Showing posts with label Person. Show all posts
Showing posts with label Person. Show all posts

Tuesday, March 12, 2013

असली डान्स


माडवारी समुदायमा विभिन्न चरणमा हुने विवाहमा एउटा अलग्गै पाटो छ, 'संगीत,' जहाँ गीतसंगीत र नाचगानमा रमाइलो गरिन्छ । कोरियोग्राफर प्रतिमा श्रेष्ठले जसका लागि प्रशिक्षण दिन जान्थिन् । तन्नेरीहरू नाच्न चाहन्थे, ऐश्वर्या राय, ऋतिक रोशनजसरी । उनीहरूले सिक्ने नाचका स्टेप पनि सही नै हुन्थ्यो । 'तर सोचेजस्तो राम्रो भने हुँदैनथ्यो,' झन्डै एक दशक अगाडि मनमा खड्किएको कुरा सम्झिन्छिन् श्रेष्ठ । 

अनि श्रेष्ठ स्वयं लागिन् स्वःअध्ययनमा । यु-ट्युबमा सयौं भिडियो हेरिन् । थुप्रैका नाच्ने शैलीलाई सूक्ष्मसँग केलाइन् । थप्छिन्, 'हामीमा बडी, पोज र जेस्चर (अंगहरूले दिने संकेत) को पक्ष निकै कमजोर छ ।' डान्समा यही नै हुनुपर्छ भन्ने त छैन । तर केही सतही तथ्यलाई नकार्न पनि मिल्दैन । जस्तो, साल्सा नृत्य हिपमा धेरै निर्भर रहन्छ त चरिया औंलामा । ब्रेक डान्स खुट्टामा निर्भर हुन्छ भने वेभडान्स छाती र हिपमा । तिनको पोस्चर ठीक भएन भने जुन कुनै राम्रा सूत्रसमेत असफल हुन्छन् । त्यसमाथि नृत्यमा जीवन्तता भर्न शरीरका ५ भाग अनुहार, हात, छाती, हिप र खुट्टा संवेदनशील हुन्छन् । अनुहारले नृत्यले दिन खोजेको भाव बोल्छ, हातले त्यसलाई आकार दिन्छ, खुट्टाले शक्ति सन्तुलन गर्छ, छातीले बहाव/तरंग बनाउँछ भने हिपले मुभमेन्ट देखाउँछ । प्रतिमा भन्छिन्, 'यसैले पनि नृत्यमा शरीरका हरेक अंगको स्फूर्तिदेखि पोस्चर कतिसम्म महत्त्वपूर्ण छ भन्ने बोल्छ ।' 

प्रतिमाले गरेको पनि त्यही नै हो । उनले प्रशिक्षण दिँदा पहिले नृत्यसँग जोडिने ती अंगको व्यायामबाट सुरु गर्छिन् जसलाई पनि जुन कुनै नृत्यमा एडप्ट गर्न सकिन्छ । 'यसरी सबै पक्ष मिलेपछि मात्र बल्ल नृत्यमा जीवन्तता आउँछ,' प्रतिमाको भनाइ छ, 'नत्र अरू सबै कुरा मिलिराखेको अवस्थामा पनि हामीलाई थाहा नपाइकन त्यो खल्लो भइदिन्छ ।' हालसम्म बालबालिका, युवा एवं अधबैंसे गरेर ३ हजार बढीलाई उनले प्रशिक्षण दिएकी छन् । उनको यो कोरियोग्राफी कलेज र इभेन्ट्समा अहिले निकै लोकपि्रय बनिराखेको छ । उनको काम थिएटरसम्बन्धी अमेरिकी प्राध्यापक डेबोरा मेरोलाले काठमाडौंमा प्रदर्शन गरेको एउटा नाटकभित्र पनि प्रयोग भएको थियो । श्रेष्ठले त्यसमा बलरुम क्विकस्टेप सिकाएकी थिइन् । पछिल्लो भ्यालेन्टाइनमा मात्रै उनले निर्देशक दिव्या देव निर्देशित नाटक 'दिल चाहता है' मा ट्याङ्गो डान्सको कोरियोग्राफ गरेकी थिइन् । 

प्रायः पार्टीहरूमा जोडीहरू अँगालिएर 'लिड एन्ड फलो' गर्दै नाच्ने ट्याङ्गो डान्स सिकाउने नेपालमा कोही नभेटिएपछि प्रतिमासम्म प्रस्ताव पुगेको थियो । उनी स्वयंलाई धेरै थाहा थिएन तर पनि केही समय अध्ययन गरेकै भरमा त्यो कामसमेत सकिन् । भन्छिन्, 'यु-ट्युब त मेरा लागि सीप सिकाउने प्राध्यापक वा विश्वविद्यालयझैं नै छ ।'  दिल चाहता हैमा चर्चित भारतीय कलाकार मुरद अलीले समेत अभिनय गरेका थिए । त्यसमा सेन्ट अफ अ वमन, अटम इन न्युयोर्क, प|mान्की एन्ड जोनी, वान्स अपन अ टाइम इन अमेरिकाजस्ता चलचित्रका दृश्यहरू जोडेर प्रस्तुति दिइएको थियो । क्विकस्टेप र ट्याङ्गो दुवै बलरुम डान्सका प्रकार हुन् जसमा प्रायः रोयल वा उच्च घरानियाँ नाच्छन् । यस नृत्यमा जोकोही राजकुमार/राजकुमारीजस्तो देखिन्छन् । 

कपाल र सेवाको साइनो


नारायण नापित, ५५, को हात मात्र सिर्जनशील छैन, मन पनि उत्तिकै कोमल छ। कपाल काट्नेपुर्ख्यौली पेसा अँगालेको झन्डै ४२ वर्ष पुगिसक्यो। एकातर्फ उनको कपाल काट्ने शैली देशी-विदेशीमाझ लोकपि्रय भयो भने अर्कोतर्फ त्यही पेसाभित्र लुकेको समाजसेवाको पाटोका कारणसमेत उनलाई धेरैले सम्झिन्छन् । २० वर्षयता सयौँ अनाथ बालबालिका एवं वृद्धाश्रममा दिन गुजारिरहेका वृद्ध व्यक्तिको कपाल काटिदिने एवं भोजन गराउने काम गर्दै आएका छन् नापित। भन्छन्, "नयाँ डिजाइनले कपाल वा दाह्री काट्दा जति आनन्द आउँछ, त्यसभन्दा बढी आनन्द समाजसेवाबाट आउँछ।" 

उनले अहिलेसम्म पाँच हजारभन्दा बढीलाई मेकअप र कपाल काट्ने औपचारिक तालिम दिएका छन्। वृद्धाश्रम र बालगृहमा पुग्दा उनलाई सघाउने प्रायः तिनै हुन्छन्। स्याहारको अभावमा स्याउँस्याउँ जुम्राले अड्डा जमाइरहेको कपाल चिटिक्क पारिदिँदा कहिलेकाहीँ उनका आँखाबाट आँसुसमेत झर्दो रहेछ। अहिले उनले खगेन्द्र नवजीवन केन्द्र, जोरपाटी, नेपाल बाल संगठन, सिफल, अपांग पुनःस्थापना केन्द्र, गोकर्ण, करुणालय, कपन, नरबु चिल्ड्रेन होम, बौद्ध, आमा घर र रविभवनमा निःशुल्क कपाल काट्ने तथा भोजनको अभियान चलाएका छन्। 

२०४४ सालमा राष्ट्रिय युवा सेवा कोषले आयोजना गरेको 'देशव्यापी खुला कपाल काट्ने प्रतियोगिता'का विजयी हुन् उनी। केही वर्षअघि एक विदेशी पर्यटक अन्नपूर्ण पदयात्रामा जाँदा हिउँले पूरै अनुहार नराम्रोसँग खाएर फर्केका थिए। उनको दाह्री काट्न काठमाडौँका धेरै नाउले सकेका थिएनन्। नापितले त्यो जटिल काम निकै सरलतापूर्वक गरिदिए। भारतीय गायक कुमार सानुले समेत काठमाडौँ आएका बखत नापितका हातबाट कपाल कटाएका छन्। सानुले नापितको प्रशंसामा लेखेको हस्ताक्षरसहितको चिट्ठी अझै पनि बौद्धस्थित राष्ट्रिय केश कर्तनालयमा सुरक्षित छ। त्यस्ता पत्रका थाक नै छन् उनीसँग। एक जापानी नागरिकले त उनलाई नेपालीमै चिट्ठी लेखेर प्रशंसा गरेका छन्। सुरुआतमा कपाल काटेको पाँच पैसा लिने गरेकामा उनीकहाँ अहिले कपाल काटेको दर ७५ रुपियाँ पुगेको छ। पालो पाउन भने केही घन्टा वा एक दिनअघि नै नाम टिपाउनुपर्छ। विदेशीहरूसमेत उनलाई सम्झँदै आउँछन्। 

उनका बुबा गणेशले आफ्नो समयमा प्रधानमन्त्रीदेखि उच्च कूटनीतिक ओहदाका व्यक्तिको कपाल काट्थे। नापितसमेत सँगै गएर बाबुको काम हेर्थे। उनले काम सुरु गर्दा भने काठमाडौँमा हिप्पीको प्रभाव थियो। कसैले हिप्पीले काठमाडौँमा ल्याएको संस्कृति राम्रो भन्थे भने कसैले विकृत। नापितका हकमा भने त्यो नयाँ नयाँ शैली सिक्ने अवसर भइदियो। "हिप्पीले हेयर स्टाइलका पोस्टरहरू ल्याएर देखाउँथे," उनी सम्झन्छन्, "तिनैको प्रभाव एवं मेरो मौलिक शैलीको मिश्रण उनीहरूले रुचाउँथे पनि।" नापितको विचारमा मानिसको व्यक्तित्वसँग कपालको विशेष साइनो हुन्छ। जस्तो : कपाललाई अनुहार, उचाइसँग जोडेर काट्नुपर्छ। त्यसबाहेक एउटा राम्रो नाउमा मालिस गर्ने गुणसमेत हुनुपर्ने उनी ठान्छन्। 

