस्तो, काठमाण्डौं आएको फ्रान्सेली ब्याण्ड ‘फ्रेन्च काउब्वाय एण्ड द वान’ रक र ब्लुजको मिश्रण गरेर गाउनेमा पर्छ जसकै कारण उसलाई रुचाउने पारखीहरु धेरै नयाँ पुस्ताका छन् । इटालीको ‘मिस्टर नो मनी’ भने रक एण्ड रोल शैलीको ब्लुजका कारण बढि लोकप्रिय मानिन्छन् । उनीहरुको अर्को विशेषता भनेको पियानो मुख्य बाजाको रुपमा प्रयोग हुने ‘पियानो ब्लुज’मा जम्न सक्नु पनि थियो ।

Monday, October 28, 2013

भीम स्टाइल


धनकुटे भीम निरौला, ४८, लाई २ कात्तिकसम्म आफैँले काम गर्ने लन्डनको सन्टन्डर बैंकभित्रै निकै कमले चिन्थे। त्यसपछिका केही घन्टा उनका लागि यति महत्त्वपूर्ण भइदिए कि निरौला सेलिबि्रटी बनेका छन्। उनको नेपाली शैलीको अंग्रेजी गीत 'सन्डे मर्निङ् लभ यु' इन्टरनेट दुनियाँमा रातारात फैलिरहेको छ। 

७ कात्तिक साँझसम्म भिडियो साझेदार साइट युट्युबमा उनलाई झन्डै तीन लाखले हेरिसकेका  छन्। चुलिँदो चर्चा र प्रसिद्धिलाई धेरैले भारतीय 'कोलाबेरी डी' र कोरयिन 'गङनम स्टाइल'सँग तुलना गरेका छन्। यिनमा के समानता छ भने चल्तीको कुनै शैलीमा नबाँधिएको, केही उटपट्याङजस्तो तर दोहोर्‍याई-तेहेर्‍याई सुन्न मन लाग्ने।

इन्टरनेट दुनियाँमा मुख्यतः दुईवटा कुरा बढी बिक्छन्, कि अति नै स्तरीय, कि अति नै सामान्य। उनको हकमा भने सामान्य हुनुले काम गरेको छ। मुख्यतः अंग्रेजी शब्द उच्चारण र नाचको मौलिक शैली। तर, उनी संगीत नै नबुझेका व्यक्ति भने होइनन्। २०४४ सालमै रेडियो नेपालको स्वरपरीक्षा पास गरेका उनले त्यतिबेलै दुई आधुनिक गीत रेकर्ड गराएका रहेछन्। 

पछिल्लो एक दशकमा मात्रै उनले म्युजिक भिडियोका दुई एल्बम क्रियसन र प्रत्येक रात निकालेका छन्। अहिलेसम्म जम्माजम्मी पाँच दर्जनजति गीत गाएका छन् उनले। "ती हिट हुन सकेका थिएनन् तर मैले गाउन चटक्कै छाडेको पनि थिइनँ," उनी सुनाउँछन्, "आठ वर्षअघिदेखि लन्डनमा बस्न थालेपछि भने नेपाल र यता दुवैतर्फका व्यक्तिलाई लक्षित गर्दै केही गर्ने सोचिरहेको थिएँ।" 

त्यसै क्रममा उनले अंग्रेजी एल्बमका लागि चारवटा गीतमा अभ्यास गररिहेका छन्। एल्बमको नाम सन्डे मर्निङ् लभ यु हुनेछ। दुई गीत रेकर्ड भइसकेका छन्। भन्छन्, "यो गीतले यति धेरै तहल्का पिट्ला भन्ने सोचेको थिइनँ।" 

भिडियो निर्माणका लागि उनले लन्डनकै लाइट इन्जिन फिल्म कम्पनीलाई इमेल गरेका रहेछन्। तर, कम्पनीले सुरुमा कसरी गर्ने भन्ने नै ठम्याउन सकेनछ। निरौला निर्देशक रोजर बाल्गले भनेको सम्झन्छन्, "तिमीलाई जे मन लाग्छ गर अनि मलाई जे मन लाग्छ, त्यही गर्छु।" 

धेरै महत्त्वाकांक्षा नभएकाले उनले नाइँनास्ति गरेनन्। स्टुडियोभित्र हरयिो पर्दाअगाडि उनी आफ्नै तालले गाउँदै नाचे। कम्पनीले मोडल खोज्यो, निरौलाको शैलीसँग मिल्ने गरी नचायो। र, भिडियो तयार भयो। रेकर्डिङ् र भिडियोका लागि उनले २ हजार ३ सय पाउन्ड खर्चेका छन्। 

भिडियोमा देखिएकी मोडल केट्ई कोउचुकलाई त उनले अहिलेसम्म भेटेका छैनन्। भिडियो हिट नहुँदासम्म उनको नामै थाहा रहेनछ निरौलालाई। भन्छन्, "अरूले खोजीनिती गर्न थालेपछि मात्र निर्देशकसँग नाम सोधेँ।" उनले युट्युबमा हिट एक लाख पुग्न थालेपछि ट्वीटर एकाउन्ट पनि खोलेका छन्। 

भिडियो २६ असोजमै युट्युबमा राखिएको भए पनि त्यसले झन्डै एक हप्ता खासै दर्शक पाएन। त्यसबीच उनले थुप्रै देशी-विदेशी सेलिबि्रटीलाई आफ्नो पेजमा गीतको लिंक राखिदिन आग्रह गर्दै मेसेज पठाए। यद्यपि, एकै दिन धेरैलाई छुट्टाछुट्टै सन्देश पठाउन नमिल्ने फेसबुकको नियमका पछाडि त्यसले धेरै काम गरेन। 

Monday, September 23, 2013

र्‍यापमा दोहोरी #rawbarz

तीन महिनाअघि झम्सीखेल, ललितपुरको पेरीपेरी रेस्टुराँमा आयोजित र्‍याप ब्याटलमा मुस्किलले सय जनाजति थिए दर्शक। त्यहाँ ब्याटल गरेकामध्ये थिए, उत्साह जोशी उर्फ युनिक पोयट र आशिष राना उर्फ लाहुरे। उनीहरूको त्यही र्‍याप ब्याटल अहिले युट्युबमा चर्चाको शिखरमा छ। ८ लाख २५ हजारभन्दा बढीले यो प्रस्तुति हेरसिकेका छन्। युट्युबमा त्यति धेरै संख्याले हेरेका नेपाली भिडियो औँलामा गन्न मिल्ने छन्। 

र्‍याप ब्याटल दोहोरीजस्तै हो, जुन र्‍यापमा गरिन्छ। उनीहरू एकअर्काको कमजोरी र सबल पक्ष खोज्दै त्यसमाथि शब्द प्रहार गर्छन्। अझ र्‍याप संगीतमा यसको विशेष स्थान छ। भनिन्छ, 'राम्रो र्‍याप गर्न ब्याटलमा पोख्त हुनैपर्छ।' नेपालमा भने र्‍याप राम्रैसँग लोकपि्रय भइसकेपछि बल्ल ब्याटल संस्कृति मौलाउन थालेको हो। 

झन्डै दुई वर्षअघि नेपालको पहिलो ब्याटल लिग 'र बार्ज' सुरु भएको थियो। त्यतिखेर र्‍याप संगीतमा जमेका केहीले आपसी रमाइलोका लागि मात्र ब्याटल गरेका थिए। ब्याटलको दोस्रो सिजनयता जब ती ब्याटलका भिडियो युट्युबमा राख्न थालिए, नेपाली ब्याटलसमेत लोकपि्रय हुन धेरै समय लागेन। सन् २०११ मा सुरु गर्दा ब्याटल गर्न मुस्किलले एक दर्जन र्‍यापर जुटेको 'र बार्ज' चलाइरहेको एक्सक्लुसिभ इन्टरटेनमेन्टका संस्थापक कोलिनविक्रम राणा बताउँछन्। भन्छन्, "अहिले राम्रोसँग ब्याटल गर्न सक्ने मात्रै ५० जनाभन्दा बढी छन्। रहर गर्ने र सिकिरहेका उत्तिकै छन्।" र्‍याप संगीतको स्वभाव नै प्रेम, सद्भावभन्दा पनि आक्रोश र विरोधमा बढी रुमलिन्छ। त्यसमाथि ब्याटलमा विपक्षीलाई कमजोर पार्न उसलाई गिज्याउनेदेखि होच्याउनेसम्मका शब्दहरू प्रयोग हुन्छन्। त्यसैले र्‍यापरहरू आफ्ना विपक्षीमा खोट खोजिरहेका हुन्छन्। र, विपक्षीका नजरबाट पनि आफ्ना कमजोरी हेर्दै त्यसका लागि प्रतिरक्षात्मक पंक्तिसहित तयार हुन्छन्। "धेरै त आपसमा साथी-साथी भएकाले एकअर्काका बानी-बेहोरा र लवाइ-खुवाइ नजिकबाट जानेका हुन्छन्," र बार्जको अवधारणा ल्याउनेमध्येका एक र्‍यापर अनिल अधिकारी उर्फ यमबुद्ध भन्छन्, "पहिलोपल्ट भिड्न लागेकाहरू भने त्यसका लागि विपक्षीका सोसल मिडिया प्रोफाइलदेखि उसका गीतलाई ३६० डिग्रीमा केलाउँछन्।" जस्तो: अहिले चलिरहेको सिजनमा साम्योन कार्की र प्रेक्षा बज्राचार्य उर्फ परीले ब्याटल गरेका थिए। उनीहरूको चिनाजानी र भेटघाट त्यसअघि थिएन। दुवैले एकअर्काका फेसबुक हेरेर ब्याटलका लागि पंक्तिहरू सोचे। फेसबुक हेरेर परीले साम्योनका कमजोरी आफूभन्दा होची र मोटी हुनु भेटाइन्। साम्योन पनि के कम ! परीलाई देख्नेबित्तिकै उसले आफ्नो उचाइ र मोटाइमा प्रहार गर्न सक्ने ठम्याइहालिन्। 

Sunday, September 22, 2013

आँखैअघि हिमाल


पशुपति एकेडेमीमा कक्षा-३ मा पढ्छन्, दीपेन्द्र डाँगी । उनलाई गएको आइतबार स्कुलमा साथीहरूले घेरा हालेर सोधे, 'तिमीले चढेको प्लेन कस्तो थियो ?' डाँगीले आकाशतिर हेर्दै साथीहरूलाई भने, 'एक्कैछिन पख ल, आकाशमा आउँछ अनि देखाउँछु ।' ठ्याक्कै त्यही भए पनि नभए पनि उनले एक दिन अगाडि आफू चढेझैं लाग्ने जहाज देखाए साथीहरूलाई । उनले सुनाए, 'हामीले यहाँबाट देख्ने प्लेन मात्र सानो हो, चढ्न जाँदा त क्या ठूलो हुँदो रै'छ ।' उनको कुरा सुनेपछि त्यसअघि हवाई जहाज नचढेका थुप्रैले अचम्म माने । 

दीपेन्द्र काठमाडौंको बाल मन्दिरमा बस्छन् । त्यहाँ उनीजस्ता एक सय ५० जना बालबालिका बस्छन् । कोही बाबुआमा दुवै गुमाएका त कोही आमाबुवामध्ये कसैले अर्को विवाह गरेपछि अलपत्र भएका छन् । शारीरिक-मानसिक समस्या झेलिरहँदा वा आमाबुवा जेलभित्र हुँदा  स्याहार गर्ने कोही नभएपछि एक्लो भएका पनि छन् बाल मन्दिरमा । प्लेनमा उडाउने भनेपछि कसलाई, उडाउने कसलाई नउडाउने छान्न निकै हम्मेहम्मे परेको बाल मन्दिरका उपनिर्देशक बालकृष्ण डंगोल बताउँछन् । 

१८ जना लैजान मिल्नेमा उनीहरूले आधा छात्र, आधा छात्रा छाने ।  बोल्न र सुन्न दुवै नसक्ने कविता गुरुङ एवं मानसिक विकास राम्रोसँग नभएकी आशा क्षेत्रीलाई छुटाउनै नहुने ठाने । बौद्धिक विकास राम्रोसँग नभएका दिदी-बहिनी अनिता दाहाल र संगीता दाहालले पनि हवाई जहाज चढ्न पाए । प्लेन चढ्दा उनीहरू यति खुसी भएछन् कि अरू साथीहरूले उनीहरू त्यति धेरै रमाएको यसअघि देखेकै रहेनछन् । 

भाद्र २९ अर्थात् बाल दिवसको अवसर पारेर उनीहरूलाई यति एयरलाइन्सले माउन्टेन फ्लाइटमा लगेको थियो । माउन्टेन फ्लाइट हवाई जहाजबाटै हिमालहरू नजिकबाट चियाउने अवसर हो । अनिताले भनिन्, 'झन् त्यसमाथि प्लेनमा एयर होस्टेस दिदीले कलर ब्याग र टि-सर्ट पनि दिनुभयो ।' 

प्लेनबाट तल हेर्दा घर र गाडीहरू कस्ता देखिन्छन् भन्ने जान्न धेरै रहर लागेको थियो रे पूजा महरालाई । उनले भनिन्, 'प्लेन उड्न थालेपछि घरहरू त कस्तो सानो सानो देखिन थाले । पछि त केही पनि देखिएन ।' सबैलाई चकित पारेको कुरा त बादलभन्दा माथि प्लेन उडेको देखेर रे । कक्षा ३ मा पढ्ने वसन्त नेपालीले कोपिलालाई भने, 'बादल कत्ति धेरै माथि छ भन्ने लाग्थ्यो, प्लेन त त्योभन्दा नि माथि पुग्दो रै'छ ।' जब प्लेन हिमालको नजिक पुग्यो एयर होस्टेस अस्मिता अग्रवालले पालैपालो हिमालको नाम भन्दै चिनाइन् । उनीहरूसँगै हास्यकलाकार हरिवंश आचार्य पनि थिए । त्यतिधेरै नजिकबाट हिमाल देख्दा धेरैलाई त त्यहीं झरेर हिमाल चढ्न मन लागेछ । उनीहरू पालैपालो पाइलट बस्ने ठाउँ 'ककपिट' पनि छिरे । पूजा भन्छिन्, 'म त गाडीमा जस्तो घुमाउने ह्यान्डिल हुन्छ भने सोचेको त ककपिटमा त कति धेरै बटन चिथ्ने कुराहरू मात्र हुँदो रहेछ ।' 

Wednesday, September 4, 2013

सोसल मिडिया सेलिब्रिटी

जब मोडल शिवानी सिंह थारूले नेपाल टेलिभिजनको पर्दामा आउने चर्चित कार्यक्रम 'मेरो गीत मेरो सन्देश' छाडिन्, तब उनलाई धेरैले बिर्सन थालिसकेका थिए। तर, झन्डै एक दशकपछि सहरमा उनको चर्चा पुनः चुलिएको छ, सोसल मिडियाकर्मीको अवतारमा। नौं महिनाअघि त्रिभुवन विमानस्थल अध्यागमन एकाइका कर्मचारीकै मिलेमतोमा बलात्कारको सिकार बनेकी सीता राईबारे समाचार पढ्नासाथ उनलाई अचानक यति रसि उठेछ कि माइक्रोब्लगिङ् साइट ट्वीटरमा तत्कालै दुई हरफको प्रतिक्रिया लेखिन्, जुन यस्तो थियो, 'लथालिंग देशका भताभुंग प्रधानमन्त्रीसित के सुरक्षा मगाई भयो ? बलात्कारीको लिंग काट्ने महिला स्क्वाड बनाउन पाए बरू राहत हुन्थ्यो।'
'ग्ल्यामरस' पृष्ठभूमिबाट आएकी उनको यो ट्वीटलाई लिएर सोसल मिडिया त मज्जैसँग तात्यो नै, मूलधारका पत्रपत्रिकाले पनि त्यसलाई आफ्नो खुराक बनाए। उनी सम्झन्छिन्, "कसैले मेरो मोडलिङ् पृष्ठभूमिसँग जोड्दै उसको ध्यान नै लिंगमा गयो भनेर उडाए भने अर्काथरीले त्यति धेरै आक्रामक नहुन सुझाए।" शिवानीले ट्वीट गर्नुअघि त्यसको प्रभाव त्यतिधेरै होला भन्ने कत्ति सोचेकी थिइनन्। उनलाई लाग्छ, यसअघि ग्ल्यामर पृष्ठभूमिसँग जोडेर धेरैले उनलाई कोमल हृदय भएकी 'स्विट गर्ल' मात्र सोच्थे तर त्यसलाई सोसल मिडियाले बदलिदिएको छ। भन्छिन्, "म वास्तविक जीवनमा यस्तै स्वभावकी हुँ, जुन सोसल मिडियाका कारण मानिसले बल्ल बुझिरहेका छन्।" तर, ट्वीटरमा आएदेखि उनले एउटा नयाँ तथ्य बुझेकी छन्। भन्छिन्, "महिलाका विचारमा केही बहस हुन थाल्यो भने मानिसहरू उसका व्यक्तिगत जीवनसँग जोडेर आक्रमण गर्छन्, जुन पुरुषहरूको हकमा त्यति धेरै हुँदैन।" 

शिवानीका धेरैजसो ट्वीट राजनीतिक र सामाजिक कुरीतिसँग जोडिएका हुन्छन्, त्यसमा 'ह्युमर' (हास्य) भन्दा पनि आक्रोश, असन्तुष्टि र विरोधभाव बढी देखिन्छ। उनको बुझाइ छ, "समाज र व्यवस्थाप्रति मानिसमा धेरै आक्रोश छ। कसैले त्यो विषय उठाइदेओस् र ताली पिट्न पाइयोस् भन्ने सोच्छन् उनीहरू।" सायद त्यसैले पनि हो, धेरै नसोची लेखिएका ट्वीटले बढी प्रतिक्रिया पाइरहेका हुन्छन्। सकारात्मक कुरा उठान गरिएका विषय भने त्यति धेरै बहसमा नआउने उनको अनुभव छ। आगामी वर्ष उपन्यास निकाल्ने गृहकार्यमा रहेकी उनी ट्वीटरमा आएपछि लेख्ने कलाको पनि विकास भएको अनुभव सुनाउँछिन्। भन्छिन्, "गणितीय रूपमा शब्दलाई खेलाउन ट्वीटरबाट सिकिरहेकी छु।"

सोसल मिडियामा के लोकपि्रय बन्छ भन्ने कुरा व्यक्तिको शैली, समूहदेखि लिएर कुन सन्दर्भमा कस्ता विषयको उठान गरिएको छ भन्ने कुराले समेत अर्थ राख्छ। जस्तो: पत्रकार लेनिन बन्जाडेले उद्योगपति विनोद चौधरीलाई अमेरिकी म्यागेजिन फोब्र्सले डलर अर्बपतिको सूचीमा पारेको सन्दर्भमा अरब मुलुकहरूमा पसिना बगाउने नेपालीसँग जोडेर ट्वीटेका थिए, 'नेपालमा एउटा होइन, हजारौँ अर्बपति छन्, जो हरेक दिन पेटको राँको बोकेर कतार एयरवेज चढ्छन् र वर्षभरि अरबको तातो ओछ्यानमा सुत्छन्।' यही भनाइलाई रि-ट्वीट र फेवरेट्स गरेर दुई सयभन्दा बढीले रुचाएनन् मात्र, चौधरीलाई बधाई दिन व्यस्त ट्वीटर टाइम लाइनमा त्यसको अर्को पक्षबारे पनि बहस सुरु भयो। 