Sunday, February 10, 2013

उज्यालो बाटोमा

काठमाडौँ कस्तो छ ? प्रतीक्षा चापागाईं, २४, लाई थाहा छैन। तर, उनको दिमागमा काठमाडौँलाई सुन्दर बनाउने उपाय खेलिरहेका छन्। त्यसैले त कान्तिपुर टेलिभिजनका लागि त्यही विषयको रपिोर्टिङ्मा भिडिरहेकी छन्। कम्प्युटरअगाडि बसेर योजना बनाउनेदेखि प्रोड्युसर र क्यामेरा पर्सनका साथ फिल्डमै पुगेर काम गरेको देख्दा उनका सहकर्मीहरू छक्क पर्छन्। स्क्रिप्ट लेख्नेदेखि त्यसमा स्वर दिने कामसमेत उनकै जिम्मामा छ।

जन्मजात दृष्टिविहीन हुन्, प्रतीक्षा। काठमाडौँको ल्याबोरेटरी स्कुलबाट एसएलसी सकेपछि उनी उच्च शिक्षाका लागि भारत हान्निइन्। दिल्ली विश्वविद्यालयको लेडी श्रीराम कलेज हुँदै जवाहरलाल नेहरु विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर सकिन्। नेपाल फर्केपछि भने उनलाई यहाँ दिक्क लाग्न थाल्यो। योग्यता र क्षमता भए पनि कामका लागि प्रयास गरेकामध्ये थुप्रै ठाउँबाट उनी अस्वीकृत भइन्।

कामका लागि उनी कहाँ गइनन् ? काठमाडौँका कलेजहरू चहारिन्, पत्रिकामा आउने जागिरका विज्ञापन पछ्याउँदै थुप्रै संघसंस्था धाइन्। उनलाई देखेर सबै छक्क पर्थे। प्रशंसा गर्नसमेत छुटाउँदैनथे। उनी दृष्टिविहीन भएकै कारण जागिर दिन भने कसैले चाहेनन्। भन्छिन्, "अपांगतासम्बन्धी काम गर्ने संस्थाहरूसमेत यो रोगबाट मुक्त छैनन्।" एक दिन गुनासो पोख्न कान्तिपुर टेलिभिजनका भूषण दाहालसम्म पुगिन् उनी। भन्छिन्, "उहाँले मेरो समस्या मात्र सुन्नुभएन, इन्टर्न गर्ने अवसरसमेत दिनुभयो।" यसरी उनी अहिले पत्रकारितामा आइपुगेकी छन्।

एकातर्फ साहित्यकी विद्यार्थी र अर्कोतर्फ आध्यात्मिक सोचाइ। यसले उनलाई भित्रभित्रै बलियो बनाएको छ। भारतमा रहँदा उनी श्री आशुतोष महाराजजीको समीपमा रहिन्। गुरुजीको भनाइ सम्झिन्छिन्, "उज्यालोका लागि दृष्टि नै चाहिन्छ भन्ने छैन। लक्ष्य छ भने जीवन त्यसै उज्यालो भइदिन्छ।"

कान्तिपुर टेलिभिजनमा गररिहेका केही कामले समेत उनको उत्साह र सामथ्र्य राम्रोसँग झल्काउँछ। उनले सहर अपांगमैत्री नहुँदा दिनभरमा फरक-फरक अपांगता भएका व्यक्तिले कस्ताकस्ता समस्या झेलिरहेका हुन्छन् भन्ने विषयमा काम गरनि्। काठमाडौँको सडक विस्तारको गति सुस्त हुँदा यात्रु, सडक व्यापारी, गाडी चालकजस्ता थुप्रैले झेलेका सास्तीदेखि खाद्यगुणस्तरको सवालसमेत उठाएकी छन्। भन्छिन्, "टिम र सहकर्मी राम्रो भइदियो भने दृष्टि ठूलो समस्या होइन भन्ने लाग्न थालेको छ।"

Saturday, February 2, 2013

सपना पछ्याउँदै अनुप काफ्ले

अमेरिकाको टेनसी राज्यस्थित टस्कुलम कलेजमा चलिरहेको पत्रिका पायोनियर फ्रन्टियर बन्द हुने अवस्थामा थियो भने त्यहीँ अंग्रेजी र पत्रकारितामा स्नातक पढिरहेका एक नेपाली विद्यार्थीलाई पत्रकार बन्नु थियो । आफ्नो रहरको काम गर्न नपाएकामा थकथकी मानिरहेका उनकै आग्रहमा पत्रिका सुचारु भयो । सम्पादकको जिम्मेवारी पनि उनैले पाए । समाचार, फोटोदेखि डिजाइनसम्मका काम आफैँ गरे ।

पत्रिकाले कलेज क्यान्टिनका चर्चित परिकारदेखि कलेजभित्र गाँजा ओसारपसारका समाचारसम्म छाप्यो । गाँजाको समाचार कलेजकै प्रतिष्ठाको विषय बनेपछि प्रशासनले उनलाई त्यसमा संलग्न व्यक्तिहरू नचिनाए हटाउन सक्ने चेतावनी दियो । तर, उनले आचारसंहिताले नमिल्ने भन्दै बताउन चाहेनन् । धन्य, कलेजबाट भने हट्नु परेन । ६ वर्षअघिको घटना सम्झन्छन्, अनुप काफ्ले, २९ ।

यिनै अनुप अहिले अमेरिकाको दी वासिङ्टन पोस्टमा काम गर्छन्, वैदेशिक र राष्ट्रिय सुरक्षा सम्बन्धी डिजिटल सम्पादकका रूपमा । चर्चित अन्य दुई अमेरिकी पत्रिका दी न्युयोर्क टाइम्स र दी वालस्ट्रिट जर्नलका माझ वासिङ्टन पोस्टको ह्वाइटहाउस, कंग्रेसजस्ता अमेरिकी राजनीतिक चासोका रिपोर्टिङ्मा पृथक् पहिचान छ । भन्छन्, “वासिङ्टन पोस्टले विश्वभरका समाचारलाई वासिङ्टन दृष्टिबाट समेट्दै आएको छ ।” सुरक्षा मामिलामा विश्वभर चासो छ, अमेरिकाको । पोस्टमा त्यसको डिजिटल समाचार समन्वय र सम्पादनजस्तो संवेदनशील जिम्मेवारी अहिले अनुपको कमान्डमा छ । उनी १७ वटा ब्युरो र राष्ट्रिय सुरक्षा डेस्कबाट आउने सामग्रीलाई मल्टिमिडियामा लैजान्छन् । जस्तो : अनलाइनका लागि आवश्यक समाचार, ब्लग, तस्बिर, भिडियो, ग्राफिक्स, नक्सा एवं विभिन्न न्युज एप्लिकेसन्स बनाउने ।

Tuesday, January 8, 2013

बोरिसकी रानी

 राजकुमार बानियाँ प्रदीप बस्याल

टोनी हागन हाउसको पाँचौँ तलामा भेटिइन्, इङ्गर लिसानिभिच, ८४। हेयरब्यान्डले सेतो कपाल बाँधेकी तिनी ल्यापटपसामुन्ने थिइन्। उठेर अभिवादन गरिसक्दा ठ्याक्कै टेनिस कोर्टमा देखिने आफ्नै नातिनी अश्लेषाजस्ती। कुनै बेला 'रोयल होटलकी रानी' भनिने इङ्गरको एक्लो जीवन नै २७ वर्ष पुगिसकेछ।

नेपालमा पहिलो होटल र पर्यटनको खाता खोल्ने बोरिस निकोलायभिच लिसानिभिचकी पत्नी हुन्, इङ्गर। जोसेफ कोन्राड र समरसेट ममका रचना पढेपछि तिनका रोमाञ्चकारी पात्र खोज्दै विश्वयात्रामा निस्केका अमेरिकी हेराल्ड स्टिफन्सले काठमाडौँको होटल याक एन्ड यतीमा सन् १९६१ मा भेटेका एक हिरो, बोरिस। स्टिफन्सले आफ्नो पुस्तक एसियन पोट्रेट्समा छुट्टी मनाउन युरोप गएकी इङ्गरलाई भेट्न नपाएको उल्लेख गरेका छन्। तिनै पात्रलाई भक्तपुरको गछेँ गल्लीमा भेट्यौँ हामीले।

'बोरिस अफ काठमाण्डू: अ किङ्डम अफ हिज ओन' शीर्षक पाठ पढ्दा बोरिस दन्त्यकथाका तिलस्मी पात्रजस्ता लाग्छन्। तिनकी पत्नीसामु कुन कुरा सोध्ने ? कुन कुरा नसोध्ने ? "म अन्तर्वार्ताभन्दा पनि कुरा मात्र गर्छु," इङ्गरले चस्मा खोल्दै भनिन्, "धेरै कुरा पुरानै छन्।" हल्का दमखोकीले सताइएकी इङ्गरको शीतल अनुहारमा थियो, बोरिसको सिंगो कथा।

४ अक्टोबर १९०५ मा काला सागरको ओडेस्सा (युक्रेन)मा जन्मेका हुन्, बोरिस। १२ वर्षको उमेरमा शाही नौका प्रतिष्ठानमा भर्ना पाए। सन् १९१७ मा रुसी क्रान्ति भइहाल्यो। बोल्सेभिकहरूले बन्चरो हानेर जार परिवारको हत्यागरिदिएपछि हजारौँ रुसीको भागाभाग भयो। बोरिस भाग्यमानी रहेछन्। उनले ब्याले कम्पनी ड्यागिलेभमा नर्तकको तालिम पाए। त्यो कम्पनी मोन्टेकार्लोतिर सरेपछि कहिल्यै रुस फर्केनन्।

१९ वर्षे उमेरमा बोरिस कहाँ पुगेनन् ? पेरिस, रोम, म्याडि्रड, बार्सिलोना। थुप्रै कवि, लेखक, कलाकार र संगीतज्ञसँग भेट भयो उनको। पिकासो, साल्भाडोर डाली, ड्युक्याम्प, चिरिको आदि कलाकारको रेखाचित्र कंसिगरका रूपमा मिल्किएको पनि देखे । दक्षिण अमेरिकाको फेरो मारे। युरोप फर्केपछि जारकालीन राहदानीले समस्या भयो। नयाँ राहदानी बनाउन स्थायी बसोबास चाहिन्थ्यो। त्यसैले ब्रिटिस राहदानीका लागि आइपुगेछन् कोलकाता।