त्यसो त पाँच हजार व्यक्तिले पछ्याइरहेका लेनिन ह्युमरस ट्वीट गर्नेमा चिनिन्छन्। मूल घर दाङ भएका उनका ट्वीटमा औपचारकिभन्दा पनि गाउँघरतिरको भाषिक शैलीको झल्को पाइन्छ। झन्डै चार वर्षअघि नै उनले ट्वीटर एकाउन्ट खोले पनि त्यसले खासै तान्न नसकेपछि उनी अर्को लोकपि्रय सामाजिक सञ्जाल फेसबुकमै रमाइरहेका थिए। तर, गत वर्ष उनले घरबेटीसम्बन्धी ट्वीट सिरजि के थालेका थिए, उनलाई सोसल मिडियामा लोकपि्रय हुन धेरै बेर लागेन। डेरावाल मध्यमवर्गीय जमात ठूलो रहेको र लेनिनले त्यससम्बन्धी ट्वीट गर्दा सायद धेरैले आफ्नै पीरमर्का बोलिदिएको सोचे। घरबेटी ट्वीट शृंखला अन्तर्गत उनको एउटा ट्वीट यस्तो थियो, 'काठमाडौँका ९० प्रतिशत घरबेटी आफू डेरावाल हुँदाको पीडा बिर्सन्छन्। उनीहरूलाई लाग्छ, दुःख-कष्ट उनीहरूले मात्र बेहोरेका छन्, हामी हनिमुन मनाउन आएका हौँ।' कहिले उनले काठमाडौँका घरबेटीलाई शनिग्रहबाट आएका एलियनसँग जोडे त कहिले डेरावाललाई भुटानी शरणार्थीभन्दा बढी पीडामा रहेको विम्ब बनाए। 

शिवम् सुन्दरम्

सन्तोष आचार्य प्रदीप बस्याल 

साउन लागेपछि सेलिबि्रटीजस्ता लाग्छन्, भगवान् शिव। युवक-युवतीहरू उनका फ्यानजस्ता लाग्छन्। युवतीहरू त सोमबारे व्रत बस्छन् नै, युवकहरूसमेत महिनाभरि मांसाहारी भोजन लिँदैनन्। पहिरन, मेहन्दीदेखि पुस्तक र गीत-संगीतसम्म जताततै 'शिव ग्ल्यामर' छ। 

साउन र शिवको सम्बन्ध नङ र मासुको जस्तो छ, नेपाली समाजमा। जहाँ जहाँ शिवका नाममा स्थापित मन्दिर, त्यहाँ त्यहाँ सनातन हिन्दु धर्मावलम्बीको घुइँचो। साउने सोमबार हातमा फूल-प्रसाद, जल र दूध लिएर दर्शन गररिहेका भेटिन्छन् भक्तजन।

विवाहिता वा अविवाहिता महिलाहरूले शिवलाई नै सम्झिएर हातमा हरियो मेहन्दी, हरिया चुरा अनि रातो र केही हरियो मिश्रति शिव-शक्ति रंगका सारी वा कुर्ता सुरुवाल लगाउनु सामान्य हो। पुरुषसमेत हरियो पहिरनमा शिव मन्दिर परसिरमा देखिन्छन्।

साउनमा सहरका बुटिक तथा ब्युटीपार्लर निकै व्यस्त हुन्छन्। सादा हरियो रंगका कुर्ता र साडीमा विभिन्न रंगका इम्ब्रोइडरी गर्नुका साथै पत्थर जोड्ने काम बढी हुन्छ साउनमा। फेसन डिजाइनर तरुणिका महतोसमेत अचेल साउन थिमका पहिरन परिकल्पनामै व्यस्त छिन् । भन्छिन्, "ग्राहकहरू हिन्दी सिरियलको जस्तै डिजाइन माग्छन् । त्यसैले म पनि साउनमा त्यस्ता सिरियलमा तानिन्छु ।"

शिव मन्दिर धाउने युवतीहरू साउने सोमबारलाई सहरमा आइरहेका फेसनसँग साक्षात्कार गर्न पाइने अवसरका रूपमा बुझ्छन्। डिजाइनर महतोका अनुसार गत वर्ष बजारमा हरियो र प्याजी रंगको फेसन थियो भने यसपालि हरियो र पहेँलो रंग मिश्रति फेसन।

महिनाभरि हात वा खुट्टामा मेहन्दी राख्छन् युवतीहरू। त्यसबीच मेहन्दीका डिजाइन थुप्रैपटक फेरिन्छन्। नेपाली बजारमा अहिले अरबिक, जयपुरी, पाकिस्तानी र अफ्रिकी डिजाइनका मेहन्दीको फेसन चल्तीमा छ। लहरा र पत्ताले भरिएको अरबिक शैलीको डिजाइन अझ चल्तीमा छ। सुन्दर देखाउनु त छँदै छ, त्यससँगै अनेकथरी मिथक जोडिएका छन्। हनुमानढोकामा कलेज ड्रेसमै मेहन्दी लगाउँदै गर्दा भेटिएकी स्मारिका अधिकारी भन्छिन्, "जसको हातमा मेहन्दी गाढा बस्यो, उसलाई श्रीमान्ले धेरै माया गर्छन् रे!"

एकथरी शिवभक्त पुरुषहरू कपाल पाल्नका सोखिन हुन्छन्। यसको कारण नक्कल वा आडम्बरभन्दा पनि प्राकृतिक स्वभावमै रमाउने भगवान्का रूपमा शिवप्रति झुकाव हो। समस्यामा परेका वा समाजबाट बहिष्कृत भएकामा शिवप्रतिको झुकाव बढी रहेको चर्चित भारतीय लेखक अमिश त्रिपाठीको ठम्याइ छ। उनले शिव दर्शनलाई आधार मानेर उपन्यास लेखेका छन्।

शिवको 'रफटफ' आकृति र बुझाइ विभिन्न गीतमा समेत तन्नेरीहरू उस्तै गरी पोख्छन्। भुवन खनालको पप गीत 'शिव मान्दै मान्दैन' होस् र कोमल वलीको 'पोइला जान पाम् शिव' यस्ता केही उदाहरण हुन्। यस्ता गीतले सामाजिक एवं धार्मिक आस्थामाथि ठेस पुर्‍याउने भन्दै धेरैतिरबाट विवादका स्वर उठे पनि शिवभक्त तन्नेरीहरू त्यस्ता आक्रोश एवं विरोधलाई स्वाभाविक ठान्छन्।

रातो र हरियो सौभाग्यको रंग हो, शिव-पार्वतीको पि्रय रंग पनि। साउन महिनालाई शिवको पि्रय महिना मानिन्छ। यस महिनामा गरिएका पूजा-आराधना विशेष फलदायी हुन्छन् भन्ने हिन्दु मान्यता छ। यस महिना शिवजीकै एउटा रूप ज्योर्तिलिंगमा जलाभिषेक गर्नाले शुभलाभ हुन्छ भन्ने विश्वास गर्नेहरूको संख्या पनि ठूलै छ।

Monday, August 5, 2013

काठमाडौँको शरणमा पाकिस्तानी पनि

खचाखच यात्रुका साथ पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पीआईए) कराँचीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रँदा ज्यादै खुसी हुनुपर्ने कारण छैन। किनभने, त्यसमा पर्यटक मात्र हुँदैनन्। सातापिच्छे एक-दुई उडानको फरकमा त्यसमार्फत शरणार्थी पनि उत्रिरहेका हुन्छन्।

कहिले तिब्बती त कहिले भुटानी शरणार्थी हेडलाइन बन्ने नेपालमा अहिले पाकिस्तानी शरणार्थी बढिरहेको देखाउन महाराजगन्जस्थित संयुक्त राष्ट्र संघीय शरणार्थी नियोग (यूएनएचसीआर) परसिरको चहलपहल नै काफी छ। त्यहाँ कोही शरणार्थी परिचय पत्र बनाउन त कोही सुरक्षित शरणका लागि आवेदन गरिराखेका भेटिन्छन्।

नेपालमा अहिले पाकिस्तानी शरणार्थीको संख्या ३ सय ५० नाघिसकेको छ। ती सबै अहमदिया मुस्लिम हुन्, जसलाई पाकिस्तानभित्र गैरमुस्लिम घोषणा गरिएको छ। त्यही घोषणासँगै मुस्लिमबीच नै सम्बन्ध बिग्रेपछि इस्लामावाद र लाहोरभन्दा परको सहर कहिल्यै नटेकेका नविद अहमद, ३५, बिरानो सहर काठमाडौँमा भौँताररिहेका छन्। इस्लामावादनजिकैको गाउँ साल्कोटमा एक्लो अहमदिया परिवार अन्य मुस्लिमको तारो बनिहाले। गाउँनजिकै खुलेको 'मदरसा नैमिया'मा जेहादीहरूलाई प्रशिक्षण दिन तयार पारिएको शंका गरे।

पाकिस्तानमा मदरसाहरू कति शक्तिशाली छन् भने त्यसमा प्रहरीले समेत खानतलासी गर्न पाउँदैनन्। त्यो मदरसा पाकिस्तानी तालिवानको एउटा समूह 'लस्करे झानवी'ले खोल्न लगाएको सुइँको उनीहरूले पाए। त्यसको गाइँगुइँ चल्दै गर्दा एक दिन मदरसाका मौलाना (प्रमुख)ले गाउँलेको बैठक डाके र आफूलाई सुरक्षा खतरा भएको बताए। नविद सम्झन्छन्, "तर, त्यसलाई पुष्टि गर्ने उनीसँग कुनै तर्क थिएन। उनले त हामीलाई फसाउन त्यस्तो नाटक रचेका रहेछन्।"

गाउँ मौलानाको पक्ष र विपक्षमा बाँडियो। एकले अर्कालाई मदरसा छिर्न नदिने भन्दै त्यहाँ तालाबन्दी गरे। नजिकैको अर्को गाउँमा एक अहमदिया दुई छोरासहित मारिए। नविदको परिवारलाई समेत एकपछि अर्को सास्ती दिइयो। रोपाइँका लागि तयार पारिएको ब्याडमा गाईभैँसी छाडिए। खेतमा जाँदा उनलाई गोली हानियो। धन्न गोली घुँडामा लाग्यो र उनी बाँचे। नविद सम्झन्छन्, "गल्ती उनीहरूकै भए पनि अस्पतालमा छँदै मविरुद्ध मुद्दा दायर भयो र झन्डै डेढ महिना जेल बस्नुपर्‍यो।"

Friday, August 2, 2013

ग्लोकल मन

अमेरिकामा पढ्ने विद्यार्थीको लागि गर्मीयाम रमाइलोको समय हो । कसैले त्यही ३ महिने छुट्टिमा काम गरेर पैसा जम्मा पार्छन् त कोही आ–आफ्ना परिवारसँग बस्छन् वा कतै घुम्न जान्छन् । तर सहदेव याङमाली राई भने भोजपुर पुगेर दिप्सा गाउँको खेतबारीमा बिताए । त्यहाँका स्थानिय महिलालाई अदुवा, लसुन र विभिन्न सागसब्जीको उब्जाउने नयाँ–नयाँ शैली बताए र त्यही अनुसार कामको शुरुवात पनि गरे । तिनको उत्पादन कसरी धेरै गराउनेदेखि बजारमा कसरी पुर्‍याउने भन्नेसम्म योजना र शुरुवाती काम गरे । राईलाई खेतिपातीबारे त्यतिधेरै अनुभव थिएन तर ३ महिनायता उनले विभिन्न पुस्तक एवं विज्ञलाई भेट्दै त्यसबारे सिकिराखेका थिए ।

राई पूर्व अमेरिकी राष्ट्रपति विल क्लिन्टनको पहलमा स्थापित क्लिन्टन ग्लोबल इनिसेटिभ अवार्डका ९ हकदारमध्ये एक हुन् । बिगत ६ बर्षयता उक्त अवार्ड सामाजिक सेवा र जीवनस्तर उकास्ने काममा योगदान दिन चहाने विश्वविद्यालयका विद्यार्थीको लागि आकर्षण बन्दै आएको छ । यसपटक राई विभिन्न ७५ मुलुकबाट ६ सयभन्दा बढि योजनासँग प्रतिस्पर्धामा थिए । उनले जितेको अवार्डलाई अमेरिकाको मिजोरीस्थित वेस्टमिनिस्टर्स कलेजले आफ्नो वेवसाइटको होमपेजमै ‘असामान्य सफलता’ मानेर राखेको छ । “स्थानिय स्रोतकै सदुपयोग गरेर महिलाको जीवनस्तर उकास्ने र द्वन्द्वले दिएको घाउ बिर्साउने मेरो कामको लक्ष्य हो,” राई भन्छन्, ‘त्यसले प्रभाव अन्तत: दिप्साका थुप्रै पक्षमा देखिने हुँदा अवार्ड पाएको हुनसक्छ ।’

त्यहींको जनोदय उच्च माविमा सोलार जोडेर कम्प्युटर कक्षा शुरु गर्ने अर्को योजना यसैको सफलतासँग जोडिएर आउनेछ । अहिले जाँदा पनि उनले १ सोलार प्यानल स्कुललाई लगिदिएका थिए । भन्छन्, “त्यही खेतीबाट बर्षेनी ५० हजार छुट्याउन सकियो भने स्कुलमा सोलारबाट कम्प्युटर कक्षा दिगो रुपमा चल्न सक्छ ।”

Saturday, July 27, 2013

दुइटा बाघ र बुच लामा

बाघ र मान्छेको मन कति मिल्छ ? बुच लामालाई थाहा छैन । फिल्म लाइफ अफ पाईमा देखाइएको छ, बाघमा देखिने मानिसप्रतिको कोमलता मानिसको आफ्नै कोमलताको प्रतिबिम्ब हो । ४५ बर्षे जीवनमा लामाले पछिल्लो २२ बर्ष अधिकांश समय बाघकै वरपर बिताए । संशयसहित उनी लाइफ अफ पाइकै तर्कमा सहमत छन् । 

एक जोडि बाघ, चार्जर र सीतालाई भने सबैभन्दा नजिकबाट उनैले चिने । र, त्यही जोडि बाघलाई नै विश्वले सबैभन्दा राम्ररी चिन्यो । यो जोडिको जति फोटो र भिडियो खिचियो त्यति कुनै बाघमात्र होइन सायद अहिलेसम्म कुनै एउटै जनावरको पनि खिचिएको छैन । सीताको तस्विर त सन् १९९७ डिसेम्बरमा नेसनल जोग्राफिक म्यागेजिनले आफ्नो आवरणमा नै छाप्यो । बिबिसीले वृत्तचित्र बनायो । उता बुचको परिचय चार्जर र सीताजत्तिकै रातारात बदलियो, वाइल्ड लाइफ गाइड र वाइल्ड लाइफ फोटोग्राफरका रुपमा । 
***
सन् ८० को दशकतिर काठमाडौंमा पर्यटन व्यावसायमा जमेको एउटा परिवारका छोरा हुन् बुच । उनका बाबु नेपालको पहिलो “द रोयल होटल” खोल्ने रसियन नागरिक बोरिस लिसानिभिचसँगै कलकत्ताबाट नेपाल छिरेका थिए । उनको टाइगर टप्समा केही लगानीदेखि त्रिशुलीमा र्‍याफ्टिङको व्यावसाय थियो । उनी चहान्थे छोराले छिट्टै एसएलसी सकोस् अनि तिनै व्यावसायमा हात हालोस् । बुचले न त कहिल्यै एसएलसी सके न त बुवाको इच्छा बमोजिम पुस्तौनी काममा नै जमे । उनको संगत नै त्यस्तै थियो, प्रहरीको वान्टेडमा परेका, भर्खर जेलबाट छुटेका, न्यूरोडका नामूद डनजस्तासँग । “हाम्रो संगतमा परेपछि पढ्ने मान्छे पनि बिग्रिन्थ्यो,” झण्डै एक महिनाअघिको एक साँझ न्यूरोडमा उनी आफ्नो बाल्यकाल सम्झिरहेका थिए, “सहपाठी पिट्नु त हाम्रो लागि कुनै नौलो काम थिएन, शिक्षक समेत छाड्दैनथ्यौं ।” कक्षा ५ पछि उनी झण्डै आधा दर्जन स्कुलमा भर्ना भए तर कतै एक बर्ष पूरा काटेनन् । सन् ८० को दशकको अन्त्यतिर उनले दृष्टि साप्ताहिकमा समेत एक बर्ष काम गरेका छन्, कम्पोजरका रुपमा । व्यापारिक परिवारमा छोराले गरेको त्यो काम झन् सह्य भएन र उनलाई सजाएँ स्वरुप भारत मध्यप्रदेशको बान्धवगढ राष्ट्रिय निकुञ्ज पठाइयो । 

नेपालको एक राणा परिवारको त्यता रहेको सम्बन्धले बुवामार्फत उनलाई त्यहाँ पुर्‍यायो । १ बर्ष अघिमात्र त्यहाँ पुगेका चन्द्र समशेरका खनाती नन्द राणाका साहकर्मी भए उनी । 

सन् ९० को दशकको शुरुवाती समय । अहिले हवाइजहाजबाट उत्रेको ३ घण्टामा पुगिने त्यस ठाउँ त्यसबेला निकै बिकट लाग्थ्यो, दिल्लीबाट पुग्न मात्र ३६ घण्टा लाग्ने । आदिवासीको बाहुल्यता भएको त्यस्तो ठाउँमा १२ टेन्ट र एक लजमा उनीहरु रिसोर्ट चलाउँथे । त्यही ठाउँमा अहिले ताज, ओबेरायजस्ता भारतका चर्चित होटलले आफ्नो शाखा खोलेका छन् । 

एकदिन कामकै क्रममा बुच र नन्द दिल्ली पुग्दा उनीहरुको भेट नेसनल जोग्राफिकका रिपोर्टर निक निकोल्ससँग भयो । नेसनल जोग्राफिकका लागि बाघबारे स्टोरी गर्ने उद्देश्यसाथ हिंडेका निकोल्स कतै चित्तबुझ्दो परिवेश नभेटेपछि विरक्तिएर अमेरिका फर्कन लागेका थिए । उनको योजना सुनेपछि उनीहरुले एकपटक बान्धवगढ जान सुझाए । निकोल्स जब त्यहाँ पुगे चार्जर र सीताको सहवासको दृश्य देखियो जुन झण्डै २ हप्तासम्म चलेको थियो । उनमा त्यसैले एउटा गुड इम्प्रेसन बनायो । निकोल्सले निधो गरे आफूले खोजेको कथा त्यहीं छ । 

खास नेसनल जोग्राफिकले सन् १९९७ को अन्तिमतिरका लागि बाघको कथा खोजिराखेको थियो । त्यही समय किनभने, एकातर्फ चीनबाट बाघ लोप भइरहेको कथालाई सम्बोधन गर्नुथियो र सन् १९९७ डिसेम्बरबाट चिनिया क्यालेन्डरमा बाघ बर्ष शुरु हुँदै थियो । उक्त जोडि बाघले भर्खर सहवास गर्दै गरेकोले पनि त्यसपछिका विकासक्रम पछ्याउन त्यो निकै ठिक समय थियो । अनि शुरु भयो, लाखौं डलर लगानी भएको काम । उक्त काम कतिसम्म महत्वसाथ गरिएको थियो भने अमेरिकी राष्ट्रपति विल क्लिन्टनले सिधै भारतिय राष्ट्रपतिलाई पत्राचार गरेर उक्त कामका लागि हदैसम्मको सहयोग गर्न आग्रह गरेका थिए । त्यसबेला बान्धवगढमा अरुले नपाउने पैदल यात्राको सुविधा त्यही पत्राचारको कारण पाएका थिए उनीहरुले । काम थालेको ३ बर्षपछि उक्त आवरण प्रकाशित भयो । कारण, एउटा बाघको बच्चाले जन्मिएको २ बर्षभित्र सिकार खेल्नेदेखि लिएर जिउन आवश्यक पर्ने सबै कुरा आफ्नी आमाबाट सिक्छ ।  