भारतकै पहिलो नाइट क्लब खोले, क्लब ३००। त्यतिबेला लन्डनमा थियो, क्लब ४००। कोलकाता त्यसभन्दा सानो सहर भएकाले क्लब ३०० नाम राखेका रहेछन्। राजा त्रिभुवन उपचारका लागि धाइरहन्थे, कोलकाता। क्लब ३०० को माथिल्लो तलामा रहेको बोरसिको अपार्टमेन्टमा जाने अनि उनैसँग ब्याले नाच सिक्ने। प्रजातन्त्र बहालीका निम्ति संघर्षरत विद्रोही र राजाको भेटघाट पनि त्यहीँ हुन्थ्यो। यी भेटघाटलाई बोरिसले कति गोप्य राखे भने कसैले सुइँकोसमेत पाएनन्।

Thursday, January 3, 2013

ह्याप्पी, मिस मोटी

गत नोभेम्बरमा लन्डनमा आयोजना भएको कमिका अर्थात लण्डन इन्टरनेसनल कमिक्स फेस्टिवलमा एउटा नयाँ पात्र एकाएक चर्चित भयो । सुपरहिरो, म्यांगाजस्ता कमिक्स जगतमा चल्तिका पात्रका बिचमा ‘मिस मोटी’ नितान्त फरक थिइन् । मिस मोटी न त हिंश्रक थिइन् न त देख्दैमा डरलाग्दी । त्यही सहि, अहिले उनका फ्यान कमिक्स जगतमा अहिले विश्वभरमा चुलिएका छन् । पत्रकार हुमा कुरेसीले बेलायती पत्रिका दी गार्डियनमा उनको प्रशंसासाथ लेखेकी छिन्, ‘मिस मोटी कुनै सुपरपावर होइनन् न त कुनै शक्तिशाली पात्र हुन्, तर उनी कमिक्स जगतमा अपत्यारिलो गरी एउटा प्रिय पात्र बनेकी छिन् ।’

मिस मोटीकी सर्जक काठमाडौं बागबजारकी कृपा जोशी हुन् । जसरी तन्नेरी युवतीमा ‘जिरो फिगर’ हुने होड चलिराखेको बेला ‘मिस मोटी’ धेरैमाझ प्रिय हुन्छिन् यसले दिन खोजेको सन्देस पनि त्यही चर्चा भित्रै लुकेको छ । नामबाटै थाहा हुन्छ कमिक्सकी मुख्य पात्र ठूलो जीउडालकी छिन् । र, कृपाले मोटो शरीरलाई समस्या देखेर जीवनमा अरु थुप्रै खुसीबाट टाढा बनिराखेका महिलालाई ‘मोटोपन समस्या होइन’ भन्ने सन्देश दिन खोजेकी छिन, मिस मोटीलाई आदर्श बनाएर । ‘यसको अर्थ अस्वस्थ तरिकाले मोटो हुनु ठिक हो भन्ने होइन,’ कृपा भन्छिन्, ‘त्यसका बावजुत पनि मोटो भइन्छ भने त्यसमा धेरै टाउको दुखाउनु बेकार छ ।’

मिस मोटी पात्र, कृपाको आफ्नै जीवनबाट जन्मिएको हो । बढ्दो उमेरसँगै उनी आफूलाई अरुभन्दा मोटो अनुभव गर्थिन् । त्यसबेलैदेखि उनले मोटो मानिसलाई जनावरका नामसँग जोड्दै जिस्काइने वा बोलाइने गरेको पनि नदेखेकी होइनन् । अर्कोतर्फ ठूलो ज्यान हुने उनका साथीहरु हरेक कुरामा आफूलाई त्यही शरीरसँग जोडेर दु:खी भेटिन्थे र हिनताबोध महसुस गर्थे । यसरी एकातर्फ उनी समाजबाटै कथाबस्तु बटुलिन भने अर्कोतर्फ उनको रंग र चित्रसँग सानैदेखि विचित्रको मोह थियो ।

‘त्यस्तो अनुभव गरिरहंदा म मेरी आमालाई देख्थें जोसमेत मोटी नै हुनुहुन्थ्यो तर वहाँमा कहिल्यै त्यसले नकारात्मक प्रभाव पार्दैनथ्यो,’ कृपाले हेलो शुक्रबारसँग भनिन्, ‘वहाँ सबैकी प्रिय हुनुहुन्थ्यो र समारोहमा निकै उत्साह र उच्च मनोवलका साथ प्रस्तुत हुनुहुन्थ्यो ।’ उनकी आमा रुपा आफ्नो मोटोपन सुहाउँदो गरी सान्टा क्लज जस्ता फन्नी पहिरनमा सजिंदी रहिछन् । आमा रुपाले सुनाएको एउटा घटना निकै रमाइलो छ ।

गतबर्ष द घोस्ट राइटरका अभिनेता इवन म्याग्रेगर युनिसेफको सद्भावना दूतको रुपमा नेपाल आएका थिए । उनी मोटरसाइकलबाटै बेलायतदेखि अस्ट्रेलियासम्मको ३५ हजार ९ सय ६० किलोमिटर यात्रा गरेका अभिनेता हुन् । खोपसम्बन्धी अभियानका क्रममा विहारबाट विराटनगर हुँदै काठमाडौ आएर नेपालगञ्ज, मुगु पुगेर त्यहाँकै एउटा विकट गाउँमा एक रात बसेका उनीबारे बिबिसीले एउटा वृत्तचित्र नै बनाएको थियो । रुपा भन्छिन्, ‘एकठाउँमा म स्वयं इवनसँग ठाडो उकालोमा उत्साहसाथ हिंडेको टिभीमा देखेर ऊ अचम्म परेकी रैछ ।’
..................

यसरी जन्मिएको मिस मोटी पात्र ‘मिस मोटी एण्ड कटन क्यान्डी’ र ‘मिस मोटी एण्ड दि बिग एप्पल’ शीर्षकमा पुस्तककार छ । त्यसबाहेक उनको कमिक्स छोटा कथाको संग्रह ‘मिस मोटी एण्ड हर सर्ट स्टोरिज’ केही महिनाअघि मात्र काठमाडौंमा सार्वजनिक भएको हो । 

Sunday, December 23, 2012

लक्की लेखक

‘ठूलो निधार हुने भाग्यमानी हुन्छन्’ भन्ने नेपाली आहान प्रज्ज्वल पराजुलीमा मेल खाएजस्तो छ । अक्सर मुण्डन तालुमा भेटिने पराजुलीको निधार कहाँसम्म छ, छुट्याउन सकिन्न । २७ बर्षे उमेरमा यी सिक्किमेली तन्नेरी ‘बुक वल्र्ड’मा भारत, नेपाल, भुटानदेखि लण्डनसम्म हट केक बनेका छन् । त्यो पनि नेपाली भाषीको कथा बोकेको आफ्नो छोटा कथाको संग्रह ‘द गुर्खाज डटर’ का कारण । गुर्खाज डटर उनको पहिलो कृति हो । र, त्यसअघि पनि उनी कुनै चल्तिका लेखन थिएनन् । यद्यपि उनको पहिलो काम नै प्रशिद्ध बेलायती प्रकाशक कोकर्स बुक्सले बजारमा ल्यायो, ‘पाँच अंके पाउण्ड स्टिर्लिङ’ प्रज्ज्वललाई बुझाएर । जसलाई भारतमा पेइङगुइन बुक्सले ल्याएको छ । कोकर्सले नै उनको उपन्यास ‘द ल्याण्ड ह्वेर आइ फ्ली’ अर्को बर्ष यसै समयमा निकाल्ने सम्झौता गरिसकेको छ, पुस्तक नहेरिकनै । उनको भाग्यलाई प्रट्स्याउन सायद यो भन्दा बढि भनिरहनु पर्दैन ।

सिक्किम, गान्तोकका यी लेखक पुस्तकको ‘लोकापर्ण भ्रमण’का क्रममा गतसाता काठमाडौंमा आउँदा एकसाझ नेपालसँग लाजिम्पाटस्थित बारिस्टा रेष्टुराँमा साटे । देशी/विदेशी सञ्चारमाध्यममा तारम्तार  प्रशंशासाथ छाउँदा जोकोहीमा उनीबारे एकखाले धारणा बन्न सक्छ, उनी त्यस्ता छैनन् । अघिल्लो दिन नेपाल–भारत पुस्तकालयमा पत्रकार नारायण वाग्लेसँग आफू र आफ्नो पुस्तकबारे बोलिरहंदा उनको व्यक्तित्वले धेरैको मन जितेको थियो । उनी केटाकेटीजस्तो मनमा जे छ ‘ड्याङडुङ’ बोलिहाल्छन् । बत्तिसपुतली, काठमाडौंमा मामाघर भएका कारण उनी सानो छंदा थुप्रैपटक काठमाडौं घुम्न आउँदाका सम्झना साटेका थिए । गान्तोकका यी तन्नेरीलाई त्यसबेला विशालबजारको हिंड्नेसिंढीले खुबै आकर्षित गर्दो रहेछ । “अहिले मबारे पत्रिकाले हावामा केके लेख्छन हो, म त्यत्तिसारो नि छैन”, पूर्वेली भाकामा उनले भने, “अझै पनि म आफूलाई पत्रिकाले भनेजस्तो लेखक ठान्दिन ।” त्यसो भए प्रश्न उठ्छ, के उनी ‘राइटर बाई लक’ हुन् त ? 