Friday, July 19, 2013

वेम्बलीमा नेपथ्य

१९ साउनमा लन्डनको वेम्बली एरिनामा हुने कन्सर्टको तयारीमा छन्, नेपथ्य ब्यान्डका गायक अमृत गुरुङ। विश्वकै तेस्रो ठूलो 'इन्डोर कन्सर्ट भेन्यु' हो वेम्बली। द बिटल्स, द होलिजदेखि पछिल्ला डिपिक मोड, मेटालिका, मे-डे, बिग ब्याङ्जस्ता थुप्रै ब्यान्डले प्रस्तुति दिइसकेको थलो। बि्रट्नी स्पेयर्स, म्याडोना, साकिराजस्ता चर्चित सेलिबि्रटीको समेत कन्सर्ट गर्ने पि्रय स्थान ।

नेपाली ब्यान्डले विश्वको त्यति ठूलो प्रतिष्ठित ठाउँमा पहिलोपटक प्रस्तुति गर्न लागेको कन्सर्टको समन्वय गर्ने संस्था नेपालयको दाबी छ। त्यसैले ब्यान्डका फ्रन्टम्यान अमृत गुरुङ भने त्यसलाई नेपाली संगीतले फड्को मार्ने नयाँ अवसर मान्छन्। १२ हजार ५ सय दर्शक अट्ने उक्त रंगशालाका लागि अनलाइन टिकट बुकिङ् खुला गरिएको छ। गायक गुरुङ थप्छन्, "यसमा हाम्रो प्रस्तुति र दर्शकको सहभागिता कस्तो हुन्छ, त्यसले भविष्यमा नेपाली संगीतले पाउने थप अवसर निर्धारण गर्नेछ।"

सन् १९९१ मा पहिलो एल्बम नेपथ्य सार्वजनिक गरेयता यो ब्यान्डका गीत थुप्रै नेपालीका मुखमा झुन्डिएका छन्। नेपाली संगीतका श्रोताहरू अझै पनि नेपथ्य भनेपछि मरिमेट्छन्। "नेपाली मौलिकता र एकरूपतासहित नेपाली संगीतको पर्यायको रूपमा रहेको ब्यान्ड हो यो," वेम्बली एरिनाकै वेबसाइटमा नेपथ्यको परचिय दिँदै लेखिएको छ, "यसका गायक गुरुङ नेपालका कुना-कन्दराका लोकभाका खोजेर लोभलाग्दो कम्पोजिसन गर्छन्।" तिनै लोकभाकालाई 'पप' र 'रक' मिश्रति गराउँदा ती गीत विकट गाउँका पाखादेखि सहरका रात्रिक्लबमा समेत घन्किन सफल छन्।

नेपथ्यको विगत भने उसका गीतजस्तो एकनासको छैन। सन् १९९० मा स्थापना भएयता ब्यान्डमा अहिलेसम्म २३ जना अनुहार आउने-जाने भए। अहिले ब्यान्डमा रहेका संस्थापक भने गुरुङ मात्र हुन्। दुःखका दिन सम्झने हो भने सन् १९९८ मा जापानमा कन्सर्ट गर्न जाँदा चार जना ब्यान्ड सदस्य उतै बसे। कन्सर्ट पनि नमज्जाको भयो। गुरुङ सम्झन्छन्, "दर्शकभन्दा बढी थिए, प्राविधिक र ब्यान्ड सदस्य। सबै गरेर ४२ जना मात्र।"

Monday, June 24, 2013

सगरमाथा: तर, हाम्रो भएन

माधव बस्नेत र प्रदीप बस्याल 

यता नेपालले सगरमाथा आरोहणको हीरक महोत्सव कार्यक्रम गररिहँदा उता, बेलायतमा चाहिँ महारानी एलिजावेथ द्वितीयाले पनि प्रथम आरोहीका सन्तानलाई अतिथि बनाएर आफूले गद्दी सम्हालेको ६०औँ वर्षगाँठ मनाइन्। प्रथम आरोही तेन्जिङ नोर्गे शेर्पाका छोरा जाम्लिङ र सर एडमन्ड हिलारीका छोरा पिटर हिलारी सहभागी भएको रानी एलिजावेथको उक्त कार्यक्रमलाई विश्वभरका मिडियाले भव्य 'कभरेज' गरे। त्यो समाचारको चर्चा र ग्ल्यामर सेलाउन नपाउँदै विदेशी आरोहीलाई सगरमाथा आधार शिविर पुर्‍याएर फर्केको शेर्पा सहयोगीहरूको एउटा समूह काठमाडौँमा 'सगरमाथा कहिल्यै पनि नेपालीको हुन नसकेको' भन्दै बिलौना गररिहेको थियो। नेपाल पर्वतारोहण संघको कार्यालय नक्सालमा अध्यक्ष जिङवा जाङबु शेर्पासँग उनीहरू सगरमाथाबाट नेपालले खास लाभ लिन नसकेको बताइरहेका थिए। 

हुन पनि हो, भौतिक रूपमा विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथा नेपालमा रहे पनि यससँग गाँसिएका भावना, सौन्दर्य, अर्थतन्त्र र मिथकहरू हाम्रा आफ्नै हुन सकेका छैनन्। सगरमाथाको देश भनेर गर्वले छाती फुलाए पनि या सगरमाथा विम्ब बनाएर अनेकन् गीत र कविता लेखिए पनि पहिलो आरोही तेन्जिङ नोर्गे शेर्पा नै सधैँका लागि नेपाली भइरहन सकेनन्। अरू त के कुरा भयो र !

भागमा सलामी मात्रै 

टाढाबाट हेर्दा सगरमाथा आरोहणबारे चर्को चर्चा, तामझाम र भव्यता झल्किन्छ। तर, सीधै भन्नुपर्दा नेपाल सरकारले पाउने सलामी दस्तुर मात्र हो। यसपटक वसन्त ऋतुमा २६ करोड ६६ लाख ७१ हजार ८ सय ४५ रुपियाँ सलामी दस्तुर संकलन भयो। ३२ वटा आरोहण दलले अनुमति लिएकामा तीनवटाले सलामी दस्तुर तिर्नुपरेन। अघिल्लो वर्ष २६ करोड ४६ लाख ५० हजार रुपियाँ सलामी दस्तुर संकलन भएको थियो। 


देखिने गरी नेपालले लिने आम्दानी यति भए पनि सगरमाथाका नाममा यसभन्दा कैयौँ गुणा बढी रकम सर्वोच्च शिखर आरोहणको अर्थतन्त्रसँग जोडिएको हुन्छ। यसको अधिकांश लाभ विदेशमा रहेका एन्जेन्सी र नेपालभित्रका एजेन्टहरूको हातमा पर्छ। नेपालभित्र रहेका कुन एजेन्सीले कति हजार डलरमा आरोहीहरूलाई आरोहण गराए भन्ने कुरा पनि खुलाउँदैनन्। सात वर्ष नेपाल पर्वतारोहण संघको नेतृत्व गरेका एसियन टे्रकिङ्का प्रमुख आङछिरङि शेर्पाका अनुसार सगरमाथा चढ्न सरकारलाई जति सलामी दस्तुर तिर्नुपर्छ, त्यसको दुई गुणा बढी रकम आरोहण क्रममा खर्च हुन्छ। "यो हिसाबले सगरमाथाका नाममा नेपालभित्र मात्रै वाषिर्क एक अर्ब रुपियाँको कारोबार हुन्छ," उनी भन्छन्, "सबैजसो कारोबार गुपचुप रूपमै हुन्छ। विदेशीसँग बार्गेनिङ् गर्न सक्ने एजेन्सीहरूले ३०/३५ हजार डलर पनि लिन्छन् तर नसक्नेको हालत खासै राम्रो छैन।" 

विद्यार्थी सहर


"यस्तो पनि हुन्छ है !" सुदीप श्रेष्ठ, २९, ले नर्वे छिरेको पहिलो रात अचम्मित हुँदै जिब्रो टोकेका थिए। कारण थियो, मध्यरातसम्म आकाशमा चम्किरहेको सूर्य। सम्झन्छन्, "शरीर थाकेको थियो तर अँध्यारो नदेख्दा सजिलै निद्रा लाग्दो रहेनछ।" नर्वेमा  पाँच वर्षअघि पहिलोपल्ट सामना गरेको सो परिवेश श्रेष्ठका अहिले सामान्य भइसकेको छ।

दिन-रातमा देखिने यस्तै फरकबाहेक भूगोलका हिसाबले नर्वे हजारौँ माइल परको नेपालभन्दा खासै फरक छैन। तर, नेपालीहरू नर्वेमा हरेक दिन सामना गर्ने घटनाबाट चकित हुन्छन्। ट्रोन्डियममा डेढ दशकदेखि बसिरहेका इन्जिनियर उमेश थापा भन्दै थिए, "हाम्रा लागि त यो देश छिर्नु नै विश्वविद्यालय छिरेजस्तो हो। सिक्ने कुरा विश्वविद्यालयभित्र र बाहिर सायद बराबरजस्तै होलान्।" सायद त्यही कारण हो, मानव विकास सूचकांक होस् वा सुखी राष्ट्रको सूचीमा, नर्वे शीर्ष दुई/तीनभन्दा तल विरलै र्झछ। त्यसमाथि उत्तरी गोलार्द्धबाट पाँच सय किलोमिटर मात्र दूरीमा रहेको ट्रोन्डियम विद्यार्थीको सहर हो, जहाँको झन्डै एक चौथाइ जनसंख्या अन्तर्राष्ट्रिय विद्यार्थीले ओगटेको छ। 

ट्रोन्डियममा नर्वेको दोस्रो ठूलो विश्वविद्यालय नर्वेजियन इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी (एनटीएनयू) र सोर ट्रोन्डेल्ग युनिभर्सिटी कलेज छन्। विद्यार्थीमा विविधता कतिसम्म पाइन्छ भने विश्वका १ सय ५० भन्दा बढी देशका विद्यार्थी यहाँ छन्। एनटीएनयूमा मात्र विद्यार्थीका त्यस्ता दुई सय संगठन दर्ता छन्। जलविद्युत् विकासमा एमएस्सी गर्दै गरेका अनुप खनाल, २७, भन्छन्, "नेपालमा हुने पढाइ र यहाँ हुनेमा भिन्नता नै त्यही विद्यार्थीको विविधताले पार्छ। हामीले सोच्चै नसोचेका थुप्रै कुरा अरू देशका विद्यार्थीबाट सुन्न पाइन्छ।" 

यही भावनालाई आत्मसात् गर्दै ट्रोन्डियममा बर्सेनि विद्यार्थीको दुई ठूला महोत्सव हुन्छन्। एउटा हो, इन्टरनेसनल स्टुडेन्ट फेस्टिबल इन ट्रोन्डियम, जसमा विश्वका विभिन्न विश्वविद्यालयमा पढ्ने विद्यार्थी त्यहाँका विद्यार्थी र स्थानीय परिवारसँग बस्न आउँछन्। अर्को हो यूकेए, जसलाई नर्वेको ठूलो सांस्कृतिक उत्सवका रूपमा लिइन्छ। यो महोत्सवको सञ्चालन ट्रोन्डियममै पढ्ने विद्यार्थीहरूले गर्छन्। नर्वेमा यूकेए कतिसम्म चर्चित छ भने सन् २००९ मा मात्र विद्यार्थीले ९० हजार टिकेट बेच्न सफल भएका थिए। खनाल थप्छन्, "विद्यार्थीप्रति त्यसैले यो ठाउँका मानिसहरू निकै स्नेही छन्।" 

Wednesday, June 5, 2013

'सिम्प्लिफाई ३६०' सफलताको कथा

भारतको बैङ्लोरमा हेडक्वार्टर रहेको सोसल बिजनेस इन्टलिजेन्स कम्पनी 'सिम्प्लिफाई ३६०' गत महिनामा इन्टरनेट प्रविधिको बजारमा फेरि एकपटक चर्चामा आयो। गुगल प्लसको सामाजिक सञ्जालमा भइरहने पब्लिक पोस्टको अनुगमन गर्ने अवसर पायो, सिम्प्लिफाई ३६० ले। त्यस्तो अवसर पाउने उक्त कम्पनी एसियाकै पहिलो हो। र, त्यसका संस्थापकहरूचाहिँ नेपाली तन्नेरी। कम्पनीका सहसंस्थापक तथा प्रमुख कार्यकारी भूपेन्द्र खनाल, ३१, भने यसलाई त्यति ठूलो उपलब्धि मान्दैनन्। उनी बैङ्लोरबाट नेपालसँग भन्दै थिए, "हाम्रो कम्पनीको हैसियत अन्तर्राष्ट्रिय जगत्मा कहाँ रहेछ भन्ने जान्न यो सहयोगी छ। तर, हाम्रा सपनासँग तुलना गर्दा यो खासै ठूलो उपलब्धि होइन।" सिम्प्लिफाई ३६० सोसल मिडिया एनलाइसिसमा एसियाकै शीर्ष वेब कम्पनीमा गनिएको छ।

क्लाउडबेस्ड कम्पनी सिम्प्लिफाई ३६० ले ११ देशका एक सयभन्दा बढी ठूला ग्राहकसँग प्रत्यक्ष र साझेदारमार्फत काम गररिहेको छ। कम्पनीले त्यसका लागि २८ विभिन्न भाषामा विश्वभर सामाजिक सञ्जालमा चलेका विषयवस्तुलाई विभिन्न टुल्समार्फत ट्रयाक गरेर विश्लेषण गर्छ। ग्राहक कम्पनीहरूले त्यसलाई आफ्नो रणनीति बनाउन उपयोग गर्छन्। बजारमा कस्तो कुराको अपेक्षा छ, कुन ठाउँमा कस्तो व्यापार रणनीति आवश्यक छ, कम्पनीको कुन पक्षमा कस्तो आलोचना भइरहेको छ र त्यससँग जुध्न के गर्नु आवश्यक छ ? आदिमा। 


यो सपनाको सुरुआत उर्लाबारी, मोरङका भूपेन्द्रबाटै सुरु हुन्छ। भारतको पश्चिम बंगालस्थित नेसनल इन्स्टिच्युट अफ टेक्नोलोजीबाट इन्जिनियरङि्मा स्नातक गरेलगत्तै उनी एक अमेरिकी कम्पनी 'ग्लोबल एनलिटिक्स'का लागि चेन्नईबाट काम गर्थे। त्यस कम्पनीले अमेरिकाका विभिन्न बैंकका लागि तिनका तथ्यांकसँग खेलेर आफ्नो रणनीति तय गथ्र्यो। जस्तो : अमेरिकामा तीन सयदेखि एक हजार अमेरिकी डलरसम्म बिनाधितो ऋणका लागि बैंकले आफ्ना ग्राहकको 'ह्युमन हिस्ट्री' अध्ययन गर्दै प्रोफाइल बनाएर राख्छन्। ग्राहकले यसअघि बैंकमा कुन रूपमा पैसा राख्ने/झिक्ने गरेको छ, ऋण चुकाउने मामिलामा उसको विगत कस्तो छ, उसले कुन समयमा बढी खर्च गर्छ जस्ता अनेकन् पक्ष हेरेर उसलाई बिनाधितो ऋण दिन सकिने/नसकिने तय गरिन्छ। भूपेन्द्र सम्झन्छन्, "तथ्यांकसँग खेलेर बिजनेस डिजाइन गर्ने काम थियो त्यो। बंैकका नयाँ शाखा, कर्मचारी थपघटजस्ता कामका लागि समेत त्यसकै सहारा लिइन्थ्यो।" 


अमेरिकामा त्यसरी लिएको ऋण झन्डै ८० प्रतिशत ग्राहकले चुक्ता नगर्दा व्यवसाय नै धरापमा परेको थियो त्यतिबेला । आफूहरूले तयार पारेको ह्युमन हिस्ट्री प्रभावकारी नहुँदा त्यहाँका बैंकहरू तनावमा थिए। भूपेन्द्रले त्यस बेला अपनाएको टुल्सले ह्युमन हिस्ट्रीभन्दा बाहिर निस्केर समस्यासँग जुध्न खोज्यो। उक्त विश्लेषणकै प्रभावस्वरूप बैंकको लोन प्रोसेसिङ् खर्च १ सय ४९ डलरबाट २२ अमेरिकी डलरमा झारियो। भूपेन्द्र भन्छन्, "एकातर्फ बैंकहरू फाइदामा जान थाले, अर्कातर्फ मेरा लागि आफ्नै काम गुड इम्प्रेसन भइदियो।"

Sunday, May 26, 2013

बबाल बौद्ध


उपत्यकाको उत्तरपूर्वमा रहेको आध्यात्मिक एवं पर्यटकीय स्थान बौद्धमा चिया पिउनका लागि 'बिग पट' नामको मौलिक भाँडो पाइन्छ। एक लिटरभन्दा बढी अटाउने यो भाँडो लामो समय एकै स्थानमा बस्दै चिया थपीथपी पिउँदै गफिने उद्देश्यका साथ बनाइएको हो। तर, बौद्धको यही 'बिग पट' लम्बेतान र रमाइला कुराकानीको मात्र नभई कतिपय गैरकानुनी 'डिजाइन'को समेत साक्षी बन्ने गर्छ। 

अन्तर्राष्ट्रिय चलखेल, वैदेशिक तस्करी र 'फ्रि तिब्बत' आन्दोलनजस्ता थुप्रै स्वार्थमा बौद्ध कतै न कतै जोडिएकै हुन्छ। बौद्ध क्षेत्र पुग्ने जोकोहीका लागि त्यहाँ चारै प्रहर गुन्जिरहने बौद्ध मन्त्रले शान्ति क्षेत्रमा पुगेको आभास त दिन्छ तर यो क्षेत्रको अन्तरमा रहेको फरक पाटोबारे सुइँको मिल्दैन। झन्डै पाँच दशकअघिसम्म बौद्धमा बेग्लै खाले स्थानीयता थियो। बौद्धवासी मुद्दा-मामिलाका सरकारी प्रक्रिया पूर्णतया नकार्थे। परम्परागत स्थानीय कानुनका भरमा सबै मुद्दा-मामिला छिनोफानो हुन्थे। बौद्धवासी आफ्नो क्षेत्र लागेपछि कति बलिया हुन्थे भने साँझ परेपछि काठमाडौँतिरबाट ट्याक्सीहरूसमेत त्यस क्षेत्रमा छिर्न डराउँथे। 


बौद्धमा बसोवास गर्दै आइरहेका जापानका लागि पूर्वराजदूत गणेश योञ्जनका अनुसार बौद्धका बौद्धमार्गी लामा समुदायले आफैँ दण्ड, सजाय र पुरस्कारको व्यवस्था गरेको थियो। "कर्तव्य ज्यानका मुद्दासमेत प्रहरी, प्रशासन र अड्डा-अदालतमा पुग्दैनथे," योञ्जन सुनाउँछन्, "काठको हतकडी थियो, दोषीलाई सजाय दिनका लागि। गम्भीर अपराध गर्नेलाई यही हतकडी लगाइदिने गरिन्थ्यो ।" भगवान् शाक्यमुनि बुद्धको जन्म भएको केही वर्षपछि निर्माण भएको स्तूप बौद्धको सबैभन्दा सुन्दरतम् आकर्षण हो। यो संसारकै सबैभन्दा ठूलो छ्योर्तेन पनि हो। एक हजार बुद्ध र स्वर्गका देवताहरू लामाका रूपमा आएको विश्वासका कारण बौद्ध धर्मावलम्बीको मुख्य धाम बनेको हो, बौद्ध। 