***
१३ बर्षे उमेरमा जतिखेर उनी कक्षा ९ मा पढ्थे, गान्तोकबाट साप्ताहिक रुपमा ‘द विकेन्ड रिभ्यु’ पत्रिका छापिन्थ्यो जसमा उनले स्तम्भ लेख्ने अवसर पाएका थिए । “जतिखेर लेख्दा निकै मज्जा आउँथ्यो”, प्रज्ज्वलले मुस्काउँदै भने, “अहिले ती पढ्दा भने लाज लाग्छ । ममात्रै जान्ने छु, पाठक सबै बुद्धु हुन् जसरी लेखिएका ।” गाङतोकबाट कक्षा १२ सकेपछि उनी अमेरिकाको ट्रुम्यान स्टेट युनिभर्सिटीमा मिडिया कम्युनिकेसन पढ्नका लागि हान्निए जसबिचमै उनी विश्वविद्यालयले सन् १९९६ यता प्रकाशन गरिराखेको स्वतन्त्र ट्राभल म्यागेजिन ‘डिटोर’को सम्पादक भए । सम्पादक हुनुमा समेत उनी आफ्नो भाग्यले बाजी मारेको मान्छन् किनकि  त्यसबर्ष अचम्म गरी उनका प्रतिद्वन्दी निकै कमजोर निस्किए । उनी सम्झन्छन्, “अर्को बर्ष पूर्व सम्पादकका हैसियतले म स्वयं छनौट मण्डलमा परेपछि आफैलाई कसरी छानिएछु भन्ने सोचेर अचम्म लाग्यो ।” डिटोरले मध्यपश्चिम अमेरिकाका मिजोरी, आयोवा र इलिनियस क्षेत्रका यात्रा कथा तथा फिचरहरु प्रकाशन गथ्र्यो ।

“जसको अर्थ म पहिल्यैदेखि सिरियस राइटर थिएँ भन्ने चाहीँ होइन नि”, उनी आफ्नो जटिल जीवनलाई साधारण तरिकामा भन्न खोज्दैछन्, “त्यत्ति हो कि म लेख्न सक्छु भन्ने चाहीं कताकता थियो ।” तुर्मानबाट स्नातक सकेर उनी न्यूयोर्क आए जहाँ उनी साप्ताहिक रुपमा प्रकाशित हुने न्यूयोर्कको पहिलो ट्याबलोइड ‘द भिलेज भ्वाइस’मा काम गरे, पत्रकारका रुपमा नभई एड्भटिजमेन्ट एक्जुकेटीभका रुपमा ।“पत्रकारिता मलाई सुहाउने काम होइन, भइहालेको भए म सबैभन्दा करप्ट पत्रकार हुन्थें होला”, उनी भन्छन्, “त्यसमाथि न्यूयोर्कमा पत्रकार भएर बाँच्नु गरिबीमा बाँच्नुझैं हो ।” भिलेज भ्वाइसमा दिनमा कम्तिमा ३ वटा अपोइन्टमेन्ट गर्नुपर्ने हुन्थ्यो । धेरैजसो, उनी त्यसका लागि भनेर कार्यालयबाट निस्कन्थे र दिनभर सिनेमाघर र पुस्तक पसलमा बिताउँथे । थप्छन्, “धन्न नतिजा नआउँदासम्म अफिसले केही सोध्दैनथ्यो ।” ३ बर्ष त्यसरी काम गरेपछि उनलाई दिक्क लागेछ र त्यो काम छाडे । उनी लन्डन र अफ्रिकी टापु सिचिलसमा केही महिना बिताएर भारत फर्किए । भारतमा, ट्रुम्यान पढ्दाको उनको साथी समेत भेटिए जोसँग विना योजना घुम्न निस्किए उनी । उनीहरु दिल्ली, गोवा, मुम्बई, कोलकाता, दार्जलिङ, गाङतोक, काठमाडौ, पोखरा हुँदै पुन आग्रामा पुगेर आफ्नो यात्रा छुङ्ग्याए । त्यसपछि साथी मोरक्कोतिर लाग्यो । उनी भने हिमाञ्चलको मनाली पुगे । गान्तोक फर्कंदा के–कसो गरिराखेको सोध्छन् भनेर उनी मनाली पुगेका थिए । “त्यहाँ एक हप्ताजति बिताउँदा मैले आफ्नो पहिलो कथा लेखें जुन कालिङपोङमा मुस्लिमबारेमा थियो”, उनी भन्छन्, “पछि घरै फर्किएँ र थप पाँचवटा कथा लेखें ।”

Monday, December 17, 2012

एउटा अग्लो नेपाली



सन् '८० को दशकतिरको प्रसंग हो। काठमाडौँको नामी सेन्ट जेभियर्स स्कुलमा केटीहरू पढ्न पाउँदैनथे। त्यसैले स्कुलमा हुने नाटकमा केटाले नै केटीको भूमिका निर्वाह गर्नुपथ्र्यो। त्यसका लागि शिक्षक र विद्यार्थी दुवैको छनोट हुने गर्थे, हाल अमेरकिा बसेर फेसनको दुनियाँमा धुम मच्चाइरहेका प्रबल गुरुङ। उनका त्यतिबेलाका शिक्षक देवेन्द्र खनाल सम्झन्छन्, "प्रबलले केटीको चरत्रि बुझेर त्यसलाई अभिनयमा उतार्थे।"

सेन्ट जेभियर्सको भित्तामा सबै पूर्वविद्यार्थीको जस्तै प्रबलको तस्बिर पनि सजिएको छ। अझ त्यसभन्दा बढी, त्यसबेला अन्तरमुखी र अधिकांश समय लाइब्रेरीमा बिताउने प्रबलले फेसनको राजधानी न्युयोर्कमा पाएको सफलताबाट उनका शिक्षक र सहपाठी आश्चर्यचकित छन्। नहोऊन् पनि किन, जेभियर्सबाट एलएलसी सिध्याएर फेसनमा करिअर बनाउन निस्किएका प्रबल त्यसको दुई दशकपछि अहिले न्युयोर्क फेसन नगरीमा राज गररिहेका छन्। र, त्यसो गररिहँदा उनमा स्कुलदेखिकै नारी भावना बुझ्ने गुण सहयोगी भएको देखिन्छ।

Friday, September 14, 2012

अद्वैता कहानी


उनले एमबीए पढिन् । भारतको ग्यान्ड अर्किड होटलमा गेस्ट रिलेसन अफिसरको काम गरिन् । तर ५ वर्षअघि जब उनको पहिलो उपन्यास 'अलमोस्ट सिंगल' निस्कियो, अद्भैता कलाको परिचय बदलिएको छ । उपन्यास प्रकाशित हुँदा २५ वर्ष मात्रकी उनको त्यो कृति हालसम्म १ लाख ५० हजार प्रति बिक्री भइसकेको छ । त्यसयता एकपछि अर्को गर्दै उनका जबर्जस्त प्रस्तुति देखियो बलिउड फिल्म 'अन्जाना अन्जानी' र 'कहानी' मा जसको उनी क्रमशः सह स्त्रिmप्ट लेखक तथा सहकथाकार हुन् । 'यी सब म आफैंका लागि पनि म को हुँ भन्ने उत्तर थियो,' हेलो शुक्रबारसँगको अनलाइन कुराकानीमा उनले सुनाइन्, 'एमबीए पढ्नु वा होटलमा काम गर्नुर्भन्दा नितान्त फरक ।' 

असोज ४ गतेदेखि हुन लागिरहेको 'एनसेल नेपाल लिटरेचर फेस्टिबल' का लागि काठमाडौं आउन लागेकी यी चर्चित भारतीय लेखिकाले यहाँ दुई फरक सत्रमा आफ्नो उपन्यास र उदाउँदो 'चिकलिट' लेखनबारे बोल्नेछिन् । बुबा भारतीय राजदूतावासको जागिरे छँदा दुई दशकअघिको ५ वर्ष काठमाडौंमा बिताएकी उनका लागि काठमाडौं बसाइ विगत सम्झने एउटा राम्रो अवसर पनि बन्दैछ । 'साँच्चिकै भन्दा म फेस्टिबलमा बोल्न लायक व्यक्ति नहुन पनि सक्छु । त्यसमाथि मलाई आफ्नो कामबारे अरूसँग बोल्न निकै अप्ठ्यारो लाग्छ,' उनले भनिन्, 'तर नेपाल र्फकने अवसरले गर्दा म नआइरहन सकिन । किनकि धेरै अर्थमा नेपाल मेरो घरजस्तै हो ।'
***
'अलमोस्ट सिंगल' खासमा उपन्यास लेख्छु भनेर लेखिएको थिएन । जब उनले आफ्नो करियरमा केही समय ब्रेक लिइन्, त्यसबेला उनले एउटी एक्ली महिलाले भारतीय परिवेशमा कतिसम्म सास्ती खेप्नुपर्छ भन्ने नजिकबाट बुझिन् । भन्छिन्, 'हाम्रो कुरौटे समाजको प्रतिबिम्ब हो यो ।' 
जसमा त्यसै भारतीय समाजभित्र नयाँ परिवेशकी आधुनिक एवं स्वतन्त्र महिलाको कथा छ । नयाँदिल्लीमा बस्ने एउटी २९ वर्षे अविवाहित युवती आइसा भाटिया पुरातन र आधुनिक संस्कृतिबीचमा अल्भिmन्छिन् । एकातर्फ चुरोट, रक्सीको लत बसालेकी, कुमारित्व गुमाइसकेकी उनी अर्कोतर्फ अझै ज्योतिष भविष्यवाणीमा विश्वास राख्ने, असल पतिका लागि कर्भाचौत्र व्रत बस्ने खालकी हुन्छिन् । उनका आँखा अगाडि प्रेम, डेटिङ र सम्बन्धबारे अनेकन नयाँ अभ्यास देखिन्छन् । आइसालाई आफ्नो काम, हाकिम केही मन पर्दैन । न उनी साडीमा सजिन रुचाउँछिन् न त दैनिक व्यायाम गर्न नै । उनलाई आफ्ना साथीहरूको संगत नै सबैभन्दा पि्रय लाग्छ, उनीहरूसँग खान/पिउन, घन्टौं गफ गरेर बिताउन । र, जब यी सब कुराबाट आइसा टाढा हुन्छिन् बल्ल उनलाई प्रेमीको आवश्यकता पर्छ । र, त्यसले उनमा सिर्जना गर्ने आन्तरिक द्वन्द्वको कथा झल्किन्छ जुन पछिल्लो पुस्ताका हरेक युवाले आफूसँग दाँज्न सक्छन् । 