विसं १८औँ शताब्दीको अन्त्यतिर चीन सरकारले विशेष लामाको नियुक्ति गरी बौद्ध स्तूपाको रेखदेख, पूजापाठ र सुरक्षाको व्यवस्था गर्न लगाएको थियो। त्यही बेलादेखि बौद्ध र चीनको साइनो प्रगाढ बन्दै आएको छ। झन्, सन् १९५९ को तिब्बत विद्रोहसँगै नेपाल छिरेका तिब्बती शरणार्थीको एउटा ठूलो समूह बौद्धमा 'खम्पा क्याम्प' बनाएर बस्यो। नेपाली हिमाली जनजाति समुदायको बसोवास भएको यो क्षेत्रमा तिब्बती प्रभाव पनि मिसियो। व्यापारका अवसर बढे। बाहिरबाट हेर्दा तिब्बती शरणार्थीहरू घरेलु गलैँचा उद्योगमा मात्र संलग्न देखिए तापनि चीनको तिब्बतसँग जोडिने तस्करी र अन्य व्यापार-व्यवसाय उनीहरूले नै सुरु गरेको स्थानीयको भनाइ छ। तिनका अनुसार खम्पा क्याम्पमा बस्ने थुप्रैसँग नेपाली नागरकितासमेत छ। "थुप्रैले आफ्नो चालचलन र भाषा मिल्ने हिमाली जिल्लामा गएर नागरकिता बनाएका छन्," नेपाली कांग्रेस जोरपाटी एकाइ सभापति लालबहादुर लामा भन्छन्, "यहाँका ठूल्ठूला व्यवसाय उनीहरूकै छन्।" यतिसम्म कि, अहिले बौद्ध क्षेत्रमा व्यापार गर्ने मारवाडीहरूसमेत व्यवसाय गर्नुअघि तिब्बती भाषा सिक्छन्। पि|m तिब्बत पक्षधरको आन्दोलन हुँदा पनि प्रदर्शनकारीहरू बौद्ध वरपरै भेला हुन्छन्। तर, तिनका योजना कहाँ बन्छन् र ती कहाँबाट आउँछन् भन्ने खास स्थानीयले पत्तो पाउँदैनन्।

Saturday, April 20, 2013

Lofty Dreams

Years ago, Col VS Malik from Dehradun in India had decided to initiate his daughters—twins—into mountaineering, an activity he thought would teach them the handy qualities of discipline, hard work, and aspiration. But never, in his wildest dreams, did he imagine that one day, his girls would be en route to the roof of the world, attempting to scale Mount Everest. And it all came about over a dizzyingly short period of time, he says, just four years, ending with Tashi and Nungshi—both fluent in Nepali—making their way to the Everest Base Camp, where they are at present, acclimatising. If all goes to plan, some time in mid-May, the two will head for that highest of peaks, carrying with them hopes of becoming the world’s first set of twins, and the youngest women, to conquer Everest. 

Just last Sunday, the 20-year-olds were with their parents in Thamel, readying for the big adventure, making all the arrangements that such a massive endeavour entails. Their mother, whose ancestors migrated from Pyuthan to India, had reservations about their plans initially but says she’s come around now—grudgingly, of course. “It helped to meet the rest of the team that will be accompanying them,” she said. “It’s made it a little less terrifying.”

Mingma Sherpa, one of the team members, and practically a celebrity as far as guides are concerned, was introduced to the girls at Gorkha Niwas, the Indian Army’s office in Kathmandu. His cool demeanour immediately impressed the girls, and even their mother could be heard whispering, “Look at how calm and silent he is. It’s because he’s saving energy for the expedition.” 

Young though they might be, the twins boast something of an impressive resume already. Tashi and Nungshi had joined the Nehru Institute of Mountaineering (NIM) straight out of high school, quickly completing the Basic, Advance, and Research and Rescue courses, both scoring the best possible grades in their classes. They are now licensed professional instructors, as certified by NIM. And so far, they’ve already scaled the 6672-metre Mount Gangotri in India in 2011, and Tanzania’s Mount Kilimanjaro, at 5895 metres, the year after that.

Monday, April 15, 2013

राजदूतसँग तन्नेरी

नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लू बोडीका एक थरी सल्लाहकार कूटनीतिभन्दा बाहिरका छन्। अमेरिकी दूतावास युवा परिषद्का ती सदस्य ३० वर्षमुनिका नेपाली हुन्। नेपालका महत्त्वपूर्ण राजनीतिक, सामाजिक वा आर्थिक घटनाबारे बोडी तिनै सल्लाहकारका कुरा सुन्न रुचाउँछन्।

दूतावासको युवा परिषदका ती सल्लाहकार विभिन्न राजनीतिक आस्थाका विद्यार्थी नेतादेखि उद्यमी, चिकित्सक, खेलाडी, फिल्ममेकर, पत्रकार आदि छन्। दृष्टिविहीन, तेस्रोलिंगी, दलित एवं विपन्न वर्गका युवासमेत संलग्न परिषदमा सबैका आ-आफ्नै व्यक्तिगत कथा छन्। काठमाडौँ विश्वविद्यालयमा स्नातकोत्तर गरिरहेका कञ्चन खरेल सुनाउँछन्, "राजदूत र उनको टोलीसँगको कुराकानीमा हाम्रा अभाव, नैराश्य र समस्या स्वाभाविक रूपमा झल्किन्छन्।" बर्सेनि झन्डै आठ करोड अमेरिकी डलर नेपालमा सहयोगस्वरूप खन्याउने अमेरिकालाई सायद त्यसले आफ्नो प्राथमिकता र रणनीति तय गर्न सघाउँदो हो।

स्थानीय युवासँग सल्लाह र छलफल गर्ने अमेरिकी  परिपाटीको नेपालमै सफल अभ्यास भएपछि अहिले विश्वका ५० भन्दा बढी देशमा यो मोडलको सिको गरिएको छ। युवाका आवाज सुन्ने र उनीहरूसँगै काम गर्नुपर्ने आवश्यकता महसुस गरेसँगै सन् २०११ मा अमेरिकाले नेपालमा 'राजदूतको युवा सल्लाहकार परिषद' स्थापना गरेको हो। त्यस बेला स्कट एच डेलिसी राजदूत थिए।

नेपालमा सफल अभ्यासपछि तत्कालीन अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले अमेरिकी विदेश मन्त्रालयमा 'स्पेसल एडभाइजर अन ग्लोबल युथ इन्गेजमेन्ट' पद सिर्जना गरी यसलाई विश्वव्यापी कार्यक्रम बनाएकी थिइन्। "नेपालबाट सुरु भएको यो कार्यक्रम अहिले विश्वव्यापी हुनु निकै गर्वको विषय हो," राजदूत बोडी भन्छन्, "नेपाली विविधता प्रतिनिधित्व गर्ने गरी परिषदमा युवा सहभागिता जुटाउने प्रयास छ, जसको उद्देश्य दूतावासलाई नेपाली युवाका वास्तविक मुद्दासँग जोड्ने र त्यसमा अन्तरक्रिया गराउने हुन्छ।"

Saturday, April 6, 2013

स्वप्न बंगैचा सान

केही पाइलाकै फरकमा कोलाहलपूर्ण माहोलबाट एउटा ‘स्वर्गसरी’ आनन्ददायी ठाउँ  पुगिन्छ । बाहिरपट्टि सडकमा भुस्याहा कुकुरको सास्ती र ब्रगेल्ती पछ्याउने मगन्तेको तनावबाट फुत्किएर जब तपाई काठमाडौं ठमेल नजिकैको त्रिदेवीमार्गस्थित स्वप्न बगैँचा छिर्नुहुन्छ, केही समय अघिको उदेकलाग्दो दैनिकी विर्सन समय लाग्दैन । अग्ला पर्खालले घेरिएको सुन्दर बगैँचामा मन के कारण रमाउँछ ठ्याक्कै भन्न त गाह्रो छ तर प्रशिद्ध अमेरिकी म्यागेजिन टाइमले मन, शरिर र आत्माका लागि विश्वका उत्कृष्ठ २४ गुपचुक ठाउँको पंक्तिमा स्वप्न बगैँचालाई पनि राखेको छ । २५ मार्चको आफ्नो अंकमा बगैँचाको प्रशंसामा १५९ शब्द खर्चंदै टाइमले आत्माका लागि उत्कृष्ठ भन्दै लेखेको छ, ‘आफ्नो मनले खोजेको ठाउँ रोज्न केहीबेर बगैँचा वरपर चहारेर जब दुबोमा लम्पसार परेर कुनै पुस्तक पढ्न थालिन्छ, शहरको आवाज आकासमा तैरिएझैं लाग्छ ।’

स्वप्न बगैँचामा के छ त्यस्तो जसले बारम्बार स्वदेशी–विदेशी छापाको ध्यान मात्र खिच्दैन, नेपाल आउनेलाई एकपटक छिर्न बाध्य पार्छ । सेलिब्रिटी, उच्च कूटनीतिज्ञदेखि सर्वसाधारणसम्म यहाँ फुत्त छिर्छन् र थाहै नपाई निस्कन्छन् । धेरैजसो आइरहने एक तन्नेरी मनोज भण्डारी भन्छन्, ‘धेरैले यसलाई आफू एक्लिने नीजि ठाउँ होस् भन्ने चहान्छन् । त्यसैले साथीभाईको जमघटजस्ता उद्देश्यका लागि प्रयोग हुनबाट बगैँचा बचेको छ ।’ मनोजले भनेझैं सायद बगैँचाको मौलिकता पनि त्यसभित्रै लुकेको छ ।

थुप्रै मगमगाउँदा मौसमी फूलको छेउ लागेर रुखमा आड लिनुस् वा त्यहाँ रहेका स–साना पोखरीमा तैरने माछालाई नियाल्नुस् । वा, आँखा चिम्म गरेर चराको चिर्बिर आवाज र नेपथ्यबाट आउने गाडिका हर्नसँग तुलना गर्नुस् । इञ्जिनियरिङ विद्यार्थी विकास रेग्मीलाई लाग्दो रहेछ, ‘यहाँको बसाई एक वा अर्को रुपमा ध्यान गरेझैं हुन्छ ।’ यद्यपि यहाँ डेटिङदेखि पारिवारिक जमघट वा विनाकारण टहलिन आउनेको ठूलो सङ्ख्या छ । बगैंचाका कार्यकारी निर्देशक ध्रुवराज रेग्मी भन्छन्, ‘यत्तिको सानो ठाउँमा थुप्रै अनुपम विविधताको संमिश्रण विश्वमै निकै दुर्लभ मानिन्छ ।’

Friday, February 15, 2013

हाम्रा विद्यार्थी नेता


प्रेम श्रेष्ठ, वर्ष २५ । थुप्रै विद्यार्थीसँगै झिसमिसेमै कलेज पुग्छन् । फरक यत्ति छ, अरू कक्षा कोठा छिर्छन् । उनी भने क्याम्पस परिसरमै व्यस्त हुन्छन् । आफूजस्तै भेटेजतिका विद्यार्थीलाई 'गुडमर्निङ' भन्दै हात मिलाएर भ्याउँछन् । उनीहरूका पीरमर्का सुन्छन् । क्याम्पस प्रशासनसम्म तिनलाई लैजान्छन् । बीबीएस सकेर बसेका उनको आफ्नै कक्षा भने एक वर्षअघिसम्म यस्तै दैनिकीका बीच साँझ मात्र सुरु हुन्थ्यो । कारण उनी सरस्वती बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी) का अध्यक्ष हुन् । सरकारी कलेजका विद्यार्थी नेताको दैनिकी प्रायः प्रेमकै जस्तो हुन्छ । उनीहरूको खानपानकै समेत ठेगान हुँदैन । 

उनीहरूका झोलामा थुप्रैका भर्नाका र्फम, छात्रवृत्तिका निवेदनजस्ता विभिन्नखाले कागजपत्र हुन्छन् । ठूला-साना आन्दोलन/विरोध विद्यार्थी शक्तिकै भरमा हुने हुँदा त्यसको बोझसमेत उनीहरूमै हुन्छ । लाग्छ, कलेजहरू त्यहाँका प्रशासनका आडमा होइन, विद्यार्थी नेताकै भरमा चल्छन् । 'तर,' श्रेष्ठ त्यसलाई मान्न तयार छैनन्, 'हाम्रा कमजोरी बढी देखिएका मात्र हुन् । 

विद्यार्थी संगठन नभए त बरु सरकारी कलेज बन्दझैं नै हुन्छन् ।' 

कसरी त ? 

उनको भनाइलाई आधार मान्दा हरेकजसो कलेजमा शिक्षक, कर्मचारीका समेत संगठन छन् । त्यहाँ उनीहरूको राजनीतिको अर्को पाटो छ, जसलाई 'ब्यालेन्स' गर्ने काम विद्यार्थी संगठनले गर्ने गरिराखेको छ । अहिले सरकारी कलेजका थुप्रै शिक्षकका आफ्नै निजी कलेज छन् । 

'त्यही शिक्षक निजीमा पढाउँदा राम्रो गर्छन् सरकारीमा गर्दैनन्,' प्रेमको भनाइ छ, 'हामीले केही वास्ता नगर्ने हो भने त उनीहरू नियमित कलेज आउने वा कक्षामा जानेमा समेत हेलचेक्य्राइँ गर्छन् ।' एकैछिन त्रिचन्द्र कलेजका अनेरास्ववियुका अध्यक्ष उमेश आचार्य, वर्ष २५ तर्फ लागौं । उनका भनाइमा एकातर्फ सरकारी कलेजमा केही सिस्टम छैन । त्यसमाथि पुराना ढर्राका कर्मचारीको कार्यशैली पुरातन एवं असहयोगी छ । त्यसले कलेज छिरेकै दिनदेखि विद्यार्थीलाई पिरोल्न थाल्छ । जस्तो, कर्मचारीका ढिलासुस्ती, असहयोगी शिक्षक एवं कलेज पूर्वाधार एवं शैक्षिक सामग्रीमा कमी । उमेशको भनाइ छ, 'कति त प|mस्टु भएर कलेज नै आउन छाड्छन्, कति क्याम्पसभन्दा ट्युसन इन्स्िटच्युटको भर पर्न थाल्छन् ।' 

त्यस्तो अवस्थामा विद्यार्थी नेताले सघाइराखेका हुन्छन् । उनको कलेजमा त्यसैले भर्नाको समय 'हेल्प डेस्क' राखिएको हुँदोरहेछ । भलै, त्यसबेला सघाएकै भरमा विद्यार्थी आफ्नै संगठनतर्फ आकषिर्त हुन् भन्ने उनीहरूको स्वार्थ हुन्छ । 'विद्यार्थीको क्षमता, क्षेत्र कस्तो हो भन्ने त्यसरी नै चिनिन्छ,' उमेश भन्छन्, 'अनि त्यसैअनुसार आफ्नो संगठनमा तान्ने रणनीति बन्न थाल्छ ।' 

Wednesday, January 16, 2013

चिचिलाको बेहाल

भक्तपुर, नङखेलस्थित गंगाजमुना इँटाभट्टामा काम गर्ने सन्तोषी मानन्धर, २४, लाई तीन हप्ताकी छोरी वैशाखसम्म कसरी स्याहार्ने भन्ने पिरलो छ। कारण, खनियापानी, रामेछापकी सन्तोषीले गत वर्ष त्यहीँ काम गर्दा आफ्नी तीनमहिने छोरी खाल्टोमा खसेर गुमाएकी थिइन्। भन्छिन्, "काम नगरे के खाने ? गर्‍यो, बच्चाको रेखदेख गर्न पाइँदैन।" सन्तोषी दम्पतीलाई इँटाभट्टामा ६ महिना काम गरेको पैसाले अर्को ६ महिनासमेत गुजारा चलाउनुपर्ने बाध्यता छ। यता आएकै कारण घरबारीसमेत बाँझै छ । 

यसपटक सन्तोषीकै नियति दोहोरियो, भक्तपुरकै महामञ्जुश्री इँटाभट्टा उद्योगमा। तीनवर्षे छोराको भट्टामै पानी जम्मा भएको खाडलमा परेर ज्यान गएपछि फूलबारी, काभ्रेका अर्जुन परियार दम्पती भने विरक्तिएर घर फर्केको छ। इँटाभट्टामा चोटपटक लाग्ने र घाइते हुने बालबालिकाको त गणना नै छैन। 

उपत्यकामा १ सय १० वटा इँटाभट्टा छन्। यस वर्ष त्यहाँ कामका लागि ७ सय ३२ परिवार काठमाडौँ उपत्यका छिरेकामा १४ वर्षमुनिका बालबालिकाको सङ्ख्या १ हजार १ सय ६७ रहेको बाल विकास केन्द्रको तथ्यांक छ। अभिभावकहरूले काँचो इँटा फर्काउने र त्यसलाई चाङ लगाउने ठाउँसम्म पुर्‍याउने काममा आफ्ना छोराछोरीलाई लगाउँछन्। त्यसबाहेक भाइबहिनीको स्याहारसुसारमा खटिन्छन्। 

इँटाभट्टा सामान्यतः पानी नपर्ने समय मात्र चल्छ। यो लगभग ६ महिने मौसमी काम हो। इँटा पार्ने काममा छिमेकका काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, उदयपुर जिल्लाबाट आएकाहरू बढी छन्भने बोक्ने काममा दाङ, रोल्पा, सल्यानलगायत जिल्लाका छन्। इँटाभट्टामा काम गर्ने परिवार अति विपन्न अवस्थाका हुन्छन्। त्यसैले उनीहरू घरमा ताल्चा लगाएरै ६ महिनाका लागि काठमाडौँ बसाइँ सर्छन्। सिन्धुपाल्चोक, लिहालेङका कमल जोशी, ११, ले यसपटक पुनः कक्षा दोहोर्‍याउँदै छन्। चार कक्षामा पढिरहेका उनले ११ महिने भाइलाई हेर्नुपररिहेको छ। उनकी १३ वर्षकी दिदी रीनाले पनि भाइको स्याहारसुसार र घरको कामले गर्दा पढाइलाई निरन्तरता दिन सकेकी छैनन्। आमा माया जोशी भन्छिन्, "यहाँ आएपछि छोराछोरीले सानैदेखि काम सिक्छन्, त्यही राम्रो हो।" 

दुई महिनाकी छोरी च्यापेर गत महिना काठमाडौँ छिरेकी बगरवास, रामेछापकी रीता श्रेष्ठले आफ्नो आठवर्षे भान्जालाई समेत ल्याएकी छन्। दिनभर रीताकी छोरी हेर्नुपर्दा भान्जासमेत स्कुल जान पाउँदैनन्। बालबालिकाको अन्धकार भविष्य त आफ्नो ठाउँमा छँदै छ, इँटाभट्टाको प्रदूषणबीचमै सुत्केरी र शिशु हुर्किन्छन्। सुत्केरी हुनु केही दिनअघिसम्म र सुत्केरी भएको केही दिनपछि नै महिलाहरू काममा लाग्छन्। यसरी स्याहार नपाउने केटाकेटीमा माटो खाने समस्या पाइएको छ।