धेरै समीक्षकले यसलाई चिकलिट लेखनको रूपमा अथ्र्याए । आधुनिक महिलालाई हलुका र मनोरञ्जनात्मक रूपमा प्रस्तुत गरिने 'चिकलिट' साहित्यमा एउटा पपुलर शैली पनि हो जो कुनै निश्चित समूह मात्रले भन्दा पनि सामान्य पाठकका लागिसमेत उत्तिकै रुचिकर बन्छ । सायद, चिकलिट शैलीको पनि एउटा सफल अभ्यास देखियो अलमोस्ट सिंगलमा जसले अन्ततः उनलाई भारतमा महिला लेखकमा 'गेम चेन्जर' कै रूपमा उनलाई उभ्यायो । 

Friday, August 17, 2012

पराग 'गेम’

साउन ८ मा पराग पाठक, ३१, टर्कीको इस्तानबुलमा ‘गेम थेउरी’ माथि त्यहाँका विद्यार्थीमाझ विशेष कक्षा दिइराखेका थिए । रोचक भइराखेको उक्त कक्षामा त्यसबेला एउटा समाचारले प्रवेश पायो, ह्वाइटहाउसले उनलाई ‘प्रेसिडेन्सियल अर्ली करिअर अवार्ड’ दिने घोषणा गर्‍यो । अमेरिकी राष्ट्रपतिबाट प्रदान गरिने उक्त अवार्ड आफ्नो शुरुवाती अध्ययनकालका वैज्ञानिकलाई दिइने अमेरिकाको सबैभन्दा ठूलो अवार्ड हो । जसलगत्तै उनले अध्ययन गरेको हार्वड विश्वविद्यालय, प्राध्यापन गरिराखेको म्यासाच्युसेट इन्स्चिच्युट अफ टेक्नोलोजी  (एमआइटी) मा भव्य खुसीयाली मनाइयो । त्यसैबेला अमेरिकाभन्दा हजारौं माइल परको काठमाडौं डिल्लीबजारमा मनाइएको खुसीयाली समेत हार्वड र एमआईटीको भन्दा कमको थिएन । नेपालमा परागको थातथलो डिल्लीबजार हो जहाँ अझै उनका आफन्त बस्छन् ।

उनका बुवा चिकित्सक हुन् जो झण्डै चार दशकअघि जर्जटाउन युनिभर्सिटी हस्पिटलमा चिकित्सकको रुपमा अमेरिका गएका थिए । पछि उनी न्यूयोर्क सरे । पराग उतै जन्मिएका हुन् । सम्झन्छन्, ‘हामी त्यसबेला शहरमा चिनिएका दुईमध्ये एक नेपाली परिवार थियौं जहाँ कमैले नेपाल भनेको चिन्थे ।’ आप्रवासीका रुपमा नेपालीको साँघुरो परिचय बोकेरै भएता पनि परागको लागि अमेरिका एउटा स्वर्णभूमि भइदियो जहाँ उनले आफूलाई एक अब्बर दर्जाको नागरिक बनाउन सके जसको परिचय यतिखेर नेपाली वा अमेरिकीभन्दा धेरै माथि उठिसकेको छ ।
.........
हार्वडमा एप्लाइड गणितमा स्नातकोत्तर तथा त्यहींबाटै व्यापार अर्थशास्त्रमा पीएचडी गरेका उनले जुन सिद्धान्तमाथि अध्ययन गरेर अवार्ड हात पारे, त्यो एउटा पुरानो अन्तरक्रियात्मक निर्णय प्रक्रियाबारेको अध्ययन हो जसले एउटा काम गर्दा आउने हजारौं विकल्प बिचमा आफूलाई चाहिने के हो र त्यसलाई प्राप्त गर्ने तरिकाहरु केके हुन् भन्ने निक्यौल गर्छ ।

 ‘यो अन्तरक्रियात्मक कसरी पनि छ भने एउटाको निर्णयमा अरु व्यक्तिले के गरिराखेका छन् भन्नेले फरक पार्छ’, परागले हेलो शुक्रबारलाई भने, ‘यसलाई सामान्यिकरण गरेर हेर्दा हरेक सामाजिक अवस्थाको गेम सैद्धान्तिक संरचना बनेको हुन्छ ।’ सामान्य रुपमा बुझ्दा प्रतिस्पर्धाको समयमा व्यापारिले कसरी मूल्य तोक्छन्, व्यापारीसँग  सामान किन्दा बार्गेनिङ गर्ने सबैभन्दा राम्रो उपाय के हो भन्नेजस्ता ससाना कुरामा गेम थेउरीले काम गर्छ जसमध्ये हरेकको पछाडि गणितिय संरचनाले काम गरेको हुन्छ ।

छाँगारोहणका अग्रणी

    
अलिक लजालु स्वभाव र बोलीमा धिमा गति भए पनि कवीन्द्र लामा, ३३, भित्र एउटा विचित्र साहस छ। त्यही साहसलाई व्यावसायिक कर्ममा बदल्ने सिर्जनशीलता पनि। पानीका अग्ला छहरामा डोरी समातेर झर्दै खेलिने खेल क्यानोनिङ् अर्थात् छाँगारोहण उनले नै नेपाल भित्र्याएका हुन्। उनी त्यसकै व्यावसायिक उन्नतिका लागि युवाहरूलाई प्रशिक्षण दिँदै हिँड्दैनन् मात्र, छाँगारोहणका लागि उपयुक्त झरनाको खोजी पनि गर्छन्।


डेढ दशकअगाडि एसएलसी सकेर ट्रेकिङ् व्यवसायमा लागेका लामाले विदेशीसँग हिमचिमका क्रममा प|mेन्च नागरकि मोरसि दुसेनलाई भेटे। ६४ वर्षे दुसेन प|mान्समा क्यानोनिङ् अग्रणीमध्येका हुन्। त्यस्तै प्रकृतिका उद्धार कार्यमा समेत उनको विशेष दखल छ। उनी साहसिक कामका सोखिन थिए। सामान्यतः मानिसहरू नजाने पदयात्रा मार्गमा हिँड्न रुचाउने, हिमाल चढ्नेजस्ता काममा रमाउने दुसेनका लागि लामा गज्जबका गाइड निस्के। उनले जस्तो अप्ठ्यारो कामका लागि पनि नाइनास्ती गरेनन्। भन्छन्, "ऊ मबाट त्यसबेला सबैभन्दा बढी प्रभावित भएछ।"

त्यही कारण उनले त्यसबेलै प|mान्स जाने अवसर पाए। त्यहाँ उनलाई दुसेनले रक क्लाइम्बिङ्को झन्डै तीनमहिने तालिम दिए। त्यहाँका झरना हाम्राभन्दा फरक थिए, तलपट्ट िपोखरीजस्तो हुने, जसले गर्दा केही मिटर बिनाडोरी हाम फालेर पौडनुपथ्र्याे। सम्झन्छन्, "त्यसबेला मलाई पौडी खेल्नसमेत आउँदैनथ्यो।" दुसेनको उत्प्रेरणा र साथले उनलाई सबैभन्दा बढी आँट दिन्थ्यो। त्यसैबेला हुसेनले स्पेनसमेत लगेर उनलाई क्यानोनिङ् सिकाए। लामाको विचित्र आँट र कला देखेर हुसेनका साथीहरूले पछि इटालीसमेत लगे, जहाँ उनले हिमाल आरोहणको तालिम पाए।

एउटा चिया पसलको 'गोल्डेन जुब्ली'

उतिखेर खेतबारी रहेको त्रिभुवन विश्वविद्यालय -त्रिवि) हातामा अहिले ठूलो जंगल बनिसकेको छ । केही माथि रहेको 'क्लासिक सहर' कीर्तिपुरमा नपत्याउँदो गरी आधुनिकताको रंगले प्रवेश पाएको छ । विश्वविद्यालय हाताभित्र हेर्दाहेर्दै ठूल्ठूला भवनहरू थपिएका छन् । सयको वरपर हुने विद्यार्थीको घुइँचो अहिले हजारौंमा पुगेको छ । नानीकाजी विष्ट, ६४ र उनको चियापसल यो पूरै परिवर्तनको साक्षी हुन् । उनको चिया पसलले यो वर्ष गोल्डन जुब्ली मनाउँदै छ, पचास वर्ष ।

विसं २०२१ सालमा व्यवस्थापन केन्द्रीय विभाग अगाडिको भवनमा सुरु भएको पसल अहिले पनि उस्तै छ । तीन वर्षअघि यो एककोठे सानो भवनमा सटर हालियो । त्यसअघि कहिले मान्द्रो त कहिले गुन्द्रीले सटरको काम गर्थे । पहिले यहाँ सुनसान हुन्थ्यो, चोरीको पनि डर हुन्थ्यो । त्यसैले चिया पकाउने सामग्री नानीकाजी डोकामा हालेर हरेक रात घरै लैजान्थे ।

१३ वर्षको उमेरमा यो चिसा पसल खोल्दा उनको लगानी पचास रुपैयाँ थियो । प्रतिकप दस पैसा चियाको रेट । जुन बीस पैसा, तीस पैसा हुँदै एक मोहोर, एक रुपैयाँ, साढे दुई रुपैयाँ, पाँच रुपैयाँ, सात रुपैयाँ हँुदै अहिले दस रुपैयाँमा पुगेको छ । त्यसबेला एक लिटर दूधको मूल्य पचहत्तर पैसा थियो भने साढे तीन रुपैयाँमा मट्टीतेल पाइन्थ्यो । क्याराभान र पाँच सय पच्पन्न निकै चल्तीका चुरोटहरू थिए जसको मूल्य क्रमशः पच्चीस र अठार पैसा पथ्र्यो ।

यो पचास वर्ष उनले एक्लै पसल चलाए । बिहान ७ बजे पसल पुग्ने उनी साँझ ७ बजे घर र्फकन्थे । खाना पुर्‍याउन जाने बेलामा श्रीमतीले कहिलेकाहीं सघाउनेबाहेक आजसम्म कोही अर्को काम गर्ने मान्छे राखेनन् उनले । अहिले उनी एकपटकमा तीस जनासम्मलाई चिया खुवाउन सक्छन् । 'स्ववियुको चुनावताका एकै दिनमा पन्ध्र सय कप जति पकाएँ,' उनले भने । कुरकुरे वैंशका बेला पसल सुरु गर्दाताका विश्वविद्यालय आउने राम्रा युवतीहरूले उनको खुबै आँखा खिच्थे । हिजोझैं लाग्ने त्यही ठाउँमा अहिले 'बाजे' भनेर कसैले बोलाउँदा उनी पुराना दिन सम्झिन्छन्। पञ्चायतकालमा विद्यार्थी नेताहरू उनकै पसलअगाडि आन्दोलनका कार्यक्रम बनाउँथे । तर, नानीकाजीले यसको धेरै मतलब गरेनन् ।
उनीकहाँ थुप्रैले उधारो खाए । अहिलेका केही चर्चित अनुहारले तिर्न बाँकी रहेको चियाको पैसाको हिसाब किताबसमेत छ उनीसँग । तर त्यो टिपोट गरेर भने होइन । 'केही टाइम चुरोटको बट्टामा उधारो टिप्न थालेको थिएँ, धेरै भएपछि छोड्दिएँ,' उनले सुनाए । अनुहार उनलाई अहिले पनि सबैजसोको याद छ ।

Sunday, May 6, 2012

पहिलो जन्मदिनमा विभूतिलाई चिठी


प्रिय विभूति, 

पहिलो बर्ष सफलतापूर्वक सम्पन्न गरेकोमा तिम्लाई बधाई छ । आजकै दिन  (बैशाख २३) ठिक एक बर्षअघि तिम्रो जन्म हाम्रो लागि एउटा सप्र्राइजसाथ भएको दियो । सप्र्राइज कसरी भने तिम्री जन्मिइसकेपछि मात्र हामीकहाँ उक्त सुखद् खबर पुगेको थियो । किनभने, तिम्री मामुले डाक्टरले भनेको मिति भनेर--त्यसको अझ दुई तिन हप्ता पछिको मिति हामीलाई भनेकी थिइन । जसले गर्दा तिमी जन्मनु अगाडि हरेक महिलाले जसरी, तिम्री मामुले अनुभव गरेको पीडामा हामीले साथ दिन पाएनौं । 


तिम्रो जीवनसँग जोडिएको पहिलो शिक्षा नै त्यहीँबाट शुरु भएको थियो जहाँ तिम्री मामुले विवेकपूर्ण ढंगबाट सबैको भाग पीडा र तनाव एक्लै लिएकी थिइन् । यदि त्यसो नभनेको भए हामी धेरै जना हप्तादिन अगाडिदेखि वा कम्तिमा मामुलाई व्यथा लागेदेखि निकै चिन्तित हुन्थ्यौं जुन तिम्री मामुको विवेकपूर्ण चलाखीले गर्दा पाएनौं । हुन पनि हो, जति नै अरु चिन्तित भए पनि तिम्लाई जन्माउनु त तिम्री मामुलाई नै थियो । अरु त मात्र पीडामा साथ दिने मात्र थियो । त्यसैले तिम्रो लागि जीवनमा मामुले सिकाएको यो पाठ हमेशा शिरोधर गर्नु, ‘यो संसार भनेको तिम्रा लागि तिमी मात्र हो, अरु सबैले तिम्रा सुख–दुःखमा साथ त देलान् तर ति सब भ्रम मात्र हुन्, मुख्य काम फत्ते गर्ने तिमी नै हुनेछ्यौ । त्यसैले सबैभन्दा मुख्य काम आफैमा असल, सक्षम र विवेकी हुनु जरुरी छ ।’

Sunday, April 29, 2012

सम्झनामा चन्द्रविक्रम बुढाथोकी

समाजसेवी तथा शिक्षाविद् चन्द्रविक्रम बुढाथोकी अब यस संसारमा रहेनन्। काठमाडौँको कीर्तिपुरस्थित आफ्नै घरनजिक गाडी पर्खिरहेको अवस्थामा तीव्र गतिमा आएको मोटरसाइकलले ठक्कर दिएपछि घाइते भएका उनको दुई महिनाभन्दा बढी अस्पताल भर्ना भएपछि हालै निधन भएको थियो। उनी ७० वर्षका थिए। 

उनले लामो समय त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा इतिहास प्राध्यापन गरेका थिए भने सेवानिवृत्त हुने समयमा मानविकी संकायको सहायक डीन थिए। तर, उनको बढी प्रसिद्धि भने सेवानिवृत्त भएपछि गरेको 'प्राङ्गारकि खेती' प्रवर्द्धनको कामले दिलायो। फोहोरलाई मोहोर बनाउने अभियानले सरकारी तवरमा कुरा मात्र बढी गररिहेका बखत उनले निजी पहलमा सो अभ्यासको सुरुवात गरेका थिए। उनले कालीमाटी तरकारी बजारबाट निस्केको फोहोरलाई संकलन गरेर कीर्तिपुरको चोभारमा 'नेपाल कल्पवृक्ष' नामक कारखाना खोलेका थिए, जहाँ तरकारी बजारबाट निस्कने मासिक झन्डै १५ टन फोहोर खपत गरेर मल बनाइन्थ्यो। प्राङ्गारकि मल उत्पादन गर्नसमेत केही रसायन प्रयोग भइराखेको परपि्रेक्ष्यमा उनले त्यस्ता रसायनको निकै कम प्रयोग गरेरै ठूलै रूपमा प्राङ्गारकि मलको उत्पादन सुरु गरेका थिए। 

उनलाई नजिकबाट चिन्नेहरू बुढाथोकीको नवीन प्रयोग तथा धैर्य क्षमताको प्रशंसा गर्छन्। प्राङ्गारकि मललाई छिटो कुवाउन उनले त्यस्ता थुप्रै घरेलु अभ्यास गरेका थिए। र, अन्त्यमा आफ्नै र्फममा पालिएको बंगुरको मललाई 'ट्राइकोडर्मा' औषधीसँग मिसाएर निस्केको पदार्थ सफल भएको थियो, जसको प्रयोग उनले आफ्नो उद्योगमा गरे। उनी पेसाले इतिहासका प्राध्यापक भए पनि यसरी प्राङ्गारकि मल अभियानमा रहेको सक्रियता उनका विद्यार्थीदेखि छिमेकीसम्मका लागि अचम्मको विषय थियो। उनी आफँले उत्पादन गरेको मलको विशिष्टता नाप्न स्वयं विभिन्न जातका खेतीमा समेत सक्रिय हुन्थे र त्यसमा समस्या आउँदा पुनः मलको गुणस्तरीयतामा समस्या आयो कि भनेर पुनः जाँच गर्थे।

त्रिविमा पढाउँदासमेत उनले बीचमा समय निकालेर प्राङ्गारकि खेती र मल निर्माणको कुरा रोचक ढंगले जोड्ने विद्यार्थी बताउँछन्। त्यसबाहेक उनको सरल स्वभाव धेरै विद्यार्थीका बीचमा चर्चित थियो। पछिल्लो समय उनी विश्वविद्यालयका सेवानिवृत्त शिक्षक तथा कर्मचारीको हकहितका मुद्दामा समेत क्रियाशील थिए। कीर्तिपुर क्षेत्रबाट विद्यावारििध गर्ने सुरुवातीका निकै कम व्यक्तिमध्ये उनीसमेत रहेकाले त्यहाँ उनको प्रसिद्धि पुरानादेखि नयाँ पुस्ताका व्यक्तिहरूसम्म थियो। उनले सफल अभ्यास गरेको उक्त कदमलाई सरकारी पक्षले बृहत् रूपमा लैजान सके काठमाडौँका जनताले राहत त पाउँछन् नै, उनका लागिसमेत त्यो सबैभन्दा ठूलो सम्मान हुने थियो।  

Friday, March 16, 2012

बुढेसकालको हार्वड यात्रा


दीक्षान्त समारोहमा एक प्राध्यापकले भोजराज पोखरेललाई सोधे, ‘हार्वडको सर्टिफिकेटलाई तिमी कहाँ प्रयोग गर्छौं ?’ उत्तर दिँदाको त्यो क्षण अझै सम्झन्छन् जतिखेर अनायसै मुहारमा बेग्लै मुस्कान सिर्जना भएको थियो रे उनको ।  भनेका थिए, ‘यो सर्टिफिकेटसँग मेरो केही लिनुदिनु छैन । यो त मबाहेक बढिमा मेरी श्रीमतीले हेर्लिन् । म यहाँ विशुद्ध ज्ञान आर्जनको लागि आएको थिएँ ।’ हार्वड केनेडी स्कुलबाट जनप्रशासनमा स्नातकोक्तर पोखरेलले त्यसो भन्नुका पछाडि व्यक्तिगत जीवनका विभिन्न कथाका श्रृङ्खलाहरु जोडिएका छन् जसको शुरुवात त्यस दीक्षान्त समारोहभन्दा झण्डै एक बर्षअघि उनले लिएको एउटा साहसिक कदमबाट शुरु भएको थियो । उनी आफू बाहल रहेको प्रमुख निर्वाचन आयुक्तको पदबाट बिचैमा राजीनामा दिएर पढ्नका लागि अमेरिकाको हार्वड विश्वविद्यालय हान्निएका थिए ।

ऐतिहासिक संविधानसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको अवस्था नेपालको लागि एउटा बेग्लै उपलब्धीको समय थियो र उत्तिकै ठूलो उपलब्धी प्रमुख निर्वाचन आयुक्तको रुपमा त्यसबेला जिम्मेवारीमा रहेका पोखरलको लागि पनि । राष्ट्रिय/अन्तर्राष्ट्रिय तहबाट उनी बधाईका पात्र बनेका थिए । हुन पनि त्यसबेला निर्वाचन सम्पन्न गर्नु अन्य बेलाको निर्वाचनजस्तो काम थिएन । भर्खर सशस्त्र द्वन्द्वमा बन्दुक बिसाएर आएको एनेकपा (माओवादी) एकातर्फ थियो भने अर्कोतर्फ मुलधारका ‘संसदवादी’ दलहरु समेत आपसी अन्तरविरोधका साथ ‘जबरजस्त’ संविधानसभामा जान मानेका थिए । त्यस्तो अवस्थामा निर्वाचन  गर्नुपर्ने ठूलो चुनौतिलाई पोखरेल नेतृत्वको निर्वाचन आयोगले फत्ते गरेको थियो, अपेक्षा गरिएभन्दा राम्रोसँग । सायद, त्यही ‘शाख’ बाँकी जीवन राम्रोसँग बिताउनको लागि काफी थियो, पोखरेललाई । तर छ बर्षे कार्यावधिको साढे दुई बर्षमै उनले स्वइच्छाले उक्त जागिर छाडेर पढ्न कस्सिएका थिए । 

सञ्चारमाध्यमले उनको राजीनामालाई निकै प्रमुखता दिए किनभने धेरैको लागि त्यो ‘अस्वभाविक’ र ‘अनौठो’ दुवै थियो । त्यस कदमको पछाडि कतिले ‘राजनीतिक गन्ध’ त कतिले ‘अर्को महत्वपूर्ण जिम्मेवारीको लागि’ लागि हुन सक्ने लख काटेका थिए । तर शान्त स्वभावका पोखरेलले त्यतिधेरै ‘कम्प्लेक्सिटिज’ का बिच ‘सिम्पल’ भाषामा भनेका थिए, ‘अन्तरआत्माले स्वतन्त्र जीवन बिताउने इच्छा व्यक्त गर्‍यो त्यसैले राजीनामा दिएको हुँ ।’ कसले त्यति सजिलै पत्याओस्, पत्याएनन् । तर उनलाई राजीनामा दिनु अगाडि नै लागेको थियो ‘धेरैले कि त बौलाहेको या फर्सीको मुखमा कुभिण्डो’ सोच्नेछन् आफ्नो उक्त कदमको लागि ।

त्यतिधेरैका आश्चर्यलाई चिर्दै राजीनामाको महिनाभित्रै उनी अमेरिका हान्निए । त्यो उमेरावस्था, अनुभव र हैसियत भएको मान्छे किन बुढेसकालमा पढ्न हान्नियो भनेर त्यसबेला धेरैले सोधे भोजराजलाई । उनी हाँस्दै भन्छन्, ‘म स्वयंले पनि शुरुका केही समय आफैलाई यही प्रश्न खुबै गर्थें ।’ 

त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर सकेको झण्डै ३८ बर्ष पुगिसकेको थियो उनको । ‘किन त त्यसो भए हार्वड ?’ उनी भन्छन्, ‘यसमा मेरो जीवनका नीजि स्वार्थ र संकल्पहरु जिम्मेवार छन् ।’ उनलाई जीवनको यो समयमा आएर सोच्दा बल्ल लाग्न थालेको छ, त्यसबेला आफूले जान्नको लागि पढेको रहेनछु भन्ने । भन्छन्, ‘ज्ञान हाँसिल गर्न होइन, सर्टिफिकेट हाँसिल गर्न पढियो । कहिले स्नातकको सर्टिफिकेट हात लाग्ला र शाखा अधिकृत हुनको लागि योग्य ठहरिएला भने जसरी ।’ त्यसबाहेक उनले झण्डै तीन दशक काटेको कर्मचारीतन्त्रको एउटा दुर्भाग्य पनि जोडिएको छ यस कदमको पछाडि । ‘माथिल्लो पदमा पुगेपछि उसलाई कसैले प्रश्न गर्न सक्दैन जसले उसलाई सर्वेसर्वा गराउँछ र आफू कहाा छु भन्ने बोध नै हुन पाउंदैन’, उनी भन्छन्, ‘त्यसले मानिसलाई माथिल्ला ओहदामा पुर्‍याउँदासम्म झनै बढि अज्ञानी बनाइराखेको हुन्छ ।’ 

उनी यसलाई नेपालको मात्र नभएर विकाशोनमुख मुलुकहरुको साझा समस्या देख्छन् । ‘उच्च पदमा भएको व्यक्तिले गलत नै कुरा गरेपनि सुन्नुपर्छ । प्रश्न गर्‍यो भने काम बिर्गन सक्छ भनेर कसैले त्यस्तो आँट नै गर्दैनन्’, उनी स्वयं त्यही संस्कारमा झण्डै ३ दशकबढि हुर्किए र त्यही संस्कार तोड्ने अवसर पनि खोज्दैथिए । भन्छन्, ‘मानिसले एउटा तह र तप्का हाँसिल गरेपछि ऊ व्यक्ति नभई संस्था बन्छ र उसको व्यक्तिगत दिनचर्याले समाजमा निकै महत्व राख्छ ।’ हार्वडसँग सम्बन्ध जोडिनु पछाडिको एउटा कथाको हो यो ।

Sunday, January 29, 2012

सम्झनामा रामनारायण प्रधान


दी हिमालयन टाइम्सका संस्थापक सम्पादक रामनारायण प्रधानले ६ माघमा संसार छाडेका छन् । उनी नेपाली पत्रकारिता जगतमा अंग्रेजीमा लेख्ने पहिलो पुस्ताका पत्रकारमध्येका हुन् । केही बर्षयता मृगौलाको समस्या तथा मघुमेह रोगबाट पीडित प्रधान ७३ बर्षका थिए ।

सन् १९७० मा “दी मदरल्याण्ड” पत्रिकामा सह–सम्पादकको रुपमा प्रवेश गरेका उनी पत्रकारिता करिअरमा सम्पादन बढि रिपोर्टिङ कम गर्ने पत्रकारको रुपमा परिचित छन् ।  त्यस बेला अंग्रेजीमा लेख्ने नेपाली पत्रकारहरु निकै कम थिए । त्यसैले पनि आफ्नो पत्रकारिता करिअरमा अघि बढ्न अरुलेजस्तो त्यतिधेरै संघर्ष गर्नुपरेन उनले । भारतबाट उच्च शिक्षा हाँसिल गरेका उनी पत्रकार हुनुअघि उनी तेह्रथुममा अंग्रेजी पढाउँथे ।
२ बर्ष दी मदरल्याण्डमा काम गरेपछि उनी राष्ट्रिय समाचार समिति (रासस) मा गए जहाँ उनले अंग्रेजी बुलेटिनका लागि समाचारहरु अनुवाद तथा सम्पादनको काम गर्थे । कमजोर रहेको राससको अंग्रेजी बुलेटिनको स्तर उनी गएपछि उकासिएको मानिन्छ । “वहाँमा भाषा र पत्रकारिताको मर्मलाई समायोजन गरेर लेख्न सक्ने विशेष खुबी थियो,” राससमा लामो समय सागै काम गरेर बरिष्ठ पत्रकार भैरव रिसाल भन्छन्, “त्यसबाहेक उनी निकै तिब्र गतिमा काम गर्न सक्थे ।” राससमा मात्र उनले २० बर्ष सकृय पत्रकारिता गरेका थिए ।

त्यसबाहेक विदेशी सञ्चारमाध्यमहरुमा उतिबेला लेख्ने कमै नेपाली पत्रकारहरुमध्ये उनी समेत गनिन्थे । “द नेसन”, “टाइम्स अफ इण्डिया”, “बिबिसी”, “साउथ नर्थ न्यूज सर्भिस” जस्ता थुप्रैमा उनका समाचार प्रकाशित र प्रशारित भएका छन् । नेपाल वातावरण पत्रकार समूह (नेफेज) का संस्थापकमध्ये उनी पनि एक हुन् ।  
दी हिमालयन टाइम्समा भने उनी स्थापनाकालदेखि ७ बर्ष सम्पादकको रुपमा रहे । सन् २००१ यता प्रकाशनमा आएको उक्त पत्रिका शुरु हुँदा नेपालमा व्यावसायिक पत्रकारिताले निकै फड्को मारिसकेको थियो । त्यसैले पनि पहिलो सम्पादकको रुपमा उनको जिम्मेवारी स्वभाविक रुपमा विशेष हुन्थ्यो । प्रतिस्पर्धी बजारमा उत्रन दी हिमालयन टाइम्समा पत्रकारिताको अनुभवसागै पछिल्लो बिकासक्रमलाई समेत बुझ्ने मान्छेको आवश्यकता परेको थियो । जसमा उनले आफूलाई अब्बल नै प्रमाणित गरेको सहकर्मीहरु ठान्छन् । उनमा व्यावसायिकताको विशेष गुण थियो । तर धेरै समय डेस्कमै काम गरेका कारण जनसम्पर्क राख्ने मामिलामा भने उनी केही कमजोर थिए । सधै सरल भाषामा लेख्ने र छोटा सामाग्री पक्कनुपर्छ भन्ने उनको सम्पादकीय मान्यता हुन्थ्यो । रिसाल उनीसँगको एउटा रमाइलो घटना सम्झन्छन्, “डेस्कमा त्यसरी सम्पादन गर्दा राम्रो देखिएता पनि एकपटक राजाको सवारीमा वीरगंज  जाँदा  उनी स्वयंले लामो रिपोर्टिङ गरेका थिए ।”

This appeared in NEPAL magazine 

Sunday, January 22, 2012

सम्झनामा ईश्वरमान सिंह

नेपाली खेलपत्रकारिता जगतमा पहिलो पुस्ताका पत्रकारहरु मध्येका एक ईश्वरमान सिंहले यहि पुष १८ मा यस संसार छाडेका छन् । केही समय अघिदेखि पक्षघाटबाट पीडित उनलाई मृत्यु हुनुभन्दा त्रिपुरेश्वरको ब्लुक्रस अस्पतालको आईसियुमा राखिएका उनी ७५ बर्षका थिए ।

राष्ट्रिय समाचार समिति (रासस) मा झण्डै ३ दशक काम गरेका उनी नेपालको खेलकुद जगतको अवस्था र इतिहासलाई राम्रोसँग विश्लेषण गर्न सक्ने कमैमध्ये गनिन्थे । नेपालमा व्यावसायिक पत्रकारिताकै बिकास राम्रोसँग नभएको अवस्थामा समेत उनले त्यसबेला नै “खेलकुद बिट” समातेर लेख्नु सबैभन्दा रोचक पक्ष मानिन्छ । उनीबारे अग्रज खेल पत्रकार श्याम चित्रकारले भनेका छन्, “मैले २०२७ सालमा फुटबल खेल्दा उहाँले पत्रकारिता शुरु गरिसक्नुभएको थियो ।”

कृषि मन्त्रालयका जागिरे रहेका उनी त्यो छाडेर बिसं २०३५ सालमा राससमा रिपोर्टरको रुपमा प्रवेश गरेका थिए । सेवानिवित्त हुने समय भने उनी प्रबन्ध सम्पादक थिए । तर त्यतिले मात्र उनको योगदान झल्कंदैन । त्यसबाहेक “खेल र खेलाडि”, “स्पोर्टस एण्ड लिजेण्ड” नामका दुई खेलकृति समेत प्रकाशन गरेका थिए भने “खेलकुद मञ्च” र “नेपाल स्पोर्टस एण्ड लेजर” म्याजेजिनको सम्पादक समेत भए । उनलाई पछिल्ला पुस्ताका खेलकुद पत्रकारहरुले एक आदर्श व्यक्तिका रुपमा लिन्थे । त्यसो हुनुमा उनको पुरानो खेलकुद पत्रकारिताको लगाव मात्र कारण थिएन, उनी सधै खेलकुल पत्रकारिता जगतलाई नेपालमा संगठित र संस्थागत गर्न समेत लागि परे । दक्षिण एसियाली खेलकुद पत्रकार संघ नेपाल त्यसकै एउटा उदहारण हो जसको सिंह संस्थापक अध्यक्ष पनि हुन् । पछिल्लो समय भने उनी स्वतन्त्र खेल पत्रकार तथा विश्लेषकका रुपमा थिए ।

बिसको दशकको अन्त्यतिरबाटै पत्रकारितामा हाम फालेता पनि उनको मुख्य काम भने २०३८ सालमा भएको प्रथम राष्ट्रिय खेलकुद यता देखिन थालेको पत्रकार तथा पूर्व फुटबल खेलाडि चित्रकार ठान्छन् । उनी साधारण रिपोर्टिङमा मात्र पोख्त नभइकन खेलको भविष्यवाणी गर्नमा समेत माहिर मानिन्थे जसले धेरैलाई चकित बनाउँथ्यो । निकै सरल स्वभावका उनी पत्रकारिता गर्दा वा संगठनभित्र कहिल्यै विवादमा आउन चहाँदैनथे । उनमा पद लोलुपता नहुनु पनि विचित्रको गुण भएको उनलाई नजिकबाट चिन्ने पत्रकारहरु बताउँछन् । साथीहरुले प्रस्ताव गर्दा मात्र जिम्मेवारी ग्रहण गर्ने र विवाद उठ्नासाथ जिम्मेवारी छाडिहाल्थे उनी । 

This appeared in NEPAL magazine

Thursday, January 12, 2012

मिसन सगरमाथा


देहरादुनका एक नेपालीभाषी जुम्ल्याहा दिदीबहिनी सन् २०१२ को अन्त्यमा सगरमाथा चडेर पहिलो जुम्ल्याहा जोडिको कीर्तिमान रच्दैछन् । त्यहीँबाट उनीहरुले विश्वभरका नेपाली भाषीहरुबिचको एकताको सन्देस दिनेछन्, आफ्नै कथालाई उदहारण दिएर
.......................
सन् २०१० को डिसेम्बरमा एक हप्ता मात्र हो नुन्सी मल्लिक र तासी मल्लिक एक्लै भएको । नत्र यी १९ बर्षे जुम्ल्याहा जोडि हालसम्म छुट्टिएका छैनन् । भारतको उत्तराखण्ड राज्यस्थित देहरादुन घर भएका यी नेपाली भाषी जोडि जसरी आपसमा बाँधिएर बसेका छन्, विश्वभर छरिएर रहेका नेपाली भाषीहरुबिच पनि त्यस्तै हुनुपर्ने सन्देश दिन चहान्छन् । त्यो पनि सगरमाथाको चुचुरोसम्म सँगै गएर । 

बुवा भारतिय आर्मी भएका कारण उनीहरु भारतका विभिन्न कुनाकाप्चा घुमेर पढ्न पाए जसले अन्तत: यी जुम्ल्याहाको सोख नै भ्रमण गराएको थियो । “नयाँ ठाउँ पुग्नु नै हाम्रा लागि कलेज पुगेजस्तो हो”, दुवैले एकैस्वरमा भने, “किनकी हामी एड्वेन्चरबाट सिक्न चहान्छौं ।” नुन्सी र तासीको जीवनको विशेषता नै उनीहरुले भनेको उपल्ला दुई वाक्यमा छ । सगरमाथा मिसन पनि त्यसकै एउटा नयाँ संस्करणको रुपमा जन्मिएको हो । सन् २०१२ को अन्त्यमा गर्ने भनिएको उनीहरुको महत्वकांक्षी लक्ष्यको पछाडि २ कारण जोडिएका छन्– सगरमाथा चढ्ने पहिलो जुम्ल्याहाको कीर्तिमान राख्ने र नेपाली भाषीहरुबिच विश्वव्यापी एकताको सन्देश फैलाउने । दोस्रो लक्ष्य राख्नुको कारण बताए, “विश्वका विभिन्न राष्ट्रियता बोकेका भए नि नेपाली भन्नासाथ हामी सबैले ति सीमालाई बिर्सेर आफ्नो रगतमा गोर्खाली सम्झन्छौं । जुन हाम्रो ठूलो शक्ति र पहिचान हो ।” 

Sunday, January 1, 2012

सम्झनामा ध्रुवराज भट्टराई

स्वदेशी जडीबुटीबाट उत्पादित 'सञ्चो' तेलले लोकपि्रयता पाइरहँदा यसका प्रवर्तक धु्रवराज भट्टराई अब रहेनन्। ९ मंसिरमा उनको निधनसँगै जडीबुटीको अध्ययन-अनुसन्धान र उत्पादनमा उनले दिएको योगदान स्मृतिमा सीमित भएको छ। २०५४ देखि ०५८ सम्म जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा लगातार दुई कार्यकाल महानिर्देशक भएका उनले त्यसयता जडीबुटीकै अध्ययन तथा प्रशोधनमै सबै समय खर्चेका थिए।

सिद्धार्थ जडीबुटी उद्योगका संस्थापक भट्टराई बाङ्ला-५, कोठफेरा, अर्घाखाँचीमा जन्मे र प्राथमिक शिक्षा उनले गाउँमै हासिल गरे। बनारसमा संस्कृत मध्यमासम्म पढेर फर्केपछि उनी चिकित्सामार्फत मानव सेवा गर्न चाहन्थे। चिकित्सा पढ्नकै लागि उनले विज्ञानमा स्नातक गरे। तर, उनले सोचेजस्तो भइदिएन। पुनः भारतको देहरादुन हान्निए, छात्रवृत्तिमा वनविज्ञान पढ्न। स्वदेश फर्केर वन अधिकृतबाट सरकारी सेवा सुरु गरे। पछि उनी विभिन्न जिल्लामा वन अधिकृतको जिम्मेवारी निर्वाह गरे। वन विभागमै उपमहानिर्देशक पनि भए। यसरी जीवनको लामो समय वन क्षेत्रमा काम गरे पनि जीवनको पछिल्लो चार वर्ष जडीबुटी क्षेत्रमा गरेको कामले उनलाई विशेष प्रसिद्धि दिलायो। "यद्यपि, सरकारी कर्मचारी छँदा पनि जडीबुटीसम्बन्धी काम उहाँ गर्नुहुन्थ्यो," भट्टराईकी बहिनी तथा नेकपा एमालेकी नेतृ शान्ता मानवी भन्छिन्, "उहाँमा वन र जडीबुटीबारे विचित्रको नशा थियो।" त्यसकै उदाहरणका रूपमा मानवी एउटा घटना सम्झन पुग्छिन्, जसमा भट्टराईले अर्घाखाँचीमा रहेको आफ्नो केही जग्गालाई निजी जंगलमा परिणत गराएका थिए।

Sunday, December 25, 2011

सम्झनामा हरिप्रसाद गिरी

हरिप्रसाद गिरीको ४ मंसिरमा भएको निधनसँगै देशले अनुभव र दूरदर्शिता दुवैको सम्मिश्रण भएको व्यापारकि क्षेत्रका व्यक्तिलाई गुमाएको छ। हीरा गिरीको नामबाट परिचित उनको सन्दर्भबिना वीरगन्जको व्यापारकि इतिहास अपूरो त हुन्छ नै, देशको उद्योग एवं वाणिज्य क्षेत्रमा समेत आदर्श व्यक्तिको कमी महसुस भएको छ।


गिरी विसं २०२८, ०३१ र ०३३ सालमा वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष थिए भने कार्यकारणी सदस्य हुँदै उद्योग वाणिज्य महासंघमा प्रवेश गरेका उनी विसं ०३२ देखि ०३५ सम्म अध्यक्षका रूपमा रहे। यद्यपि, सुरुदेखि नै व्यापारकि पृष्ठभूमिका व्यक्ति भने थिएनन् उनी। सरकारी सेवामा रहेका उनी ०१७ सालको राजनीतिक घटनासँगै राजीनामा दिएर व्यापारमा हात हालेका थिए। 


गिरीको लगानी मिल, गार्मेन्ट, लेदर, प्लास्टिक र वनजन्य उद्योगमा थियो, जसमार्फत सयौँले प्रत्यक्ष रोजगारी पाएका थिए। त्यसबाहेक उनको सामाजिक संलग्नताले पनि उनलाई लोकपि्रय बनायो। लायन्स क्लब, नेपाल रेडक्रस सोसाइटी, क्षयरोग निवारण संस्थाजस्ता परोपकारी संघसंगठनको समेत नेतृत्व गरेका उनी स्कुल, धर्मशाला, अस्पताल निर्माण गर्नेजस्ता कार्यहरूमा दिल खोलेर सहयोग पुर्‍याउँथे।